बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नीतिबिना नेतृत्व चयन गर्दै काँग्रेस, यस्तो छ नेता–कार्यकर्ताको प्रतिक्रिया

सोमबार, २७ मङ्सिर २०७८, २० : २७
सोमबार, २७ मङ्सिर २०७८

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । जारी महाधिवेशनले काँग्रेसको भविष्य निर्धारण गर्ने भएकाले पनि धेरैको ध्यान त्यसतर्फ आकृष्ट भएको छ ।

मतदानको दिनसम्म आइपुग्दा समेत काँग्रेसको आगामी नीति, रणनीति, योजना तथा कार्यक्रम के हुने भन्ने यकिन भइसकेको छैन । काँग्रेसको अबको बाटो के हो त भन्नेमा आम कार्यकर्ता र प्रतिनिधिहरु अन्यौलमा देखिन्छन् ।

काँग्रेसले नीतिलाई भन्दा पनि बढी नेतृत्वलाई जोड दिएर अघि बढेका कारण कार्यकर्ता र प्रतिनिधिहरुमा अन्यौलता छाएको काँग्रेसका कार्यकर्ताको भनाइ छ । काँग्रेसले आफ्नो नीति, आगामी रणनीति, योजना र कार्यक्रम पार्टीको तल्लो तहको समितिका कार्यकर्ता र जनतासम्म पु¥याएर अघि बढ्नुपर्ने कार्यकर्ता पंक्तिको धारणा छ ।

काँग्रेसको १४ औं महाधिवेशनमा मुस्लिम कोटाबाट सह–महामन्त्री पदमा उम्मेदवारी दिएका फर्मुल्लाह मन्सुर काँग्रेसलाई यो समयमा नेपालको कानुन अनुसार वैधानिकता प्राप्त गर्नुपर्ने बाध्यता रहेकाले नीतिभन्दा पहिले नेतृत्व चयन गर्नुपरेको बताउँछन् ।

२ वर्ष पहिले गर्नुपर्ने काम कोभिड–१९ का कारण काँग्रेसले अहिले गर्नुपर्ने परिस्थिति बनेकाले पहिले महाधिवेशनबाट नेतृत्व छनौट गर्ने र लगत्तै नीति तथा कार्यक्रमका लागि अलग्गै अधिवेशन गर्ने तयारीका साथ अघि बढेको उनले बताए ।

अन्य पार्टीमा जस्तो काँग्रेसको नीतिमा कुनै समस्या नरहेको भन्दै उनले काँग्रेसको नीति भनेकै राष्ट्रियता लोकतन्त्र र समाजवाद रहेको बताए ।

‘काँग्रेसको नीति भनेकै वीपी कोइरालाले तयार पारेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको विचार हो । त्यही विचारमा काँग्रेस अविचलित छ । त्यसैले काँग्रेसले महाधिवेशनमा नेतृत्वलाई प्राथमिकतामा राखेको छ,’ उनले भने ।

काँग्रेसले संविधानमै जनताको अधिकारलाई समावेश गरेको र आगामी दिनमा हुने निर्वाचनको योजनामात्र बनाउन बाँकी रहेको उनले बताए । काँग्रेसको नीति स्पष्ट भएका कारण त्यसमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

उनले भने, ‘काँग्रेसको विधान अनुसार हामीले ८ तहको संरचना कायम गरेका छौं । वडादेखि केन्द्रसम्मको निर्वाचन सम्पन्न गरेका छौं । यस किसिमको निर्वाचन पद्धति र कार्यकर्ताको उपस्थिति नेपालमा अन्य कुनै पार्टीमा छैन ।’

पार्टीलाई आगामी ५ वर्षसम्म हाँक्न बलियो नेतृत्व तल्लो तहबाटै बनाएको भन्दै उनले यसले पार्टीको संगठन झनै बलियो बनाएको दाबी गरे । ‘रह्यो नीतिको कुरा, लोकतन्त्रको मूल्य मान्यतामा आधारित भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले निर्दिष्ट गरेको जनताका मौलिक अधिकारहरु, वाक स्वतन्त्रता लगायतका अधिकारहरुलाई सुरक्षित राख्दै संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतासहितको निर्वाचन प्रणालीलाई अंगिकार गरेका छौं, त्यो नै काँग्रेसको नीति र कार्यक्रम हो,’ उनले भने ।

आगामी निर्वाचनमा जनताको बीचमा काँग्रेसलाई सशक्त बनाउन र जनतालाई काँग्रेससँग व्यापक रुपमा जोड्ने योजना भने महाधिवेशनपछि तयार हुने उनले बताए ।

काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता तारिणीदत्त चटौतले काँग्रेसले पहिलो पटक नीतिलाई भन्दा बढी नेतृत्वलाई प्राथमिकतामा राखेर महाधिवेशन गरेको भन्दै गुनासो गरे ।

विविध कारण देखाएर काँग्रेसको महाधिवेशन सर्दै आएको भन्दै उनले महाधिवेशनभन्दा पहिले पार्टीको नीति स्पष्ट गर्नुपर्ने आवश्कता रहेको उनले बताए ।

काँग्रेसले आफ्नो विधानमाथि समेत छलफल गरेर महाधिवेशनमा जानुपर्ने भए पनि त्यसो हुन नसकेकाले काँग्रेसलाई केही स्थानमा असर पर्नसक्ने उनको धारणा छ । काँग्रेसले हरेक अधिवेशन तथा कार्यक्रमहरु समयमै सम्पन्न गरेर संगठन र पार्टीलाई बलियो बनाउनतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

चितवनबाट आएका काँग्रेसका महाधिवेशन प्रतिनिधि सरोज गुरुङ भने अब आउने नेतृत्वले काँग्रेसको स्पष्ट भिजन तयार पारेर आम कार्यकर्तालाई क्रियाशील बनाउन केन्द्रित रहनुपर्ने बताउँछन् ।

उनका अनुसार काँग्रेसको नीति बनाउने, विधान संशोधन गर्ने काम महासमितिको भेलाले गर्ने भएकाले केही समय पछि नै भए पनि नीति र योजनाहरु महाधिवेशनपछिको महासमितिको भेलाले तयार पार्नेछ ।

‘काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यहाँ सबैले इच्छा जाहेर गर्न पाउँछन् । त्यसैले अहिले यो निर्वाचनमा केही टीम बनेको देखिए पनि काँग्रेसलाई एक ढिक्का र बलियो बनाउन सबैले आफ्नो स्थानबाट योगदान दिनेछन् र यो महाधिवेशनपछि नीति अधिवेशन सम्पन्न गरेर काँग्रेस अघि बढ्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप