आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसमा थारू नेता : सहमहामन्त्री कोटामै सीमित !

केन्द्रीय सदस्यमा को–को छन् थारु उम्मेदवार ?
आइतबार, २६ मङ्सिर २०७८, १३ : ००
आइतबार, २६ मङ्सिर २०७८

काठमाडौं । नेपाली काँग्रेसले पार्टी इतिहासमा पहिलो पटक हालको १४औं महाधिवेशनबाट विभिन्न क्लस्टरबाट समावेशी ढंगले पदाधिकारीसहितको केन्द्रीय कमिटी चयन गर्दैछ । यस क्रममा आठ सहमहामन्त्रीको पददेखि केन्द्रीय सदस्यमा क्लस्टर छुट्याइएको छ ।

खुला, महिला, भूगोल, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक, अपाङ्ग कोटबाट केन्द्रीय समितिका लागि महाधिवेशन प्रतिनिधिहरु भिड्दैछन् । तराईको एक ठूलो समुदाय थारूले आदिवासी जनजातिबाट अलग कोटा पाएको छ । यसमा थारूबाट एक सहमहामन्त्री तथा पुरुष २ र महिला २ गरी ४ केन्द्रीय सदस्यको कोटा छुट्याइएको छ ।

क्लस्टर बिनाको पदाधिकारीमा भने विजयकुमार गच्छदारले प्रतिस्पर्धा गर्दैछन् । उनी शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिमा उम्मेदवार बनेका छन् ।

सहमहामन्त्रीमा दुई जना

थारू कोटाबाट सहमहामन्त्रीमा सुरुमा तीन जनाको उम्मेदवारी परेको पनि अन्तिम समयमा आएर एक जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । शेखर समूहबाट तेजुलाल चौधरी (सप्तरी) देउवा समूहबाट उमाकान्त चौधरी (बारा) ले प्रतिस्पर्धा गर्दैछन् । पर्साका सुरेन्द्रप्रसाद चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिए पनि अन्तिम समयमा आएर उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

देउवा समूहबाट रामजनम चौधरी (कैलाली) को नाम सहमहामन्त्रीमा ‘फिक्स’ भए पनि अन्तिम अवस्थामा काटिएको थियो । कृष्णप्रसाद सिटौलाले आफ्नो समूहका उमाकान्तलाई सहमहामन्त्रीमा भाग मागेपछि देउवा समूहका रामजनम ‘आउट’ भएका थिए । अन्ततः रामजनम केन्द्रीय सदस्यको उम्मेदवारमा खुम्चिएका छन् । उमाकान्त चौधरी सिटौलाको कोटाबाट बहालवाला खानेपानी तथा सरसफाई मन्त्री हुन् ।

१४औं महाधिवेशनमा १७३ जना थारू महाधिवेशन प्रतिनिधि छन् । कैलालीबाट सबैभन्दा बढी २९ जना थारू महाधिवेशन प्रतिनिधि रहेको तथा विजयकुमार गच्छदारको आशिर्वाद रहेकाले रामजनम आफू सहमहामन्त्रीमा टिकट पाउने ढुक्क थिए । तर सिटौला गुटसँगको सहकार्यपछि उमाकान्त चौधरीले टिकटमा बाजी मारे ।

थारू समुदायको जातीय संस्था थारू कल्याणकारिणी सभा (थाकस)ले शुक्रबार अबेर राति थारू महाधिवेशन प्रतिनिधिहरुको भेला डाकेको थियो । जसमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको आकांक्षीहरुले आ–आफ्ना विचार राखेका थिए । सुरेन्द्रप्रसाद चौधरीले पार्टीमा आफ्नो योगदान निकै लामो भएको तथा धेरै वर्ष जेलनेल भोगेकाले सहमहामन्त्रीका लागि उपर्युक्त भएको जिकिर गरेका थिए ।

उता शेखर पक्षबाट उम्मेदवारी दिएका तेजुलाल चौधरीले देउवाले एकजना पनि थारू समुदायका व्यक्तिलाई पनि उम्मेदवारी नदिएको, राज्य पुनसंरचनाका क्रममा पश्चिमका कैलाली, कञ्चनपुरको थारू बस्ती कित्ताकाट गरेकाले देउवा नेतृत्वबाट थारूहरु सचेत हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

केन्द्रीय सदस्यमा को–को छन् थारु उम्मेदवार ?

थारू कोटाबाट केन्द्रीय सदस्यमा ४ जना चयन हुने भए पनि दर्जन बढी उम्मेदवार छन् । यसमा योगेन्द्र चौधरी र पार्वती डीसी चौधरी (दाङ), डा गोपाल दहित र मंगलप्रसाद चौधरी (बर्दिया), नवोदिता चौधरी (सुनसरी), कल्पना चौधरी र सुमित्रा थरुनी (मोरङ), गीता चौधरी र नमिता चौधरी (सप्तरी) देवीप्रसाद चौधरी (रुपन्देही) लगायत छन् । सहमहामन्त्रीको उम्मेदवारीबाट ‘आउट’ भएपछि रामजनम चौधरी बढी सुरक्षित थारू कोटाबाट केन्द्रीय सदस्य उम्मेदवार भएका छन् । त्यस्तै, पूर्वमन्त्री डा. दहित पनि थारू कोटाबाटै उम्मेदवार छन् ।

थारू कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार योगेन्द्र चौधरीले रातोपाटीसँग भने,‘पटक–पटक मन्त्री भैसकेका नेता साथीहरु खुला, भूगोल क्लस्टरबाट अनि मौका नपाउनेहरुलाई थारू कोटा छाडिदिए जाति हुने थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप