शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा माओवादीलाई अध्यक्ष छान्न सकस

सोमबार, २७ मङ्सिर २०७८, ०९ : २७
सोमबार, २७ मङ्सिर २०७८

अध्यक्ष र पदाधिकारी कसलाई बनाउने भन्नेबारे सहमति जुट्न नसकेपछि नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन लम्बिएको छ । नयाँ नेतृत्वमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि अधिवेशन लम्बिएको हो । यद्यपि नयाँ नेतृत्वका लागि २६९ सदस्यीय कमिटी बनाउने सहमति जुटेको छ ।

सदस्य पदमा सहमति भइसकेका सदस्यहरुको नाम सोमबार सार्वजनिक गर्ने पार्टी केन्द्रीय सदस्य इन्द्र आङ्बो मौसमले रातोपाटीलाई जानकारी दिए । शनिबार सुरु भएको प्रदेश सम्मेलनले आइतबार नेतृत्व चयन गर्ने कार्यतालिका थियो । तर, नेतृत्वका आकांक्षी धेरै भएर सहमति हुन नसक्दा अधिवेशन लम्बिन पुगेको छ ।

आइतबार रातिसम्म नेतृत्व छनोट गर्नेगरी निर्वाचनको कार्यसूची प्रकाशित भएको थियो । तर, सहमतिको प्रयास गर्ने भन्दै नेताहरू छलफलमा बसेपछि कार्यसूची प्रभावित भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश अध्यक्षको दौडमा सुरेशकुमार राई (हिमाल), हेमराज भण्डारी, ईन्द्रबहादुर आङ्बो र सुदन किराती दौडमा छन् ।। प्रदेशमा चुनिएका २६९ जना सदस्यले अध्यक्षसहित पदाधिकारी छान्ने नेताहरुले बताएका छन् । अधिवेशनमा प्रदेशभरिका प्रतिनिधि र पर्यवेक्षक गरी झण्डै १५ सय सहभागी छन् ।

प्रदेश अधिवेशनले पार्टीको विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष महिलासहित तीन, सचिव एक, सहसचिव तीन र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित गर्नेछ । आइतबार राति छानिएका सदस्यको नामलाई लिएर केही जिल्लामा भने असन्तुष्टि रहेको उनले बताए । पदाधिकारी पनि सकेसम्म सहमतिबाटै तय गर्ने आङ्बोले जानकारी दिए ।

माओवादीका प्रदेश इन्चार्ज राम कार्कीले प्रदेशको सदस्यहरू सहमतिबाट टुंगिसकेकाले अब पदाधिकारीको चयनमात्र बाँकी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप