माघ २ गतेबाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रिया सुरु गर्ने फुलकोर्टको निर्णय
आगामी माघ २ गते गतेबाट उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेसी तोकिने भएको छ । बुधबार बसेको सर्वोच्चको पूर्ण बैठकले आगामी माघ २ गतेदेखि सबै उच्च र जिल्ला अदालतमा पनि गोलाप्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार फुलकोर्ट बैठकले उच्च र जिल्ला अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न आवश्यक नियमावली, निर्देशिका र कार्याविधि तयार पार्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ ।
प्रवक्ता दाहालका अनुसार बुधबारको पूर्ण बैठकले गोला प्रक्रिया सुरु गर्नका लागि उच्च अदालत नियमावली २०७३ र जिल्ला अदालत नियमावली २०७५ मा गर्नुपर्ने संशोधन र गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी निर्देशिका बनाई पूर्ण बैठकमा पेस गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ ।
यो निर्णयसँगै अब सर्वोच्च अदालतसहित उच्च र सबै जिल्ला अदालतमा पनि गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन हुने भएको छ ।
न्यायपालिका शुद्धीकरणका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनमा न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न सबै अदालतमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन हुनुपर्ने कुरा उल्लेख भएको थियो ।