लगानीकर्ताको लगानी संरक्षण गर्न मन्त्रालय गम्भीर छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मन्त्री शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन् । उनले बीमा समितिको कार्यालय भवन शिलान्यास गर्दै सेयर बजार मन्त्रीले घटाउन÷बढाउन भूमिका खेल्न नसक्ने भन्दै त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताए ।
उनले मन्त्रालयले बजारमा अनियमितता गर्ने विरुद्ध छानबिन गरेर कारबाही समेत गरिसकेको बताउँदै मन्त्रालयले गर्नुपर्ने काम गरिरहेको दाबी गरे । सेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ कार्य भइरहेको समेत उनको भनाई थियो ।
लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए । यसमा लगानीकर्तालाई ढुक्क हुन समेत आश्वस्त पार्ने प्रयास उनले पारे । ‘अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको छ । त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गर्दछु ।’
‘तपाईँलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नु होला’, मन्त्री शर्माले भने, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने/बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।’
यसअघि, गत शनिबार नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सेयर बजारमा लगानी गर्नु साम्राज्यवादको स्वरुप भएको बताएका थिए । उनले प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका थिए । उनले आज पनि शनिबार बोलेकै विषयमा स्पष्ट रहेको र पूँजीबजार साम्राज्यवादकै रुप भएको बताएका छन् ।
यो समाचार तयार पार्दासम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १०० अंकभन्दा बढीको गिरावट आएर फेरी केही सुधार आएको छ । यतिबेला नेप्सेमा ७७ अंकको गिरावट आएको छ ।