रुस र युक्रेनबीच किन बढ्दैछ युद्धको आशंका ?
रुस र युक्रेनबीच युद्धको स्थिति देखिएको छ र यो तनावबाट पश्चिमी मुलुक ठुलो चिन्तामा छन् । यो तनाव बढेर युद्धको सँघारमा पुगेको खण्डमा यसको आगो समस्त युरोपमा फैलिन सक्छ र दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अवस्था देखा पर्छ भन्ने चिन्ता पश्चिमी मुलुकलाई छ । पश्चिमी देशहरुका गुप्तचर संस्थाले युक्रेनको सीमामा ट्याङ्क र तोपका साथ रुसका एक लाख सैनिक अहिले तैनाथ रहेको अनुमान गरेका छन् । अमेरिकाको अनुमान अनुसार जनवरीको अन्त्यसम्ममा यो संख्या एक लाख ७५ हजारसम्म पुग्न सक्छ ।
अमेरिका र उसका नेटो सहयोगीले युक्रेनमाथि रुसको कुनै पनि हमलाको गम्भीर आर्थिक परिणाम हुन सक्ने चेतावनी दिइसकेका छन् । तर पनि रुसले एउटा खेल खेलिरहेको छ । विश्लेषकहरुले भने रुसको यो दबाब एउटा रणनीति अन्तर्गत आइरहेको छ ताकि युक्रेनलाई पश्चिमी मुलुकको सुरक्षा संगठन ‘नेटो’ मा स्थान नमिलोस् ।
युक्रेन यदि नेटोको सदस्य बनेमा आफ्नो सीमा नजिकै नेटोको सैन्य अखडा बस्ने आशंका रुसलाई छ । तर नेटोले भने रुसलाई कुनै खतरा नहुने भरोसा दिलाउँदै आएको छ । रुस र युक्रेनबीचको विवादलाई अहिले नेटोसँग जोडेर हेर्न थालिएको छ । तर, दुवैबीच कयौं पटक संघर्ष भइसकेको छ । सन् २०१४ मा पनि यी दुई मुलुकबीच युद्ध भएको थियो जसमा युक्रेनबाट क्रिमियालाई खोसेर अलग गराइएको थियो । रुस र युक्रेनबीचको तनावलाई बुझ्नका लागि पुरानो इतिहास बुझ्न जरुरी हुन्छ ।
कुनै बेला रुसी साम्राज्यमा थियो युक्रेन
युक्रेन कुनै बेला रुसी साम्राज्यको हिस्सा थियो । सन् १९९१ मा सोभियत संघ टुक्रिएपछि युक्रेनले स्वतन्त्रता प्राप्त ग¥यो । त्यही बेलादेखि युक्रेनले रुसको छत्रछायाँबाट बाहिर निस्कन प्रयास गरेको हो । यसका लागि युक्रेनले पश्चिमी मुलुकसँग निकटता बढायो । जबकि, उसको उत्तर र पूर्वी हिस्साको लामो सीमा रुससँग जोडिएको छ ।
सन् २०१० मा भिक्टर यानुकोभिच युक्रेनका राष्ट्रपति बने । उनले रुससँग निकै निकट सम्बन्ध बनाए । रुससँगको सोही सम्बन्धका आधारमा उनले युरोपेली संघमा सामेल हुने सम्झौतालाई खारेज गरे । यसको प्रतिक्रिया स्वरुप नै युक्रेनमा व्यापक विरोध प्रदर्शन भयो र सन् २०१४ मा उनले राजीनामा दिए ।
त्यसपछि रुसले युक्रेनका विरुद्ध आक्रामकता देखाउँदै कथित रुपमा त्यहाँका पृथकतावादीलाई सहयोग ग¥यो । जसको परिणामस्वरुप युक्रेनको क्रिमिया प्रायद्वीपमा कब्जा ग¥यो । रुसमाथि युक्रेनका पृथकतावादीलाई पैसा र हतियार दिएको आरोप लाग्यो । तर रुसले ती आरोपलाई अस्वीकार गर्दै आयो । यद्यपि उसले पृथकतावादीलाई खुलेर समर्थन गर्दै आएको छ । युक्रेन र पश्चिमी मुलुकले रुसी सैनिकहरुबाट पनि विद्रोहीलाई मद्दत पुगिरहेको आरोप लगाउँदै आएका छन् । तर, रुसले भने युक्रेनका विद्रोहीलाई सहयोग गर्ने रुसी स्वयंसेवक रहेको बताउँदै आएको छ ।
युक्रेनको पूर्वी हिस्सामा रहेको डोनबास औद्योगिक सहर मानिन्छ । त्यहाँ सन् २०१४ मा भएको युद्धमा १४ हजारभन्दा बढी मानिस मारिएका थिए । सन् २०१५ मा फ्रान्स र जर्मनीले एक शान्ति सम्झौतामा मध्यस्थता गरेको थियो । जसको आधारमा युद्ध अन्त्य भयो तर राजनीतिक समाधान भने निस्कन सकेन । यसै वर्ष युक्रेनको सीमा नजिक रुसी सैनिकले युद्धाभ्यास गरेपछि युद्धविराम उल्लंघन सुरु भयो । अप्रिलमा रुसले युद्धाभ्यास रोकेपछि तनाव केही घट्यो ।
अहिले युक्रेनी सीमा नजिक के भइरहेको छ ?
अमेरिकी गुप्तचर अधिकारीहरुले पछिल्लो साता युक्रेनी सीमामा रुसले एक लाख ७५ हजार सैनिक तैनाथ गर्न लागेको आशंका गरेका थिए । तीमध्ये आधाको संख्यामा विभिन्न स्थानमा तैनाथ गरिएका र सन् २०२२ को सुरुवातमा रुसले हमला गर्न सक्ने उनीहरुको आंकलन छ ।
युक्रेनले आफ्नो सीमा नजिकै ९० हजारको संख्यामा रुसी सैनिक तैनाथ रहेको बताउँदै आएको छ । युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसको ४१ औं आर्मी युनिट येलनया सहर नजिकै छ । युक्रेनको उत्तरी सीमाबाट यो सहर केवल २६० किलोमिटरको दुरीमा छ ।
युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनिकोफले युक्रेनी सांसदहरुलाई शुक्रबार दिएको जानकारीअनुसार युक्रेन नजिकै र रुसको कब्जामा रहेको क्रिमियामा ९४ हजार ३०० रुसी सैनिक छन् र जनवरीमा त्यो संख्यामा भारी वृद्धि हुन सक्छ । रुसले आफ्नो सैनिक तैनाथीबारे कुनै प्रतिक्रिया जनाएको छैन । उसले सो क्षेत्रमा रुसी सैनिकको तैनाथीबाट कसैले चिन्ता लिइरहन आवश्यक छैन ।
पछिल्लो तनावको कारण के ?
रुसले युक्रेनमाथि सन् २०१५ को शान्ति सम्झौतालाई सम्मान नगरेको आरोप लगाउँदै आएको छ । पश्चिमी मुलुकहरु युक्रेनलाई सो सम्झौता पालन गराउन असमर्थ भएको रुसको भनाइ छ । यो सम्झौता अन्तर्गत रुसले एक कुटनीतिक जित हासिल गरेको थियो र उसले युक्रेनका विद्रोहीको गढलाई स्वायत्तता दिने र उनीहरुलाई आम माफी दिलाउन बाध्य तुल्याएको थियो । यद्यपि, उक्त सम्झौता पालन भएन ।
सो सम्झौता पालन नहुनुमा युक्रेनले रुसलाई जिम्मेवार ठहर गर्दै आएको छ । रुसी समर्थित पृथकतावादीले युद्धविराम उल्लंघन गरेको युक्रेनको भनाइ छ । पूर्वमा विद्रोहीहरुको गढमा रुसी सैनिक मौजुद रहेको युक्रेनको आरोप छ । तर रुसले यी सबै आरोपलाई अस्वीकार गर्दै आएको छ ।
यी आरोप–प्रत्यारोपका बीच रुसले युक्रेन, फ्रान्स र जर्मनीसँग बैठक बस्न अस्वीकार गरेको छ । सन् २०१५ को सम्झौता युक्रेनले नमानेका कारण बैठक बस्नु व्यर्थ रहने रुसी भनाइ छ । रुसले अमेरिका र उसका सहयोगी नेटो मुलुकबाट युक्रेनलाई हतियार सहयोग गरेको र संयुक्त सैन्य अभ्यास भएको भन्दै आलोचना गर्दै आएको छ । यस्तो गतिविधिले युक्रेनका सैनिकलाई विद्रोहीको क्षेत्र पुनः कब्जा गर्न प्रेरित गरिरहेको रुसको भनाइ छ ।
यसै वर्षको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी हिस्सामा कब्जाको सैन्य कोशिस युक्रेनी राष्ट्रको दर्जाकै लागि गम्भीर परिणाम हुने चेतावनी दिएका थिए । उनले लगातार रुसी र युक्रेनी एकै खालको भन्दै आएका छन् । सोभियत कालमा युक्रेनलाई गलत तरिकाले रुसी जमिन दिइएको उनको आरोप छ ।
रुसी राष्ट्रपतिको चिन्ता युक्रेनलाई नेटोमा सामेल गर्ने विषयमा पछि केन्द्रित छ । नेटो आफ्नो लागि एउटा सीमा रेखाजस्तै भएको उनले बताइसकेका छन् । नेटो सदस्यहरुले युक्रेनमा सैन्य प्रशिक्षण केन्द्र बनाउने योजना बनाइरहेको आरोप उनले लगाएका छन् । यस्तो रणनीतिअन्तर्गत युक्रेनलाई नेटोमा सामेल नै नगरी रुसविरुद्ध सैन्य मजबुती प्रदान गर्न खोजिएको उनको भनाइ छ ।
गत साता पुटिनले जोड दिँदै भनेका थिए कि रुसले अमेरिका र उसको सहयोगीबाट ‘विश्वसनीय र दीर्घकालीन सुरक्षा ग्यारेन्टी’ चाहेको छ । उनले पूर्वतर्फ नेटोका कुनै पनि कदमबाट आफूलाई टाढा राख्नत र रुसी क्षेत्र नजिक रुसलाई खतरा हुने खालका हतियारको तैनाथी नगर्न पनि उनले चेतावनी दिएका थिए ।
यसका लागि आफूलाई मौखिक प्रतिवद्धताले नपुग्ने भन्दै उनले कानुनी ग्यारेन्टी माग गरेका थिए । गत सात अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिनका बीच यसै विषयमा भर्चुअल बैठक भएको थियो ।
पुटिनका विदेश मामिलाका सल्लाहकार युरी उशाकोफका अनुसार आफ्नो मागका बारेमा पुटिनले सोही बैठकमार्फत बाइडेनलाई अवगत गराइसकेका छन् । यद्यपि, विश्लेषकहरुका अनुसार पुटिनका मागलाई बाइडेनले त्यति महत्व दिएका छैनन् । बाइडेनले शुक्रबारमात्र आफूले कुनै पनि सीमा रेखालाई स्वीकार नगर्ने प्रस्ट पारिसकेका छन् ।
पुटिनको दबाबको रणनीति
अप्रिलमा रुसले सैन्य शक्ति प्रदर्शन गर्ने रणनीति असफल भएको ठहर गरेको थियो तर अहिले फेरि उसले सोही रणनीतिलाई दोहो¥याउन थालेको छ । रुसी राष्ट्रपति पुटिनले पछिल्लो साता रुसी अधिकारीहरुलाई भनेका थिए, ‘हाम्रो पछिल्लो चेतावनीलाई सुन्न थालिएको छ र प्रभाव पनि हेर्न लायक छ । तनाव बढ्न थालेको छ ।’
पुटिनका अनुसार तनाव बढेपछि पश्चिमी देशहरुले रुसलाई ध्यान दिन्छन् र नजरअन्दाज गर्न सक्दैनन् । मस्कोस्थित थिङ्क ट्याङ्क आरआइएसीसँग आवद्ध आन्द्रेई कोर्तुनोफ भन्छन्, ‘यदि युक्रेन नजिकै सैन्य गतिविधि आक्रामक देखिएको छ भने यसको अर्थ सोझै सैन्य कारवाही हुन्छ भन्ने होइन, वास्तवमा यो त एउटा सन्देश हो जो पुटिनले दिन चाहेका छन् ।’
युक्रेनका लागि केही उट्पटाङ्ग नगरोस्, जस्तो कि डोनबासमाथि फेरि नियन्त्रण गर्ने प्रयास नगरोस् भन्ने सन्देश रहेको उनको भनाइ छ । कोर्तुनोफका अनुसार पश्चिमी देशका लागि रुसको सन्देश यही हो कि युक्रेनमा नेटोको तागत नपुगोस्, जस्तो कि नयाँ प्रकारका हतियार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन