बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

बुधबार, २९ मङ्सिर २०७८, ११ : ३८
बुधबार, २९ मङ्सिर २०७८

नेपाल काँग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई र शुभकामना दिँदै देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको स्मरण गराएका छन् । 

कांग्रेसको १४औँ महाधिवेशनले देउवालाई सभापतिमै निर्वाचित गरेपछि बुधबार विज्ञप्ति निकालेर पौडेलले देशलाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च भइरहेकाले संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको बताएका हुन् । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा देउवाको ध्यान पुग्नुपर्नेमा नेता पौडेलको भनाइ छ । 

नेता पौडेलले जारी गरेको विज्ञप्ति : 

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनु भएकोमा श्री शेरबहादुर देउवालाई म हार्दिक बधाई ज्ञापन गर्दछ । साथै, सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ ।

हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् । जय नेपाल !

मितिः २०७४/९/२९
रामचन्द्र पौडेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप