बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाका एमाले नेताको गुनासो : महासेठ दम्पतीलाई मालामाल, झोला बोक्नेलाई अपमान !

बुधबार, २९ मङ्सिर २०७८, १६ : १३
बुधबार, २९ मङ्सिर २०७८

 धनुषाका पुराना वामपन्थी नेता राजकिशोर यादव नेकपा एमालेको जिल्ला कमिटी अध्यक्ष हुन् । ८ वर्ष भयो उनले एमाले धनुषाको नेतृत्व गरेको । यसअघि यादवले साढे तीन वर्ष जिल्ला सचिवको भूमिका खेलेका थिए । पाँच वर्ष कार्यालय सचिव भएर काम गरे । उनले धनुषामा एमालेको झोला बोकेर हिँडेको २० वर्षजति भयो ।

नेकपा एमालेले केपी ओलीको गृहजिल्ला झापाका मेडिकल व्यवसायी दूर्गा प्रसाईलाई केन्द्रीय सदस्यमा सपथ खुवाउँदै गर्दा २० वर्ष एमालेमा योगदान गरेका धनुषाका एमाले अध्यक्ष राजकिशोर यादवलाई केन्द्रीय सदस्य बनाउन योग्य ठानेन । एमाले नेताहरु भन्छन्, ‘यहीँबाट थाहा हुन्छ, पार्टीभित्र केपी ओलीको मूल्यांकन पद्दति अनि कार्यकर्तालाई हेर्ने दृष्टिकोण ।’

धनुषामा एमाले नेताहरु मनोज खड्का, विन्देश्वर साह, सुकदेव यादव पुरानालाई नेतालाई छाडेर जिल्ला कमिटीका सदस्य प्रतीक्षा तिवारी र सविता यादवजस्ता कनिष्टलाई केन्द्रीय सदस्य बनाइएको जिल्ला नेताहरुको गुनासो छ । जिल्ला अध्यक्ष राजकिशोर रातोपाटीसँग भन्छन्, ‘उहाँहरु केन्द्रीय कमिटीमा पर्नुभएकोमा हाम्रो कुनै गुनासो छैन तर मूल्यांकन हुनैपर्ने नेताहरुको सही मूल्यांकन भएन ।’

उनी अगाडि भन्छन्,‘जिल्ला कमिटीका सदस्यलाई केन्द्रमा लगियो तर जिल्ला र प्रदेशमा धेरै समयदेखि काम गरेका साथीहरुको अवमूल्यन भयो । यसले गर्दा यहाँ ठूलो असन्तुष्टि व्याप्त छ । जिल्लाका कार्यकर्ताहरुको उचित मूल्यांकन भएन । काम गर्नेहरुको मूल्यांकन भएन, काम नगर्नेहरुको मूल्यांकन भयो । जिल्ला कमिटीको सदस्यलाई केन्द्रीय कमिटीमा लगियो, तर पदाधिकारीमा रहेकालाई लगिएन । मरिमेटी काम गर्नेहरुलाई समेटिएन । हामी मरीमरी काम गर्ने, नाम अरुको आउने । यसले गर्दा धेरै साथीहरुमा असन्तुष्टि देखिएको हो ।’

एमाले अध्यक्ष ओलीले रघुवीर महासेठलाई गोकर्ण विष्ट र योगेश भट्टराई भन्दा माथिल्लो बरियताको सचिव बनाएका छन् । महासेठलाई प्रदेश २ को इञ्चार्ज समेत बनाइएको छ भने उनकी पत्नी जुलीकुमारी महतोलाई पोलिटब्यूरो सदस्य बनाइएको छ । यसअघि केपी ओलीले आफू प्रधानमन्त्री भएका बेला महासेठ दम्पतीलाई आलोपालो मन्त्री बनाएका थिए ।

‘एउटै परिवारलाई केन्द्रीय सचिव पनि दिने, स्थायी कमिटी दिने, पोलिटब्यूरो दिने, प्रदेशको इञ्चार्ज पनि बनाउने एउटै परिवारलाई’ एमाले जिल्ला अध्यक्ष यादवले रातोपाटीसँग भने, ‘घुमिफिरी श्रीमान–श्रीमतीलाई आलोपालो गरेर मन्त्री दिने तर, अरु नेताहरुलाई चाहिँ अवमूल्यन गर्ने भनेर महासेठको परिवारलाई जिम्मेवारी दिइएकोमा पूरै दुई नम्बर प्रदेशमै व्यापक असन्तुष्टि छ ।’

पार्टीले गरेको यस्तो गलत निर्णयले आगामी चुनावमा पनि एमालेलाई असर गर्ने बताउँदै अध्यक्ष यादव भन्छन्, ‘राजनीतिक सन्तुलन मिलाइएन । मधेसमा अहिले चौतर्फीरुपमा एमालेमाथि हमला छ । पहिल्यैदेखि यहाँ एमालेविरोधी सेन्टिमेन्ट थियो । अहिले कमरेड केपी ओलीले त्यसलाई चिरफार गरेर मधेसलाई पनि उर्जावान बनाइएको थियो । तर, फेरि मधेसलाई हेर्ने दृष्टिकोण फरक देखियो । यादव बाहुल्य रहेको मधेसमा यादवहरुलाई पाखा लगाउने सोच नेतृत्वमा देखियो । बढी काम गर्ने र बढी संगठन गर्ने साथीहरुलाई पाखा लगाएर काम नगर्ने साथीहरुलाई जिम्मेवारी दिइएकाले अहिले साथीहरुमा व्यापक असन्तुष्टि छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप