शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०२२ बाट बंगलादेशले नेपालको बिजुली खरिद गर्ने

बुधबार, २९ मङ्सिर २०७८, १३ : ५६
बुधबार, २९ मङ्सिर २०७८

नेपालको बिजुली खरिद गर्न बंगलादेश तयार भएको छ । बंगलादेशले आगामी वर्ष २०७८÷७९ बाट नेपालको हाल खेर गइरहेको ५ अर्ब रुपैयाँ बराबरको ५०० मेगावाट बिजुली खरिद गर्ने भएको हो । हाल बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताएका हुन् । 

सो अवसरमा राज्यमन्त्री हमिदले आगामी वर्षहरुमा नेपालका निजी क्षेत्रसँग दीर्घकालीन् विद्युत खरिद सम्झौता (पिपिए) गर्न समेत गृहकार्य अघि बढाउने बताए ।  हाल नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको बर्षायाममा मात्र करिब ५०० मेगावाट विद्युत खेर गएको थियो भने यसबाट करिब ५ अर्ब रूपैयाँ बराबरको नोक्सान भएको छ । 

पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो ।  राज्यमन्त्री हमिदले नेपालबाट विद्युत आयातका लागि प्रसारण लानइको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताए । राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताएका छन् । 

उनले जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्च भित्रमा काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  उनले बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सिधै विद्युत खरिद सम्झौता (पिपिए) गराउने गृहकार्य सुरु गर्ने बताएका छन् । 

भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको छ । यो कार्यविधिले अन्तरदेशीय विद्युत व्यापारमा नियमन र कानुनी संयन्त्रसम्बन्धी द्विविधाको अन्त्य गरेको छ । नेपालको बिजुलीको सम्भाव्य बजार भारत भएपनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत व्यापारमा आशावादी भएको छ ।

बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक रहेको र अबको ४ वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ ।  नेपालमा उत्पादन हुने विद्युत बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ । यसले पनि नेपालसँग बंगलादेशले बिजुली खरिद गर्न चाहेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप