मिर्गौला प्रत्यारोपणमा चरम भेदभाव : मिर्गौला लिने ७९ प्रतिशत पुरुष, महिला २१ प्रतिशत मात्र
नेपालमा नाम चलेका ट्रान्सप्लान्ट सर्जन डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा प्रत्येक १६० जना पुरुषको मिर्गौला फेल हुँदा १ सय जना महिलाको पनि मिर्गौला फेल भएको छ । यो तथ्याङ्क औसतको तथ्याङ्क हो । अर्थात् मिर्गौला फेल हुनेको सङ्ख्यालाई महिला र पुरुष छुट्याइयो भने त्यहाँ महिलाभन्दा डेढ गुना बढी पुरुषको मिर्गौलामा समस्या आएको छ ।
मिर्गौलामा समस्या आएपछि डाइलाइसिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने कुरा पनि सामान्य नै भयो । परिवारका सदस्य वा नजिकका नातेदारले मिर्गौला दान गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । यही आधारमा नेपालमा हालसम्म एक हजारभन्दा बढी जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । जसमा सबैभन्दा बढी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण भएको छ ।
विगत ९ वर्षको अवधिमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८०२ जनाको मिर्गौला प्रत्यारोपण भएको तथ्याङ्क रातोपाटीले प्राप्त गरेको छ । तर ८०२ जनाको मिर्गौला प्रत्यारोपण हुँदा मिर्गौला लिने करिब ७९ प्रतिशत पुरुष छन् भने मिर्गौला दिने ७१ प्रतिशत महिला रहेका छन् । अर्थात् मिर्गौला प्रत्यारोपणका सम्बन्धमा पनि महिलामाथि भेदभाव भएको छ ।
किनभने लिनेमा झण्डै ८० प्रतिशत पुरुष छन् भने दिनेमा ७१ प्रतिशत महिला रहेका छन् । अझ मिर्गौला दिनेमा विवाहित महिलाको हकमा श्रीमान्को सङ्ख्या धेरै कम छ । महिलालाई मिर्गौला दिनेमा अधिकांश महिलाको आमाले दिएकी छन् भने केहीमा महिलाको बुवाले दिएका छन् । श्रीमतीलाई मिर्गौला दिने श्रीमान्को सङ्ख्या ज्यादै कम छ ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार कतिपय घटनामा महिलाको मिर्गौला फेल भएपछि श्रीमानले छाडेर हिँडेका छन् । त्यस्तो भएपछि महिलाहरू निश्चित समयसम्म डाइलाइसिस गर्ने र मृत्यु कुरेर बस्नुपर्ने अवस्थामा छन् ।
जब मिर्गौला फेल भएपछि श्रीमानले छाडेर हिँडे ...
काठमाडौँकी २८ वर्षीय महिला सीता थापा (नाम परिवर्तन) रोजगारीको सिलसिलामा जापानमा थिइन् । जापानमा बसेर उनले राम्रो कमाई गरिरहेकी थिइन् । उनकै कमाइले काठमाडौँमा घर पनि बनिरहेको थियो । महिला जापानमा बस्थिन् भने श्रीमान् नेपालमै बस्थे ।
तर महिलालाई एक्कासि स्वास्थ्यमा समस्या भयो । जचाउँदा महिलाको मिर्गौलाले काम गर्न छाडेको थाहा भयो । भर्खरै उमेरकी ती महिलाले मिर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन लिने र अझै संघर्ष गर्ने अठोट गरिन् । अनि सुरु भयो, मिर्गौलाको खोजी ।
सीताको रक्त समूह र उनका श्रीमानको रक्त समूह पनि मिल्थ्यो । चेकजाँचका क्रममा सीतालाई आफ्नै श्रीमानको मिर्गौला म्याचिङ भएपछि सीताले मिर्गौला दिन आग्रह गरिन् ।
तर सीताका श्रीमान् उनलाई मिर्गौला दिन तयार भएनन् । अरू व्यक्तिकै मिर्गौला खोज्न र दुवै जना बिरामी भएमा पछि काम गर्न र बाँच्न नसक्ने भन्दै सीतालाई फकाउन लागे । तर सीताले जीवनभर सँगै बाँच्ने, सँगै मर्ने कसम खाएको भन्दै श्रीमानकै मिर्गौला शरीरमा राख्न चाहिन् र श्रीमानकै मिर्गौला मागिन् ।
जापानमा बसेर कमाएको पैसा पनि श्रीमानलाई नै पठाएको, सँगै बस्न घर समेत बनाएका, सुखदुख सँगै बाँच्ने र बिताउने भनेको श्रीमानले सीतालाई मिर्गौला दिन तयार नै भएनन् । बरु रोगी र बिरामी श्रीमती सीतालाई छाडेर ती पुरुष घरबाटै भागिदिए । ती पुरुषले सीतासँगको सम्बन्ध बिर्सिए र लामो समय सम्पर्कमा पनि आएनन् । यता बिरामी सीता श्रीमान् आउलान् कि भनेर लामो समय कुरेर बसिन् । तर सीताका श्रीमान् फर्किएर आएनन् । बरु सीताले कमाएर पठाएको अधिकांश सम्पत्ति पनि उनले नै लिएर गए ।
सँधैभरी डाइलाइसिस गरेर बस्न सक्ने अवस्था नभएपछि सीताले माइतीपक्षबाट मिर्गौला लिइन् र प्रत्यारोपण गरिन् । त्यसपछि पनि लामो समय श्रीमान् फर्किन्छन् कि भनेर कुरे, तर सीताका श्रीमान् त्यसपछि फर्किएनन् । पछि सीताले सुनिन् कि श्रीमानले अर्कै श्रीमती ल्याएर बसेका छन् ।
........
यो कथा सीताको मात्रै होइन, अधिकांश मिर्गौला रोगीले यही वा यस्तै प्रकृतिको समस्या भोगिरहेका छन् । रातोपाटीलाई प्राप्त तथ्याङ्क हेर्ने हो भने महिलाले आफ्ना श्रीमान् वा सासू ससुरा आदिलाई मिर्गौला दिएको थुप्रै घटना छन् । महिलालाई मिर्गौला दिने श्रीमान्, सासू वा ससुराको सङ्ख्या ज्यादै कम छ । जब महिलालाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ, त्यतिबेला उनले माइतीको सहारा लिनुपरेको धेरै उदाहरण छ । जब महिलालाई मिर्गौला चाहिन्छ, उनले माइतीबाट आमा, बुवा, दिदी–बहिनी, दाजु भाइ आदिको भर पर्नुपरेको देखिन्छ ।
लिगलाइज्ड क्राइम भइरहेको छ : मोहना अन्सारी
अधिवक्ता एवम् महिला अधिकारकर्मी मोहना अन्सारी मानव अङ्ग प्रत्यारोपणमा पनि महिलामाथि चरम भेदभाव र अपराध भइरहेको बताउँछिन् । भारत वा अन्य देश लगेर महिलाको मिर्गौला निकाल्ने वा बेचबिखन गर्नेदेखि नेपालमै भएको प्रत्यारोपणमा पनि महिलामाथि कानुनी प्रक्रिया पुराएर अपराध भइरहेको बताउँछन् ।
अन्सारीका अनुसार नेपालमा रहेका मिर्गौला रोगीहरूको तथ्याङ्क हेर्दा प्रत्येक १ सय जना महिलाको मिर्गौला प्रत्यारोपण गर्दा औसतमा १ सय ६० जना पुरुषको मिर्गौला प्रत्यारोपण हुनुपर्ने भए पनि नेपालमा प्रत्येक १ सय जना महिलाको प्रत्यारोपण हुँदा मिर्गौला पाउने पुरुषको सङ्ख्या ५ सयभन्दा बढी छ । अन्सारी यही तथ्याङ्क हेरेर पनि नेपालमा कसरी कानुनी रीत पुराएर महिलामाथि चरम भेदभाव र अपराध भइरहेको छ भन्ने छुट्याउन सकिने बताउँछिन् ।
अन्सारी भन्छिन्, ‘सामान्य आँखाले हेर्दा सबै कानुनी प्रक्रिया पुराएर महिलाले पुरुषलाई मिर्गौला दिएको देखिन्छ । तर जब तथ्याङ्कमा कैफियत छ भने त्यहाँ पनि महिलामाथि कति भेदभाव र अपराध भएको छ भन्ने स्पष्ट हुन्छ । १०० जनामा ८० जना पुरुषले मिर्गौला पाउँदा जम्मा २० जना महिलाले लिन पाउनु भनेको के हो ? त्यसकारण यो कानुनी रीत पुराएर गरिएको तस्करी नै हो ।’
यस्तो किन भइरहेको छ त भन्ने रातोपाटीको प्रश्नमा अन्सारीले भनिन्, ‘किनभने देशको नीति निर्माण तहदेखि घरभित्रको आर्थिक अधिकार र निर्णयमा पनि पुरुषकै एकाधिकार छ । महिला कमजोर हुन्छन्, उनीहरूको शारीरिक काम पनि गर्न सक्दैनन् भन्ने सामाजिक मनोविज्ञान आदिका कारणले पनि मिर्गौला दिने महिलाको सङ्ख्या बढी छ र दिने पुरुषको सङ्ख्या कम छ । त्यसबाहेक महिलालाई निर्णयको अधिकार कम दिइने भएको कारणले पनि यो समस्या बढिरहेको छ । तथ्याङ्कले बोलेको कुरा पनि यही नै हो ।’
महिला निरीह हुनु पनि कारण
अधिकारकर्मी अन्सारी महिला निरीह बन्ने कारणले पनि मानव अङ्ग प्रत्यारोपणमा महिलामाथि चरम शोषण हुने गरेको बताउँछिन् । अन्सारी भन्छिन्, ‘एक महिलाको विवाह भइसकेको छ, छोराछोरी पनि भइसकेको छ भने अब छाडेर कहाँ जाने ? श्रीमानको मृत्यु भयो भने वा बिरामी भइरहेमा के गर्ने ? सामाजिक बनोट, परिस्थिति, धर्म संस्कृति आदि कारणले पनि महिला निरीह छन् । यदि महिलाको मिर्गौलाले काम गरेन र बिरामी भइन् भने पुरुषले अर्को विवाह गरे पनि समाजले स्वीकार गर्छ । त्यो पुरुषलाई हेर्ने समाजको नजर नरम हुन्छ । तर पुरुष बिरामी भएर त के उमेरमै मृत्यु भयो र महिलाले अर्को विवाह गरिन् भने उनलाई हेर्ने नजर कस्तो छ ? यी सबै कुराहरू नै मिर्गौला प्रत्यारोपणमा देखिएको शोषणको कारण हो ।’
प्रत्येक एक सय पुरुष मिर्गौला रोगबाट पीडित बन्दा ६२ दशमलव ५ जना महिला यही समस्याबाट ग्रसित हुन्छन् । तर ७९ प्रतिशत पुरुषले मिर्गौला प्रत्यारोपणको सुविधा पाउँदा २१ प्रतिशत महिलाले मात्रै उक्त अधिकार प्राप्त गर्नु ज्यादै दुखद कुरा भएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको भनाई छ । श्रेष्ठ भन्छन्, ‘हामीकहाँ आउने अधिकांश बिरामी पुरुष नै छन् । डाइलाइसिसमा महिलाको प्रतिशत करिब ४० प्रतिशत भए पनि प्रत्यारोपण गर्न आउने महिलाको प्रतिशत त्यही २० प्रतिशतको हाराहारीमै हो । उनीहरू आफै घर सल्लाह गरेर कानुनी प्रक्रिया पूरा गर्न मात्रै यहाँ आउने भएकाले हामीले थप केही बोल्ने कुरा भएन । तर मिर्गौला प्रत्यारोपणका सम्बन्धमा महिलामाथि भेदभाव भएको कुरा तथ्याङ्कले नै देखाएको छ, मैले थप केही भन्ने कुरा भएन । तर यस्तो किन भयो भनेर नीति निर्माण तहमा रहेकाहरूले खोजबिन गर्ने विषय हो ।’
महिला मृत्यु कुरेर बस्नुपर्ने अवस्थामा छन्
वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ महिलाको मिर्गौलाले काम गर्न छाडेमा अधिकांश घटनामा महिलाले मृत्यु कुरेर बस्नुपर्ने अवस्था देखिएको स्वीकार गर्छन् । डा. श्रेष्ठका अनुसार बिरामीको अनुपातमा १ सय महिला बिरामी हुँदा १६० जना पुरुष बिरामी हुने भए पनि उपचारका लागि आउने वा मिर्गौला प्रत्यारोपणमा आउने महिलाको सङ्ख्या ज्यादै कम छ । पुरुष बिरामी हुँदा महिला वा श्रीमतीले बचाउनका लागि हर प्रयत्न गर्ने भए पनि महिला बिरामी हुँदा पुरुषले छाडेर हिँड्ने, वास्ता नगर्ने आदि कारण थुप्रै घटना छन् । श्रेष्ठ भन्छन्, ‘केही पुरुष श्रीमतीको उपचार गर्नुभन्दा अर्की श्रीमती ल्याउन सस्तो पर्ने भन्दै उपचार नै गर्न नमान्ने पनि छन् । काउन्सिलिङ गर्दा पनि नमान्ने गरेका थुप्रै घटना छन् । तर पुरुष बिरामी हुँदा पहिलो प्राथमिकता निजकै श्रीमती आदि हुने गरेका छन् । श्रीमती बिरामी भए अर्की ल्याएर बस्ने श्रीमानको सङ्ख्या धेरै छ । यस्तो अवस्थामा ती महिलाको डाइलाइसिस वा उपचार पनि बन्द गरिदिन्छन् र महिला मृत्यु कुरेर बस्नुपर्ने पीडामा छन् । पछिपछि त उनीहरूलाई डाइलाइसिस गर्न पनि ल्याउन छाडिन्छ र मृत्यु कुरेर बस्नुपर्ने अवस्था छ ।’
दिने ४० देखि ५० वर्षका बढी, लिने ३२ वर्षका
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको विगत ९ वर्षका तथ्याङ्क हेर्ने हो भने मिर्गौला दिने धेरैजसो ४० देखि ५० वर्ष उमेर समूहका छन् । ८ सय २ जनाको मिर्गौला प्रत्यारोपण हुँदा करिब २ सय जना मिर्गौला दानकर्ता ४० देखि ५० वर्ष उमेर समूहका छन् । केन्द्रको तथ्याङ्क अनुसार मिर्गौला दिनेमा १९ वर्षका देखि ७२ वर्षका मानिसहरू समेत छन् ।
यता मिर्गौला लिने समूहमा भने ३२ वर्षका पुरुषको सङ्ख्या अत्यधिक बढी छ । ८०२ जनाको मिर्गौलाको प्रत्यारोपण हुँदा मिर्गौला लिने ४७ जना ३२ वर्ष उमेरका छन् । मिर्गौला लिनेमा १४ वर्षका बालकदेखि ६७ वर्षका वृद्धसमेत रहेका छन् ।
मिर्गौला प्रत्यारोपणमा बागमती प्रदेश अगाडि, कर्णाली पछाडि
केन्द्रमा भएको ८०२ जनाको मिर्गौला प्रत्यारोपणको तथ्याङ्क विश्लेषण गर्दा बागमती प्रदेशका बिरामीको सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण भएको छ भने कर्णाली प्रदेशका बिरामीहरूको प्रत्यारोपण ज्यादै कम रहेको छ ।
कुल ८०२ जनाको मिर्गौला प्रत्यारोपण हुँदा बागमती प्रदेशका २०३, प्रदेश १ को १८६, गण्डकी प्रदेशको १३४, लुम्बिनी प्रदेशको ९६, प्रदेश २ को ८५ जना, सुदूरपश्चिम प्रदेशका २४ जना र कर्णाली प्रदेशका जम्मा १९ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । त्यसै गरी केन्द्रले १५ जना भारतीय नागरिकको पनि मिर्गौला प्रत्यारोपण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता