बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अधिवेशनमा ६० वर्षीया वृद्धा भन्छिन् – म माउवादी हुँ !

सोमबार, २७ मङ्सिर २०७८, १२ : ०२
सोमबार, २७ मङ्सिर २०७८

शनिबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा (माओवादी केन्द्र)को प्रथम अधिवेशनका लागि शुक्रबार बेलुकै प्रदेशका सबै जिल्लाबाट नेता कार्यकर्ताहरु वीरेन्द्रनगर भित्रिएका थिए । अधिवेशन वीरेन्द्रनगरस्थित सिटीहलमा चलिरहेको थियो । पहिलो दिन अर्थात् बेलुकी करिब साढे पाँच बजेसम्म सबै नेता कार्यकर्ताहरु भित्र हलमा पार्टीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ को भाषण सुन्दै थिए । फाट्ट–फुट्टट कार्यकर्ताहरु बाहिर आफ्नै पारामा भलाकुसारी गरिरहेका थिए, कोही कार्यक्रम सञ्चालन भएको हलबाट भित्र–बाहिर गरिरहेका थिए ।

हल बाहिर स्वास्थ्य सुरक्षा सामग्री (मास्क, सेनिटाइजर) राखिएको स्थलमा केही प्लास्टिकका कुर्सी भए पनि त्यहाँ स्वास्थ्य सेवा दिने मान्छे कोही थिएनन् । छन् त एक वृद्ध महिला जसको मुखमा उल्टो मास्क थियो । चाउरी परेका गाला, बाक्ला लुगामा सजिएर टाउकोमा पार्टीको रातो क्याप लगाएकी उनको हातमा आफ्नो साथी लौरो थियो ।

बेलुकीको चिसो सिरेटोले हानिरहेका बेला एक्लै ती वृद्ध महिला बार्दलीमा बसिरहेको देख्दा लाग्थ्यो उनमा केही आशा, केही भरोसा छ । होइन भने कठ्याङ्ग्रिँदो चिसो सिरेटोमा पनि अधिवेशनस्थल उनले किन छाड्न सकेकी छैनन् ? उमेर र शारीरिक अवस्थाका कारण उनी त्यो बेला घरको अँगेनीमा आगो ताप्दै बस्नुपर्ने हो । तर उनी न हलभित्र प्रवेश गर्न सकिरहेकी छन्, न त घर फर्कन नै ।

रातोपाटीले उनलाई प्रश्न गर्‍यो– बज्यै ! कहाँदेखि आउनुभएको नि ?

जवाफमा उनले भनिन्, ‘जुम्ला तातोपानीबाट आयाको (आएको) हुँ । म माउवादी (माओवादी) हुँ । मेरो नाउँ (नाम) विष्णुदेवी रोकाया हो ।’

उनले आफ्नोबारे अझ खुलाउँदै भनिन्, ‘बेलि भा (शुक्रबार बेलुकी) १० बजे गाउँपालिकाका गाडीमा यहाँ आइपुगेका हौं । पार्टीले ल्यायाको (ल्याएको) हो ।’

जुम्लाको तातोपानी गाउँपालिका–६ हिउँखोला बाहुनवाडाकी विष्णुदेवीले वीरेन्द्रनगर आउनुको कारण र आफ्नो अवस्थाको बेलिविस्तार यसरी सुनाईन्–

२५ वर्ष अघि, त्यो बेला मेरो छोरा १८ वर्षको थियो । कक्षा १० सम्म पढाएकी थिएँ । पाँच वर्ष त अछाममा पढाएकी हुँ । त्यो बेला म ४० वर्षको थिए सायद !  अहिले म ६० कटेँ । छोरा पार्टीमा गयो (माओवादीले थालेको जनयुद्धमा) । गएको एक वर्षमै मेरो छोरा सहिद भयो ।

मेरो छोरा सहिद भएको छ । घरमा उसको नाउँ (नाम) छक्क बहादुर रोकाया हो । पार्टीमा उसको नाम ‘उमेश’ हो । रहर मानेर पार्टीको कार्यक्रममा गयो । उतै बितेछ (निधन भयो) । एउटा छोरी थिइ, ब्या (बिहे) भयो । बुढा (श्रीमान्) कालगतिले १२ वर्ष पहिले नै बिते । अहिले एक्लो छु ।

‘यहाँ किन आउनु भएको त ?’

प्रश्न गर्न नपाउँदै उनले भनिन्, ‘हाम्रो व्यवस्था गरिदिँदैनन्, क्या अर्नु (के गर्नु) ?’

उनले भनिन्, ‘घरमा एक्लै छु । सबै गाउँलेले कहिलेकतै टिढ (दया) मानेर सहयोग गरिदिँदा (गर्दै आएका) छन् । मेरो व्यवस्था कहीँ गद्दा (गर्न) सक्ने भए गर भनिकन यहाँ आया (आएकी) हुँ ।’

उनी आँखा पनि राम्रोसँग देख्न सक्दिनन् । भित्र हलमा प्रवेश गर्दा आँखा देख्न नसक्ने भएपछि बाहिरै बसेको उनले बताइन् ।

पटक–पटक पार्टीले यहाँसम्म ल्याएको बताउने विष्णुदेवीका लागि त्यो समय शरीरलाई चिसोबाट जोगाएर न्यायो पार्न आवश्यक थियो । तर, कतै केही सहयोग पो पाइन्छ कि भनेर उनले एक क्षणको न्यानो चाहिनन् ।

यही पार्टीमा लाग्दा छोरो बित्यो, आफू वृद्ध अवस्थामा रहेको र असहाय रहेका कारण पार्टीले केही सहयोग गर्छ कि भन्ने उनको आशा रहेछ । उनले त्यो बेलासम्म पार्टीका कुनै पनि नेतालाई भेट्न नपाएको गुनासो सुनाइन् ।

त्यतिमात्र होइन, उनी पार्टीका कुनै पनि नेतालाई चिन्दा पनि चिन्दिनन् । माओवादी केन्द्र जुम्लाका नेता नरेश भण्डारीबाहेक अरु कसैको नाम लिइनन् उनले । भण्डारी कर्णाली प्रदेशका पूर्व मन्त्री समेत हुन् । वीरेन्द्रनगर आउँदा उनै भण्डारीलाई पनि भेट्न नपाएको गुनासो उनले गरिन् ।

माओवादी पार्टीसँग उनका केही अपेक्षा छन् ।

उनले भनिन्, ‘मेरो उपचार चाहियो । मेरो भाँडा, लुगा, एक तले घर छ । आफ्नो घर नजिक पानी पनि छैन ।’

तर, निराशै–निराशको बीचमा विष्णुदेवीको मुहारमा मुस्कान भने हराएन । नयाँ ठाउँ, फरक परिवेश र मान्छेहरुको भिडले होला उनी डराई–डराई बोल्थिन् । उनको किस्ता–किस्ताको मुस्कान गज्जबको थियो । लाग्थ्यो उनी मुस्कानकी खानी नै हुन् ।

उनीसँग केहीबेर प्रश्नोत्तरको सिलसिला यसरी चल्यो–

अरु के अपेक्षा गर्नुभएको छ नि ?

–     केही छैन । खाया छन्, बस्या छन् (खाएकी छु, बसेकी छु ) ।

अनि नेताहरुलाई के भन्न चाहनुहुन्छ ?

–     भनेर क्या (के) गर्नु ? तपाईले क्यानु (के गर्नुहुने) हो र ?

हामी नेता समक्ष हजुरको सन्देश पठाउँछौं नि ।

–     अहँ (मुस्कुराउँदै) । तपाई साना मुन्छे (मान्छे) ।

हामी सानो भए पनि हजुरको सन्देश पठाउँला नि बज्यै, भन्नुस् न ?

–     मैले के भन्नु ? मेरो व्यवस्था गन्या भया (गर्ने भए) गर, त्यही हो ।

दिउँसोको नास्ता खानुभयो त ?

क्यारम् (के गर्नु) बाबा... ! एक लाख रुप्या (रुपैयाँ) थिया (थियो) । बैंकमा रैगया (रह्यो) । ती (सँगै आएका साथीहरु) भित्तै (भित्रै) छन् । बाहिर आउनाई नन् (आउँदैनन्) । के नास्ता खान्या (खानु) त !

उनीसँग हातमा पैसा नभए पनि आफूले पाउने सामाजिक सुरक्षा भत्ता भने जम्मा गरेर बैंकमा राख्ने गरेकी रहिछन् । उनीसँग कुरा गर्दा–गर्दै हल भित्रबाट मान्छेहरु बाहिर निस्कन थालिसकेका थिए । उनी बाहिर आउने मान्छेहरुलाई हेर्दै थिइन् । सायद उनी आफूसँग आएका साथीहरु, आफ्नो आशा पूरा गरिदिने मानिस खोज्दै थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप