आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देउवालाई शेखरको जवाफ–नेतृत्व परिवर्तन हुन्छ, गठबन्धन कायम रहन्छ (भिडियोसहित)

आइतबार, २६ मङ्सिर २०७८, १८ : २८
आइतबार, २६ मङ्सिर २०७८

नेपाली काँग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले भोलि हुने निर्वाचनबाट नेतृत्व परिवर्तन भइछाड्ने बताएका छन् । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाले पार्टीमा आफ्नो नेतृत्व नभए सरकार ढल्ने अभिव्यक्ति दिएको भन्दै उनले कटाक्ष गर्दै  नेतृत्व परिवर्तन भइछाड्ने बताएका हुन् । देउवाको सो अभिव्यक्तिले आम नेता कार्यकर्तालाई निराश पारेको पनि कोइरालाले बताए । 

आइतबार साँझ राजधानीमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘म हारेँ भने यो गठबन्धन सरकार जान्छ, भनेर भनिदिनुभयो । साथीहरु म भन्छु, नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ.. । सँगसँगै नेतृत्व परिवर्तनपछि गठबन्धन थप सुदृढ र संगठित भइकन निर्वाचनमा होमिन्छौं । यो सरकारलाई अझ मजबुत गर्ने प्रयास हाम्रो नेतृत्वले गर्छ ।’​ देउवाले आफूलेे चुनाव हारे गठबन्धन ढल्ने बताएर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको शेखरको भनाइ थियो ।

​उनले आफूहरुले गतिशील र ऊर्जाशील काँग्रेस बनाउन गइरहेको पनि बताए ।   नयाँ विचार र कार्यशैलीबाट अघि बढ्ने प्रतिबद्धता आफूहरुको रहेको उनको भनाइ छ । उनले आफू नेतृत्वमा आए पार्टीका भ्रातृ र शुभेच्छुक संस्थालाई सुदृढ गरेर अघि बढ्ने बताउँदै त्यसलाई क्रियाशील र जिम्मेवार बनाएर लैजाने पनि प्रण गरे ।  जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्व पार्टीमा महत्त्वपूर्ण भएको बताउँदै उनले त्यसमा आफू प्रतिबद्ध रहेको पनि बताए । 

कोइरालाले आफ्नो समूहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको आशीर्वाद रहेको पनि बताए । 

‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, उनले भने, ‘वरिष्ठ नेता र महामन्त्रीको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ ।’​

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप