सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेसलाई ‘एक निरीह प्राध्यापक’ को खुलापत्र

सोमबार, २७ मङ्सिर २०७८, १४ : ३६
सोमबार, २७ मङ्सिर २०७८

आदरणीय पार्टी सभापतिज्यू,

सर्वप्रथम विनाकारण जहाँसुकै जतिबेला पनि मारिन सक्ने र मारिनुपर्ने त्रिभुवन विश्वविद्यालयको एक निरीह मास्टरको तर्फबाट तपार्ईंंलाइ पार्टीको १४औं महाधिवेशनको हार्दिक शुभकामना । कुनै राजनैतिक दलको छाता नओढेको त्रिविको म एक मामुली शिक्षक केही र कोही पनि थिइनँ । म झण्डै मरणासन्न अवस्थामा पुगेर पुनः नयाँ जीवन प्राप्त गरी यो खुलापत्र लेख्दैछु । मैले भोगेको अन्यायको महाभारत तपार्ईंंलाई नभनी अरु कसलाई सुनाऊँ ? तपार्ईंं देशकै अविभावक पनि त हो नि । यस पत्रमा तपार्ईंंले एउटा पीडित शिक्षकको चित्कार भेट्नुहुनेछ ।

पत्र लेख्नुको उद्देश्य तपाईंको अपमान गर्न कदापि होइन । ज्यान मार्ने उद्योगको मुख्य अभियुक्त योगेन्द्र रावल बाजुरा जिल्लाबाट कसरी तपाईंको पार्टीबाट महाधिवेशन प्रतिनिधि बनेर आयो ? तपाईंहरुको पार्टी विधान, कानुनी राज्यको प्रतिवद्घताले उसलाई प्रतिनिधि बन्नबाट किन रोक्न सकेन ? यस्ता अपराधीलाई कृष्ण सिटौला, प्रदीप पौडेलजस्ता तपाईंको पार्टीका नेताले संरक्षण गरिरहँदा अपराधी छाती फुलाएर हिँडिरहेका छन् भने म र मेरो परिवार डर, त्रास, र पीडामा बाँच्नुपरेको छ ।

म टार्गेटमा पर्नुको कारण के थियो भने मैले मेरो समाजशास्त्र विभाग खुल्नुपर्छ भनेको थिएँ । मेरो विभागमा उनीहरुले ताल्चा लगाएको दुइ महिना भइसकेको थियो । तपाईं त यो देशको प्रधानमन्त्री, मैले पढाउने विश्वविद्यालयको कुलपति पनि होे । त्यहाँको एक शिक्षक विभाग खुल्नुपर्छ भन्ने पक्षमा उभियो भनेर ठूलो षडयन्त्र गरी, बाटोघाटो कुरी बाँसका चिर्पट र फलामे रडले उसको टाउकोमा हान्नु र हातखुट्टा भाँचिदिनुलाई कसरी सामान्य घटना मान्ने ? सुनियोजित त्यो सांघातिक हमलामा मेरो जीवन जुनसुकै बेला तलमाथि हुन सक्थ्यो ।

त्रिवि परिसरभित्रै अपराधीले यति सम्मको आँट र हर्कत गर्नुको पछाडि यो देशको प्रहरी, न्यायालय, विश्वविद्यालय र सरकार कसैले पनि उनीहरुलाई छुन सक्दैन भन्ने आँकलन थियो । मलाई प्रहार गरेर विश्वविद्यालयमा भय फैलाउनु थियो । ता कि त्रिवि पदाधिकारी डरले थुरथुर भएर उनीहरुले खोजेका नियुक्ति, सरुवा, बढुवा र कलेजका सम्बन्धन सजिलैसँग गरिदिऊन् र उनीहरुलाई त्यसबाट आर्थिक लाभ प्राप्त भइरहोस् ।

हुन पनि अहिले त्यस्तै भएको छ । उनीहरु बिचौलिया र माफियाको रुपमा स्थापित भएका छन । मलाई प्रहार गर्दा केही परे संगठनले जिम्मा लिन्छ भनिएको थियो, भयो पनि त्यस्तै । सुरुमा त कीर्तिपुर प्रहरीले मुद्दा नै लिएन । जाहेरी दिन हामी महानगरीय प्रहरी परिसर, कालीमाटी धाउनु पर्यो । घटनाका मुख्य योजनाकार हरि आचार्य र योगेन्द्र रावल लामो समयसम्म फरार रहे । मुख्य योजनाकार पक्राउ नपर्दा षड्यन्त्रमा संलग्न विश्वविद्यालय भित्रका अरु हाइ प्रोफाइल अपराधीहरूको पोल खुलेन ।

काँग्रेस नेता कृष्ण सिटौलाको गुट अपराधी जोगाउन लागि पर्यो । एउटा विरासत बोकेको काँग्रेसको भातृसंगठन नेविसंघले अपराधी जोगाउन आन्दोलन गर्यो । प्रजातान्त्रिक कानुन ब्यावसायीको छाता संगठनलाई अपराधी जोगाउने कामको जिम्मा दिइयो । सेटिङ्गमा काठमाडौं जिल्लाका न्यायाधीश अम्बिका प्रसाद निरौलाले छाडिदिने सुनिश्चितता गरेपछि अपराधी अदालतमा हाजिर भए र श्राद्घमा बिरालो बाँध्ने शैलीमा थुनछेक आदेशमार्फत् सामान्य धरौटीमा छाडिए । अन्याय भएपछि न्यायको निम्ति म कहिले पाटन उच्च अदालत त कहिले सर्वोच्च अदालतमा भौतारिनु परेको छ । ती अभियुक्त विरुद्घ ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ । घटना कसले र किन घटाएको भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । सत्य तथ्य प्रमाण र अपराध पुष्टि नभएका कारण नभै अपराधी नेविसंघको झण्डामा ओत लागेका कारण र पार्टी नेतृत्वले संरक्षण गरिरहेका कारण अदालतले तिनलाई कठघरामा ल्याउन ढिलासुस्ती र आनाकानी गरिरहेको प्रष्टै छ । तथापि तिनीहरु ज्यान मार्ने उद्योगका कसुरदार हुन् भन्ने ब्यहोरा पाटन उच्च अदालतको आदेश तथा पक्राउ पूर्जीले नै बोलेको छ ।

घटना भएको १४ महिना बितिसक्दा पनि मैले न्याय पाउनु त कता हो कता, उल्टै त्यत्रो जघन्य अपराधमा संलग्न योगेन्द्र रावललाई तपाईंको पार्टीले महाधिवेशन प्रतिनिधि बनायो । मैले उसको महाधिबेशन प्रतिनिधि खारेजीको निम्ति जाहेरी दिएँ । बाजुराका निर्वाचन अधिकृतले प्रतिनिधिबाट निलम्बन गरेपनि केन्द्रीय निर्वाचन समितिले त्यसलाई संरक्षण दियो । किनकि अपराधीको तर्फबाट जिल्ला अदालतमा बहस गर्ने वकिलसाहेब पार्टीको केन्द्रिय निर्वाचन समितिको संयोजकमा विराजमान थिए । त्यसैले यहाँ म आफ्ना दुःख, छटपटी, अनिश्चितता, चिन्ता र पीडा पोख्न बाध्य छु । तर, योगेन्द्र रावलजस्ता अपराधीका निम्ति काँग्रेसको पार्टी महाधिवेशन दसैंजस्तै बनेको छ ।

एउटा विरासत बोकेको पार्टीले अपराधीलाई पार्टीमा ओत लाग्न दिदा, जोगाउँदा र अझ उल्टै शासन गर्ने ठाउँमा ल्याउँदा आम नागरिकको जीउधनको सुरक्षा कसरी हुन्छ ? यसरी देशकै सबैभन्दा जेठो पार्टीद्वारा अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण गरिनु लोकतन्त्र र कानुनी शासनको उपहास शिवाय केही होइन । २०४६ साल यता लामो समय सत्ताको बागडोर सम्हालेको र अब पनि शासन हाम्रै हो भनी आश्वस्त भएको पार्टीले अपराधीलाई यसरी संरक्षण गर्दा हामीजस्ता पीडितले कसरी न्याय पाउने ?

समाजमा भय फैलाउन २१ जना सर्वसाधारणलाई जिउँदै इटाभट्टामा पोल्ने अफ्ताब आलम र निर्मला कुर्मी र नकुन्नी धोबीका हत्यारा बादशाह कुर्मी र तपाईंहरुको पार्टीमा ओत लागेका गुण्डाहरू नै पर्याप्त छन । हरि आचार्य र योगेन्द्र रावलजस्तालाई नयाँ अफताब आलम र नयाँ बादशाह कुर्मी बनाउनको निम्ति कसैले प्रेरित र प्रोत्साहन नगरौं ।

आदरणीय पार्टी अध्यक्ष तथा समस्त काँग्रेसीजनलाई के आग्रह गर्न चाहन्छु भने यस्ता अपराधीलाई पार्टीको साधारण सदस्यबाट अबिलम्ब निस्कासन गरियोस् र नेतृत्वबाट तिनलाई कुनैपनि किसिमको संरक्षण प्रदान नगरियोस् । शक्तिको दुरुपयोग गरी अदालतलाई अपराध िचोख्याउने थलो नबनाइयोस् । अपराधकिो कुनै धर्म, जात, पार्ट ी र सिद्घान्त हुँदैन । त्यसैले, अपराधीलाई उसैको दायरामा बस्न दिआंै, सार्वजनिक ओहदामा पदोन्नति नगरांै ।

प्रेमबहादुर चलाउने

त्रिभुवन विश्वविद्यालयको एक निरीह प्राध्यापक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप