शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकमा विदेशी ‘डाक्टर’ सँग च्याट, वर्ष दिनमै १ करोड २२ लाख चैट

भारतीय ठगका चारजना नेपाली एजेन्ट पक्राउ
सोमबार, २७ मङ्सिर २०७८, १६ : ३१
सोमबार, २७ मङ्सिर २०७८

गैरसरकारी संस्था ‘युनाइटेड मिशन टु नेपाल’मा काम गर्ने ३२ वर्षीया कविता (नाम परिवर्तन)लाई डा. बेन्जामिन फ्य्राङ्कलिन नामका विदेशीले फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । कविताले ‘एक्सेप्ट’ गरिन् अनि, मेसेन्जरमा ‘च्याटिङ’ सुरु भयो ।

बेन्जामिन फ्य्राङ्कलिनले आफूलाई ‘जर्मनको प्लाष्टिक सर्जन हुँ’ भनेर चिनाए । आफू डाक्टर नै हुँ भन्ने देखाउन उनले बिरामीको अप्रेशन गरेको फोटो पनि म्यासेन्जरमा पठाउने गर्थे । कविताले उनको सबैकुरा पत्याइन् । यतिमात्र होइन, उनीहरुबीच घनिष्टता बढ्दै गयो र अन्त्यमा करिब १ वर्षमै कविताले १ करोड २२ लाख गुमाइन् ।

सामाजिक सञ्जाल (फेसबुक)मा कुरा हुन थालेको करिब एक वर्षमा फ्य्राङ्कलिनले एक हप्ताको कोर्सका लागि आफू मलेशिया आएको बताए । मलेशियामा आफू लुटिएको जानकारी गराउँदै कवितालाई उनले मेसेज गरे, ‘एटीएम कार्ड र मसँग भएको पैसा सबै लुटियो, मलाई नेपालबाट पैसा पठाइदेऊ, जर्मन पुगेपछि दोब्बर फिर्ता गर्छु ।’

आफन्त र गैह्रसरकारी संस्थामा सँगै काम गर्नेहरुबाट कविताले पैसा संकलन गरिन् । पैसा जम्मा गरेपछि उनले फ्य्राङ्कलिनलाई सोधिन्, ‘कुन माध्यमबाट पठाउँ ?’ फ्य्राङ्कलिनले पोखराका राजेन्द्र भण्डारी र ताहाचलका रोजन भुजेलको नाममा रहेको बैंकको खाता नम्बर मेसेज गरेर भने, ‘यसमा डिपोजिट गर्दिनु, त्यहाँबाट मैले पाउँछु ।’

नेपालकै बैंकमा खाता भएका फरक–फरक व्यक्तिको नाममा कविताले १ करोड २२ लाख डिपोजिट गरिन् । पैसा डिपोजिट गरेको केही दिनपछि फेरि डा. फ्य्राङ्कलिनले मेसेज गरेर आफू सेमीनारका लागि नयाँदिल्ली आइपुगेको मेसेज गरे । दिल्लीमा पनि त्यस्तै समस्या परेको भनेर फ्य्राङ्कलिनले पैसा मागे । कविताले भनिन्, ‘दिल्लीमा मेरो साथी छ, ऊसँग कुरा गर्छु, भेटेर लिनुहोला ।’

तर, फ्य्राङ्कलिनले मानेनन् र भने, ‘हुँदैन हुँदैन, मैले पैसा लिएको कुरा अरुसँग नगर्नु ।’

सो घटना कविताले आफूसँगै काम गर्ने साथीलाई भनिन् । साथीले सामाजिक सञ्जालबाट फिसिङ गरेर पैसा ठग्ने गिरोहले ‘फन्दा’मा पारेको हुनसक्ने बताएपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।

४ नेपाली एजेन्ट पक्राउ

आफू ठगिएको भन्दै कविताले उजुरी गरेपछि महानगरीय अपराध महाशाखाले त्यसबारे अनुसन्धान गरिरहेको छ । मंसिर १५ मा काठमाडौं महानगरपालिका–१३, ताहाचल घर भएका रोजन भुजेल र त्यसपछि थप ३ जनालाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा पोखरा घर भएका निर्माण व्यवसायी राजेन्द्र भण्डारी, स्याङ्जा घर भइ पोखरा बस्ने दानुमाया गुरुङ र कपिलवस्तु घर भएकी ४२ वर्षीया धनमाया केसी छन् । पक्राउ गरिएका चारै जनाको बैंक खाता डा. फ्य्राङ्कलिन नामका फेसबुक युजरले ठग्नका लागि प्रयोग गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीका अनुसार बैंक खाता प्रयोग गर्न दिएबापत उनीहरुले कमिशन पाउने गरेका थिए ।

फेसबुकमा जाल बिछ्याएर जम्मा गर्न लगाएको मध्ये २३ लाख भारतीय रुपैयाँ खाता सञ्चालकले एसबीआई बैंकमार्फत भारत पठाएको अनुसन्धानबाट थाहा भएको छ । ‘दानुमाया गुरुङले भारतमा २३ लाख भारतीय रुपैयाँ पठाएको देखिन्छ,’ अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीसँग भने, ‘राजेन्द्र भण्डारीको खातामा जम्मा भएको रकम निकालेर पठाएको देखिन्छ ।’

डा. बेन्जामिन फ्य्राङ्कलिन नामबाट फेसबुक चलाउने व्यक्ति भारतीय नागरिक हुनसक्ने बताउँछन् एसपी कोइराला । भारत, झारखण्डको जामतारा जिल्लामा यस्तो प्रकारको ठगी हुने गरेको देखिन्छ । उनी भन्छन्, ‘नेपालबाट बैंक खाता प्रयोगकर्ताले कुरियर गरेर एटीएम कार्ड भारत पठाएको देखिएको हुनाले उतैबाट ठगी भएको हुनसक्ने हाम्रो निष्कर्ष छ ।’

कपिलवस्तु घर भएकी धनमाया केसीले ९ कक्षा पढेकी छन् । डा. फ्य्राङ्कलिन नामका व्यक्तिले उनलाई ‘डाक्टर हुँ’ भनेर आकर्षित गराए । अनि, खाता नम्बर मागेर अन्त ठगेको पैसा उनकोमा डिपोजिट गराउन थाले । धनमायाले आफ्नो एटीएम कार्ड कुरियर गरेर भारतमा पठाएको अनुसन्धानबाट थाहा भएको प्रहरीको भनाइ छ । धनमायाको खातामा ३ पटकमा १ लाख ६० हजार रुपैयाँ जम्मा भएको छ ।

कविताले राजेन्द्र भण्डारीको खातामा मात्र ७८ लाख रुपैयाँ डिपोजिट गरेकी थिइन् । रोजन भुजेलको खातामा ३६ लाख ५० हजार जम्मा भएको भेटिएको छ । रोजनको बुवा र दाजुको बैंक खाता पनि ठगीमा प्रयोग भएको छ ।

खाता दिँदा घरबार टुट्यो

स्याङ्जाको चिसापानी घर भएकी दानुमाया गुरुङ पोखरा बस्छिन् । उनका पति भारतीय लाहुरे हुन् । कविताभन्दा पहिले फ्य्राङ्कलिनले दानुमायालाई साथी बनाएका थिए । आफूले जर्मनबाट महँगो गिफ्ट पठाएको र भन्सार पास नुहँदा भन्सारमा अड्कियो भनेर उनले ठग्ने प्रयास गरेका थिए । भन्सार तिर्नका लागि पैसा नपठाए पुलिसले पक्राउ गर्छ भनेरसमेत उनले ठग्न खोजेका थिए ।

दानुमायाले पैसा पठाउन आनाकानी गरेपछि बेन्जामिनले उनीसँग बैंक खाता माग्दै भने, ‘म पैसा हाल्न लगाउँछु, त्यसपछि भन्सार तिरेर लिनु ।’

अनि, अन्तबाट ठगेर उनले दानुमायाको खातामा पैसा डिपोजिट गर्न लगाउन थाले । दानुमायाका श्रीमानको पनि खाता उनले प्रयोग गरेका थिए । यसअघि यस्तै प्रकृतिको ठगीमा दानुमायाका पति कृष्ण लिम्बुको खाता प्रयोग भएको भेटिएपछि प्रहरीले अनुसन्धानका लागि झिकाएको थियो । अनि, कृष्णले पत्नीसँग सम्बन्ध विच्छेद गरे ।

डिभोर्सपछि दानुमायाले नै निर्माण व्यवसायी राजेन्द्र भण्डारीको खाता नम्बर डा. फ्य्राङ्कलिनलाई दिएकी हुन् । भण्डारी ‘क’ वर्गका निर्माण व्यवसायी हुन् ।

कवितालाई फ्य्राङ्कलिनले आफूले अप्रेशन गरेको भनेर फोटो पठाउने गर्थे । फेसबुकको प्रोफाइलमा उनले एप्रोन लगाएको तस्बिर राखेका थिए । एसपी कोइरालाका अनुसार सो फोटो उनले गुगलबाट सर्च गरेर अपलोड गर्ने गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप