शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

​कस्तो नेतृत्व चाहन्छन् काँग्रेसका महाधिवेशन प्रतिनिधिहरु ?

सोमबार, २७ मङ्सिर २०७८, १० : २२
सोमबार, २७ मङ्सिर २०७८

काठमाडौं । नेपाली काँग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान सुरु हुँदैछ । निवर्तमान सभापति शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका छन् भने उनलाई डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले चुनावी मैदानमा उत्रिएर चुनौती दिएका छन् ।

निर्वाचनका लागि काठमाडौँको भृकुटीमण्डप, प्रहरी क्लब र राष्ट्रिय सभागृह भित्र मतदानका लागि मतदान केन्द्र स्थापना गरिएको छ । निर्वाचन समितिले भृकुटीमण्डपमा ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथसहित ८१४ बुथबाट मतदान गर्न सकिने व्यवस्था गरेको छ ।

काँग्रेसका करिव ४ हजार ७ सय ४३ प्रतिनिधिले मतदानमा सहभागी भएर नयाँ नेतृत्व चयन गर्नेछन् । काँग्रेसको नयाँ नेतृत्वका लागि शनिबार १३४ पदका लागि ५४८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए भने तीमध्ये आइतबार ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचनका लागि २९ प्रकारका ५ हजार मतपत्र छन् ।​ उम्मेदवारहरू समूह–समूहमा प्रतिनिधिहरूसँग मत माग्न सक्रिय छन् भने मतदानका लागि काँग्रेसका महाधिवेशन प्रतिनिधिहरू पनि उत्साहित देखिएका छन् । 

 बर्दियाबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका गोपी पराजुलीले काँग्रेसको आगामी नेतृत्व युवाले लिनुपर्ने बताउँछन् । काँग्रेसको नेतृत्व विस्तारै परिवर्तन र पुस्तान्तरण गर्दै लैजानुपर्ने भएकाले अबको नेतृत्वमा युवा आउनुपर्ने उनको भनाइ छ ।

‘सधैँ पुरानो पुस्तालाई यसरी सत्ता दिएर पार्टी र देशको नेतृत्व सक्षम हुन सक्दैन । नजिकै स्थानीय निर्वाचन आइरहेको छ । त्यसमा देशभर सक्रिय रुपमा उपस्थिति हुनुपर्ने भएकाले पुराना पुस्ताबाट त्यो सम्भव छैन,’ उनले भने ।

काँग्रेसलाई उत्कृष्ट पार्टी बनाउनका लागि ६० वर्षभन्दा बढी उमेर भएका नेताहरुलाई स–सम्मान बिदा गरेर सोभन्दा कम उमेर समूहकालाई नेतृत्व दिनुपर्ने उनले बताए ।

तर नेपाल ठाकुर समाजका केन्द्रीय अध्यक्ष अनिरुद्र प्रसाद ठाकुर भने यतिबेला अनुभवी नेताकै नेतृत्व आवश्यक रहेको बताउँछन् । उनले भने, ‘केही साथीले नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखे पनि अहिले अनुभवको आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने अवस्था छ, त्यसमा युवाहरुलाई पनि समेटेर नयाँ नेतृत्व चयन गर्नुपर्ने खाँचो छ ।’

काँग्रेसभित्रको गुट उपगुट अन्त्यका लागि अहिलेको नेतृत्वलाई नै निरन्तरता दिएर युवाहरुको उपस्थितिलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टीममा पनि युवाको सहभागिता बलियो छ । कसले के गरेन भन्नुभन्दा पनि अहिलेको अवस्थाअनुसार देउवाको नेतृत्व स्वीकार गरेर काँग्रेसभित्रको गुट उपगुट अन्त्य गरेर पार्टीलाई बलियो बनाउनु पर्छ,’ उनले भने ।

१४ औं महाधिवेशनबाट काँग्रेस केही परिस्कृत भएर अझ सशक्त रुपमा जनताको माझमा जाने उनको धारणा छ ।

कञ्चनपुरका तारणीदत्त चटौत पार्टीलाई युवाको आवश्यकता रहेको भन्दै पुराना पुस्ताले स–सम्मान विश्राम लिनुपर्ने बताउँछन् । दुई पटकसम्म मन्त्री भइसकेका र काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले देश र पार्टीलाई नयाँ पुस्ताको आवश्यकता रहेकाले आफू त्यही अनुसारको नेतृत्व चयनमा केन्द्रित रहेको पनि बताए ।

युवा पुस्ताले दरिलो जोश र जाँगरका साथ काम गर्ने भएकाले पुस्तान्तरण आजको आवश्यकता रहेको उनले बताए ।

‘अहिले काँग्रेसलाई नयाँ पुस्ताको आवश्यकता छ । सोही अनुसार म नयाँ पुस्ताको नेतृत्वको पक्षमा छु । अहिलेको अवस्थामा शेखर कोइराला पार्टीलाई संगठित गर्न सक्रिय र क्रियाशील छन्,’ उनले भने ।

त्यस्तै बझाङका प्रताप उर्धामीले आगामी दिनमा नेतृत्व परिवर्तन गरेर काँग्रेस अघि बढ्नुपर्ने बताउँछन् । आगामी दिनमा गतिशील नेतृत्व चयनतर्फ महाधिवेशन प्रतिनिधिहरुले ध्यान पु¥याउनुपर्ने उनको भनाइ छ ।

‘काँग्रेसका हरेक क्रियाकलाप र कार्यक्रमहरु निर्धारित समय र विधिअनुसार सम्पन्न गरेर विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्ने नेतृत्व अबको आवश्यकता हो । हिजोका कमी कमजोरीलाई सम्झेर बस्नुभन्दा पनि आगामी दिनमा सक्षम र बलियो युवाहरुको टीमलाई जिताउन लाग्नु पर्छ,’ उनले भने ।

यता जनसम्पर्क समिति स्वीडेनकी भगवती अधिकारीले आगामी दिनमा काँग्रेसको तल्लो तहको संगठनसमेत मिलाउन सक्ने, विभिन्न समस्याको समाधान गर्न सक्ने र अन्य पार्टीहरुलाई पनि समेटेर असलमा प्रजातान्त्रिक व्यवस्थाको कार्यान्वयन गर्ने नेतृत्व चयन गर्नुपर्ने बताइन् ।

‘काँग्रेसभित्र भएको यो प्रतिस्पर्धा नराम्रो होइन र यो गुट उपगुटभन्दा पनि टीमअनुसार नेतृत्व चयनको स्वस्थ प्रतिस्पर्धा हो । यसले काँग्रेसलाई थप बलियो बनाउँछ । यो नेतृत्वको विकास हो,’ उनले भनिन् । आगामी नेतृत्वले गुटभन्दा माथि उठेर काम गर्नुपर्ने खाँचो उनले औंल्याइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप