एमसीसी जनताको टाउकोमाथि तेर्स्याइएको तरबारः सीपी गजुरेल
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् । सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन् ।
घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएको तरबार भएको बताए । उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसीसीको विरोधमा भोलि (मंगलबार) संसद भवन घेराऊ गर्ने घोषणा पनि बताए ।
कार्यक्रममा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खारेज हुनुपर्ने बताए । उनले भारतमा बजार बिस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए ।
नेता बास्तोलाले नेपाली जनतालाई कंगाल बनाउन, नेपाललाई लुट्नको निम्ति एमसीसी आइरहेकाले यसलाई खारेज गर्नुपर्ने बताए ।