मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

फेरिएको समीकरण : सुधारिएका शेरबहादुर वा पुरानै काँग्रेस ?

मङ्गलबार, २८ मङ्सिर २०७८, १६ : ०३
मङ्गलबार, २८ मङ्सिर २०७८

पञ्चायती व्यवस्थाविरुद्ध २०३६ सालमा जनआन्दोलन चर्किएपछि तत्कालीन राजा वीरेन्द्रले जनमत सङ्ग्रह घोषणा गरे । जनमत सङ्ग्रहको मूल विषय थियो– ‘सुधारिएको पञ्चायती व्यवस्था रोज्ने कि बहुदलीय व्यवस्था रोज्ने ?’ राजाले पुरानै पञ्चायती व्यवस्था भनेनन्, ‘सुधारिएको पञ्चायत’ भने ।

अर्थात्, ०३६ सालको जनआन्दोलनले बहुदललाई जिताउन नसके पनि पञ्चायतलाई आधा घुँडा टेकायो र ‘सुधारिएको पञ्चायती व्यवस्था’ भन्न बाध्य बनायो । लगत्तै ०३८ सालबाट राष्ट्रिय पञ्चायतको आवधिक निर्वाचन प्रणाली लागू भयो । ०३७ सालको जनमत सङ्ग्रहमा ‘पञ्चायत व्यवस्था सुधार गर्ने’ पक्षमा २४ लाख ३३ हजार ४५२ अर्थात् ५४.७९ प्रतिशत मत आयो भने बहुदलको पक्षमा २० लाख ७ हजार ९६५ अर्थात् ४५.२१ मत आयो । तर, राष्ट्रिय पञ्चायतले दुई कार्यकाल पनि बिताउन नपाउँदै ‘सुधारिएको पञ्चायत’ पनि ढल्यो र ०४६ सालमा सडक आन्दोलनकै बलमा बहुदलीय व्यवस्था लागू भयो ।

नेपाली काँग्रेसको चौधौँ महाधिवेशनमा पहिलो चरणको चुनाव जित्न नसकेपछि शेरबहादुर देउवा ३७१ मतका धनी प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगे, जहाँ उनले ‘सुधारिएको काँग्रेस’ बनाउने प्रतिबद्धता जनाए । आफू पनि सुध्रिने देउवाले वचन दिए ।

महाधिवेशनअघि कुनै भाउ नदिइएका विमलेन्द्र निधि (२५० भोट) लाई पनि देउवाले भेटे । निधिलाई पनि उनले ‘सुधारिएको नेपाली काँग्रेस’ बनाउने प्रस्ताव गरे । अब आफू पनि सुध्रिने र  काँग्रेसलाई पनि सुधार्ने वचन देउवाले प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैलाई दिए । अन्ततः रूपान्तरण र नेतृत्व परिवर्तनको चर्को वकालत गर्दै आएका सिंह र निधि दुवैले दोस्रो चरणको निर्वाचनमा ‘सुधारिएका शेरबहादुर’ को पक्षमा मतदान गर्ने घोषणा गरेका छन् ।

नेकपा एमालेको दसौँ महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली र मनमौजी बनेका छन् । तर, नेपाली काँग्रेसमा भने चौधौँ महाधिवेशनपछि देउवा नै सभापति बनिहाले पनि उनी ओलीजस्तै मनमौजी बन्ने सम्भावना कम देखिएको छ । देउवाको प्रतिपक्ष ओलीको जस्तो कमजोर छैन । बरु चौधौँ महाधिवेशनअघिको भन्दा अहिलेको प्रतिपक्ष बलियो बनेर उदाएको छ । यही शक्ति सन्तुलनका कारण अब काँग्रेसमा शेरबहादुर देउवा पुरानै ढंगबाट नभएर ‘सुधारिएको शेरबहादुर’ का रूपमा प्रस्तुत हुनुपर्ने बाध्यता देखिएको छ ।  

प्रकाशमान, विमलेन्द्र, शशांक, रामचन्द्र, सुजाता लगायतका नेताहरूले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ नदिँदा नदिँदै पनि डा. शेखर कोइरालाले पहिलो चरणमा ३६ प्रतिशतभन्दा बढी मत पाएका छन् । शेखरका अगाडि काँग्रेसका अन्य उपगुटहरू लिलिपुट साबित भएका छन् । काँग्रेसका सबै शीर्ष नेताहरूको शक्ति परीक्षण पनि भएको छ । र, अब पार्टीमा मूलतः शेरबहादुर गुट र शेखर गुट अस्तित्वमा देखिएको छ । अब शेखरको नेतृत्वमा डोलायमान बनेको काँग्रेसको यो प्रतिपक्ष नै पार्टीलाई जीवन्त राख्ने प्राण बन्न सक्छ ।

त्यसो त उपसभापति, महामन्त्री र सहमहामन्त्री लगायतको टीममा कुन पक्षले जित्ला ? गगन थापा, विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरूले जित्लान् कि हार्लान् ? चन्द्र भण्डारीजस्ता सादगीले जित्लान् या विजय गच्छदारजस्ता दागीले जित्लान् ? यसले पनि नेपाली काँग्रेसको भविष्यलाई निर्धारण गर्नेछ । अहिलेसम्म काँग्रेसको भविष्य ट्याङ्कीभित्रको मतपत्रमै कैद छ ।

सभापतिमा शेरबहादुरले नै जिते पनि पदाधिकारी र केन्द्रीय कमिटीमा संस्थापन इतर पक्षको उपस्थिति कति बलियो हुन्छ, त्यसैमा ‘सुधारिएका शेरबहादुर’ को अनुहार झल्कनेछ । कथंकाल पदाधिकारी र केन्द्रीय कमिटी दुबैमा देउवाले नै सुविधाजनक बहुमत पाए भने पुरानै नेपाली काँग्रेसको निरन्तरता हुने सम्भावना बढ्नेछ । र, काँग्रेसमा अर्को  केपी ओलीको प्रतिमूर्ति खडा हुन सक्छ ।

आत्मसमर्पण गर्ने वा अन्तरसंघर्ष ?

नेपाली काँग्रेसले यो महाधिवेशनमा ‘रूपान्तरण’ लाई आफ्नो मूल नारा बनाएको थियो । तर, काँग्रेसका केही नेताहरूले महाधिवेशनमा आफैँलाई लाचार छायाँका रूपमा प्रस्तुत गरे । जस्तो– तेह्रौँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवा र रामचन्द्र पौडेलको विकल्प खोज्नुपर्छ भन्दै सभापतिमा बेग्लै उम्मेदवारी दिएर तेस्रो धार बनाएका थिए । तर, यो महाधिवेशनमा सिटौलाले देउवासँगै आत्मसमर्पण गरे । तेह्रौँ महाधिवेशनमै दोस्रो चरणमा देउवालाई सघाएका सिटौलाले फेरि पनि देउवालाई नै साथ दिएर नेतृत्व परिवर्तनको आफ्नै मुद्दाविरुद्ध उभिए ।

अन्ततः चौधौँ महाधिवेशनमा थप दुईजना नयाँ ‘सिटौलाहरू’को अभ्युदय भएको छ । अर्थात् अघिल्लो दिनसम्म शेरबहादुर देउवाको अनुहार देखाएर काँग्रेस सफल हुँदैन भन्दै कार्यकर्तालाई उत्तेजित बनाउने प्रकाशमान सिंह र विमलेन्द्र निधिले फेरि शेरबहादुर देउवासमक्ष नै आत्मसमर्पण गर्न पुगेका छन् ।

शेरबहादुर देउवाले आफूलाई र पार्टीलाई सुधार्ने वचन दिएकाले उनलाई सघाएको भनिए पनि आगामी दिनमा सिंह र निधिले आफ्नै प्रतिबद्धताको विरुद्धमा उभिएर ‘सिटौलापथ’ नै समात्छन् या ‘सुधारिएको देउवा’ का लागि अन्तरसंघर्ष गर्छन् ? यो पनि हेर्न बाँकी विषय हो । देउवासँग ‘आत्मसमर्पण वा अन्तरसंघर्ष’ यो नै अबको सिंह र निधिको विकल्प हुनेछ ।

यो कुरा सिंह र निधिमा मात्रै लागू हुँदैन । वरिष्ठ नेता रामचन्द्र पौडेल, जसले काँग्रेसभित्र डनवाद र धनवादका विरुद्ध निष्ठाको राजनीति पुनर्स्थापित हुनुपर्ने वकालत गर्दै आएका थिए, उनले पनि सभापति नपाएको झोँकमा रोएर दिन बिताए । आफूले त्याग गर्ने र नयाँ पुस्तालाई सघाउने भनेर पौडेलले आँट गरेको भए पक्कै पनि देउवा थप प्रेसरमा पर्न सक्थे । तर, पौडेल प्रधानमन्त्री देउवासँग भेट गरेपछि लगभग मौन बसे, जसले नेतृत्व परिवर्तनको मुद्दा कमजोर बन्न पुग्यो । पौडेलको यो अपरिपक्व एवं रुञ्चे भूमिकाले नेपाली काँग्रेसमा उठेको नेतृत्व परिवर्तनको मुद्दा अब आधा दशक पछाडि धकेलिने सम्भावना बढेको छ ।

काँग्रेसका अर्का नेता डा. शशांक कोइरालाको भूमिका पनि देउवा गुट र संस्थापन इतर गुटमा अमूर्त भइदियो । यसले गर्दा शशांकको भूमिकाले देउवालाई नै मद्दत पुग्यो । त्यस्तै युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताउँदै आएकी सुजाताले पनि अन्तिममा आएर जुन भूमिका खेलिन्, त्यसले पनि काँग्रेसलाई आधार दशकसम्म देउवाकै हातमा सुम्पन मद्दत गर्‍यो ।

‘करिश्मा’ हुने सम्भावना क्षीण

अझै पनि  नेपाली काँग्रेसको सभापतिको दोस्रो चरणको परिणाम आउन बाँकी नै छ । सिंह र निधिको साथ नपाएका डा. शेखर कोइराला दोस्रो चरणमा पनि भिड्ने भएका छन् । आफ्ना सारथीहरुले देउवालाई नै सघाए पनि तल्लो तहका युवापुस्ताका कार्यकर्ताहरूले नेतृत्व परिवर्तनको पक्षमा मतदान गरी पो हाल्छन् कि भन्ने झिनो आशा शेखर कोइरालामा देखिन्छ । तर, देउवा भन्दा ५५६ मतले पछाडि रहेका शेखर कोइरालाले जित्ने सम्भावना अत्यन्तै क्षीण छ, भइहाल्यो भने त्यो नेपाली काँग्रेसका लागि ‘करिश्मा’ हुनेछ ।

तर, हारे पनि काँग्रेस नेता डा. शेखर कोइरालाले यो महाधिवेशनबाट आफूलाई एक नेताका रूपमा स्थापित गर्न सफल भएका छन् । पार्टीको पदाधिकारीसमेत नरहेका उनले जसरी शेरबहादुर देउवासँग टक्कर गरे, यसले काँग्रेसका शेखर कोइरालालाई देउवाकै समकक्षमा स्थापित गरिदिएको छ । अब पदाधिकारी र केन्द्रीय कमिटीमा चन्द्र भण्डारी, धनराज गुरुङ, मिनेन्द्र रिजाल, गगन थापा लगायतका शेखरको टिमका कति नेताले जित्नेछन्, त्यसले नै उनको थप यात्रा निर्धारण गर्नेछ ।

तथापि एउटा प्रश्न भने महाधिवेशनपछि पनि निरुत्तरित नै रहने निश्चित छ– चौधौँ महाधिवेशनपछि पनि पुरानै काँग्रेस देख्न पाइएला वा सुधारिएका शेरबहादुर ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुण बराल
अरुण बराल
लेखकबाट थप