शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

उत्पादनमूलक उद्योगलाई एक महिनामै १०० मेगावाट बिजुली

बुधबार, २९ मङ्सिर २०७८, ०९ : १९
बुधबार, २९ मङ्सिर २०७८

उत्पादित बिजुली खेर जान थालेपछि उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका छन् । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेपछि वर्षायाममा दैनिक ५०० मेगावाटसम्म बिजुली खेर गएपछि देशका उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका हुन् ।

यसअघि, एकातिर उत्पादित बिजुली खेर जाने र अर्कातिर उद्योगले मागेजति बिजुली नपाउने स्थिति थियो । तर, पछिल्लो एक महिनामै नेपाल विद्युत प्राधिकरणले उत्पादनमूलक उद्योगलाई १०० मेगावाट बिजुलीको लोड स्वीकृत गरिसकेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आफैँ उद्योग–उद्योगमा पुगेर धमाधम बिजुली दिन थालेका हुन् ।

‘इन्डस्ट्रियल लोड पछिल्लो एक महिनामै १०० मेगावाटले बढेको छ,’ घिसिङले भने, ‘उत्पादित बिजुली खपत बढाउन नसकेको समयमा उद्योगले मागेजति बिजुली पाउन थालेका छन् ।’ उनले उद्योगबाट आएको मागलाई १५ दिनदेखि एक महिनामै स्वीकृत गर्ने गरेको जानकारी दिए । भने, ‘उद्योगले यति बिजुली चाहियो भनेको १५ दिनभित्रै लोड स्वीकृत गर्छौं । नभए एक महिनाभन्दा ढिलो जाँदैन ।’

यतिबेला उत्पादनमूलक उद्योगले मागेजति बिजुली सहजै स्वीकृत हुन थालेको छ । प्राधिकरणले उद्योगको आवश्यकता अनुसार १३२ किलो भोल्ट (केभी) र २०० केभी बिजुली उद्योगमै पुर्याउन थालेको छ । ‘उद्योगले मागेअनुसार उनीहरूकै प्राङ्गणसम्म बिजुली पुर्याउन थालेका छौं,’ घिसिङले भने, ‘तर, यति ठूलो लोड जम्मा तीन÷चार वटा उद्योगले मागेका छन् । अधिकांश उद्योगले १० मेगावाटभन्दा कम बिजुली माग्छन् ।’
होङ्सीलाई ३० र ह्वासिनलाई २० मेगावाट बिजुली 
सुरुमा ६० मेगावाट बिजुली लिने भनेको चिनियाँ लगानीको होङ्सी सिमेन्टले समेत मागेजति बिजुली चलाउन सकेको छैन । नवलपरासीमा सञ्चालनमा रहेको होङ्सी सिमेन्टले आफूलाई ६० मेगावाट बिजुली चाहिने बताएपनि दैनिक बढीमा २० मेगावाटसम्म बिजुली मात्रै खपत गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

होङ्सीलाई प्राधिकरणले कात्तिक २८ गते १३२ केभीको प्रसारणलाइनमार्फत ३० मेगावाट विद्युत दिन थालेको थियो । प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइन चार्ज गरेर विद्युत आपूर्ति गरेको थियो । तर, उद्योगले अहिले दैनिक २० मेगावाटसम्म मात्रै बिजुली खपत गरिरहेको घिसिङले बताए ।

उद्योगले बिजुली पाएसँगै डिजेल खपत पूर्ण रूपमा घटाएको छ । बिजुली पाउनुअघि उद्योगले दैनिक ६० हजार लिटर डिजेलबाट १.४ मेगावाटका १४ वटा जेनेरेटरबाट बिजुली निकालेर गरेर सिमेन्ट उत्पादन गर्दै आएको थियो । तर, बिजुली पाउनासाथ डिजेल खपत पूर्ण रूपमा घटेको छ । उद्योगले बिजुली पाएपछि २० अर्ब रुपैयाँ लगानी थप्न लागेको जनाएको छ । दैनिक १२ हजार मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता भएको उद्योगले बिजुली पाउनुअघि ६ हजार मेट्रिकटन मात्रै उत्पादन गर्दै आएको थियो । जुन, अबको केही समयमै लगानी थपेर पूर्ण क्षमताको उत्पादन थाल्ने बताइएको छ ।

यस्तै, धादिङमा सञ्चालनमा रहेको चिनियाँ लगानीकै अर्को सिमेन्ट उद्योग ह्वासिनले २० मेगावाट विद्युत पाइसकेको छ । धादिङमा निर्माणाधीन उद्योगमा प्राधिकरणले असोज ३१ गते नै विद्युत आपूर्ति शुरू गरेको थियो । उद्योगले १३२ केभी प्रसारणलाइनमार्फत बिजुली पाएको हो । यद्यपी, २० मेगावाट बिजुली पाएपनि उद्योगले पाएजति बिजुली खपत गर्न नसकेको घिसिङले बताए । भने, ‘उद्योगले अझै एक÷दुई महिनासम्म २० मेगावाट बिजुली खपत गर्न सक्दैन । अहिले मुस्किलले १०÷१२ मेगावाट खपत गर्दै छ ।’ यस्तै, अर्घाखाँची सिमेन्टले पाँच मेगावाट विद्युतको लोड स्वीकृत पाएको छ ।

प्राधिकरणले सर्वोत्तम स्टिललाई १५ मेगावाट, ६ मेगावाट बिजुलीको लोड स्वीकृत गरेको जानकारी दिएको छ । यससँगै, लक्ष्मी स्टिल र पञ्चकन्या स्टिललाई समेत ६÷६ मेगावाट बिजुलीको लोड स्वीकृत भएको छ । यस्तै, लक्ष्मी स्टिलले थप २२ मेगावाट, सर्वोत्तम सिमेन्टले २३ मेगावाट बिजुली माग गरेको प्राधिकरणले बताएको छ । यसका साथै, अन्य उद्योगहरूले समेत बिजुलीको माग बढाएका छन् ।

यस्तै, बजेटमार्फत सरकारले स्पञ्ज आइरन आयातमा भन्सार छुट दिएपछि स्टिल उद्योगहरूले स्पञ्ज आइरन आयात बढाएका छन् । सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले स्पञ्ज आइरन आयात गरेर डण्डी उत्पादन गर्दा ८ गुणासम्म बिजुली खपत बढ्ने बताए । उनले सरकारले लिएको नीतिपछि विस्तारै बिजुलीको खपत बढ्न थालेको रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप