शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपा नेपालमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबीच खटपट सुरु

सोमबार, २७ मङ्सिर २०७८, १४ : १७
सोमबार, २७ मङ्सिर २०७८

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विभिन्न पदमा नियुक्तिको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच विवाद बढेको हो । आन्तरिक विवादकै कारण पार्टीको बैठकसमेत बस्न सकेको छैन । भदौमा लोसपा गठन भएपछि एक पटकमात्र कार्यकारिणी समितिको बैठक बसेको छ । त्यसयता पार्टीको बैठक नै बस्न सकेको छैन ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेश अध्यक्ष तथा पर्यवेक्षक नियुक्त गर्न थालेपछि सोही पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षले आपत्ति जनाएको छ । अध्यक्ष ठाकुरले पार्टीमा कुनै सल्लाह नै नगरी एकलौटी रुपमा प्रदेश अध्यक्ष मनोनित गर्न लागेको महतो पक्षको आरोप छ । यही असन्तुष्टिका बीच महतो पक्षका नेता सन्तोष मेहताले आफ्नो फेसबुकमा लेखेका छन्, ‘लोसपा भनेको तमलोपा होइन होला नि !’

अध्यक्ष ठाकुरले तत्कालीन तमलोपा जसरी चलाउँथे, त्यसरी नै लोसपा चलाउन खोजेको मेहताको आरोप छ । उनले भने, ‘जिल्ला तथा प्रदेशहरुमा अध्यक्षलगायत विभिन्न पदमा मनोनयन गरिरहनु भएको छ तर त्यसको बारेमा पार्टीमा कुनै कसैसँग सल्लाह छैन, यो तरिकाले पार्टी चलाउन गाह्रो हुन्छ ।’

तर अध्यक्ष ठाकुर पक्षका नेताहरु भने सबै नेतासँग सल्लाह गरेरै ठाकुरले काम गरिरहेको दाबी गरेका छन् । उनीहरुका अनुसार अध्यक्ष ठाकुरले पार्टीमा छलफल गरेरै जिल्लाहरुमा मनोनयन गर्ने अधिकार लिएका छन् । त्यही अनुसार पछिल्लो समय नियुक्ति तथा जिम्मेवारी तोक्ने काम भइरहेको ठाकुर पक्षकै नेता संजय यादवको भनाइ छ ।

केन्द्रमा सबै कुरा ठिक छ भन्ने तर तल आफ्नो कार्यकर्ताबाट विरोध गराउने काम केही नेताबाट भइरहेको भन्दै उनले यसलाई ‘गलत प्रवृत्ति’ को संज्ञा दिए । उनले भने, ‘महन्थ ठाकुरले राजेन्द्र महतोसँग सल्लाह नगरी काम गर्नुभएको हो भने त्यो कुरा महतोजीले भन्नुपर्ने हो । उहाँ आफै केही पनि नबोल्ने अनि आफ्ना कार्यकर्ताबाट तल बिरोध गराउनुले पार्टीको हित गर्दैन ।’

अध्यक्ष ठाकुरले मंसिर २५ गते लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनललाई प्रदेश २ को अध्यक्षमा मनोनय गर्दा धनुषामा रहेका वरिष्ठ नेता महतो पक्षका कार्यकर्ताहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । त्यसपछि धनुषामै महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ताहरुले विज्ञप्ति जारी गरेर सो मनोनयनलाई समर्थन जनाएका छन् । महन्थ ठाकुरले गरेको नियुक्तिको विरोधमा पर्सामा पनि प्रदर्शन भएको थियो ।

यता, महतो पक्षका नेताहरुले प्रदेश अध्यक्षमा सोनलको नियुक्तिविरुद्ध सामूहिक विज्ञप्ति निकालेका छन् । पार्टी नेतृत्व पंक्तिले एक पद एक व्यक्ति स्वीकार गरिसकेको अवस्थामा फेरि पनि अध्यक्ष मण्डलीय प्रणालीको प्रपञ्च रच्न लागेको भन्दै उनीहरुले विरोध जनाएका छन् । उनीहरुले पछिल्ला निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी पनि दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप