बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलमा सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’

मङ्गलबार, २८ मङ्सिर २०७८, १७ : ५६
मङ्गलबार, २८ मङ्सिर २०७८

 विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’ गरेको छ । २०७६ असार महिनाबाट छाती चिरेर गरिने मुटुको शल्यक्रिया अर्थात ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु गरेको नोबेलले हालसम्म १०२ जना विरामीको मुटुको शल्यक्रिया गरेको हो ।

 एक सय भन्दा बढी विरामीको सफलतापूर्वक ‘ओपन हार्ट सर्जरी’ गरेपछि नोबेलको मुटु विभागले एक कार्यक्रम गरेर उत्सव पनि मनाएको छ । कार्यक्रममा मुटु रोगको उपचारका क्षेत्रमा ख्याति कमाएका डा.ज्योतेन्द्र शर्मा, डा.खालिद हुसेन हक, डा.जोजुनाथ पोखरेल, डा.रोशन राउत, डा.महेन्द्र भट्ट लगायतले नोबेलले ‘ओपन हार्ट सर्जरी’ सेवा सञ्चालन गर्दा पूर्वी नेपालसहित छिमेकी मुलुकका विरामीलाई पनि निकै सहज भएको बताए । सो अवसरमा बोल्दै नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपालले कोरोनाको महामारीकाबीच पनि नोबेलले सय भन्दा बढी ‘ओपन हार्ट सर्जरी’ गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले यो अवधिमा १०६ जनाको एवुलेशन थेरापी पनि गरिएको जानकारी दिए ।

  चिकित्सकहरुका अनुसार शरिरको महत्वपूर्ण अंग भएकाले मुटुको अप्रेशनलाई जटिल मानिन्छ । मुटुमा सामान्य समस्या हुँदा अन्य बिधिबाट उपचार गरिन्छ । तर, मुटुको गंभिर समस्या भएकाहरुलाई ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्छ । जन्मजात मुटुमा प्वाल परेका, मुटुको वाथ रोगले भल्व बिग्रिएका, मुटुको नसा अवरुद्ध भएका, एन्जियोप्लाष्टि गर्न नमिल्ने लगायत बिरामीलाई ओपन हार्ट सर्जरी गर्ने गरिएको नोबेलका ओपन हार्ट सर्जन डा.प्रमान शर्मा बताउँछन् ।

जटिल शल्यक्रिया भएकाले नेपालका केही अस्पतालमा मात्र ओपन हार्ट सर्जरी हुने गरेको छ । नोबेलले यो सेवा थालेपछि पूर्वी नेपालका बिरामीहरु बढी लाभान्वित भएका छन् । छिमेकी मूलुक भारतका विरामीहरु पनि ‘ओपन हार्ट सर्जरी’ का लागि नोबेलमा आउँने गरेको डा.नेपालले जानकारी दिए ।

 नोबेलले २०७२ सालबाट क्याथल्याव सञ्चालन गरी मुटु रोगको स्तरीय उपचार थालेको हो । यसबीचमा नोबेलले मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालन गर्यो । मुटु रोगको गुणस्तरीय उपचारका लागि नोबेलले जटिल एन्जियोप्लाष्टिमा प्रयोग हुँने अत्याधुनिक थ्रीडी ओसिटी मेसिन नेपालमै पहिलो पटक प्रयोगमा ल्याएको हो ।

 सुरुदेखिनै मुटुको ईसीजी, टिएमटी, होल्टर, ईको लगायत सेवा प्रदान गर्दै आएको नोबेलले सेवा बिस्तार गर्दै एन्जियोग्राफी, एन्जियोप्लाष्टि, पेसमेकर लगायत सेवा प्रदान गर्दै आएको छ । अहिले मुटु रोगका सवै किसिमको उपचार गर्न नोबेल अस्पताल सक्षम रहेको अस्पताल सञ्चालक डा.सुनिल शर्मा बताउँछन् । मुटुको सामान्य उपचारदेखि ओपन हार्ट सर्जरीसम्म नोबेलमै हुँने भएकाले मुटु सम्बन्धि सबै उपचारमा नोबेल सक्षम रहेको अस्पताल सञ्चालक डा.शर्माको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप