शेखर कोइरालाको पत्रकार सम्मेलनमा मिनेन्द्रले भने– सुन र पित्तल छुट्टिएको छ
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. मिनेन्द्र रिजालले महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको बताएका छन् । सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहेका डा. रिजालले दुःखमा नै चरित्र पहिचान हुने बताए ।
‘सुन र पित्तल तातोमा छुट्टिन्छ,’ उनले भने, ‘अहिले सुन र पित्तल छुट्टिएको छ ।’ अहिले निराशाको कुरा गर्ने बेला नभएको पनि उनले बताए । डा. शेखर कोइराला सभापतिमा निर्वाचित नभए पनि काँग्रेसलाई पुनर्जागरण गर्ने जिम्मेवारी मतदाताले डा. कोइरालालाई नै दिएको उनको भनाइ थियो ।
विचारमा प्रतिनिधित्व नभएसम्म काँग्रेस वास्तवमा ‘काँग्रेस’ नहुने उनले बताए । आफूहरुले व्यक्तिको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने उनले प्रस्ट पारे । ‘निर्वाचनको जित र हार महत्वपूर्ण होइन, काँग्रेसको अनुहार कस्तो देखिन्छ त्यो महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘देउवालाई महाधिवेशनले जिम्मेवारी दिएको छ, ठुलो परिवर्तनको जिम्मा तपाईको काँधमा दिएको छ । दोहो¥याएर सभापति हुँदा तपाईको काँधमा मालामात्र होइन, जिम्मेवारीको बोझ पनि थपिएको छ ।’