बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शेरबहादुरदेखि कल्याण गुरुङसम्म : हेर्नुहोस् सभापतिका दाबेदारको बायोडाटा

आइतबार, २६ मङ्सिर २०७८, ०८ : ३१
आइतबार, २६ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका हुन् ।

सभापतिमा ६ जना उम्मेदवार बनेपछि १३ औं महाधिवेशनको टीम र गुट तितरवितर भएको छ । देउवासँग विद्रोह गरेर निधिले सभापतिमा उम्मेदवारी दिएका छन् भने पौडेल समूह पनि छिन्नभिन्न भएको छ । १३ औं महाधिवेशनको पौडेल समूहबाट तीनजना सभापतिका उम्मेदवार बनेका छन् । कोइराला, सिंह र गुरुङ पौडेल समूहबाट विभाजित भएर आमुन्ने–सामुन्ने भएका हुन् ।

गोरखाको आरूघाटका ४० वर्षीय न्यौपाने भने काँग्रेसमा अपरिचित नाम हो । गोरखाबाट महाधिवेशन प्रतिनिधि जितेका न्यौपाने महामन्त्रीका उम्मेदवार गगन थापा निकट मानिन्छन् । उनको उम्मेदवारीले पनि केही मत संस्थापन इतरकै काट्ने देखिन्छ ।

देउवा समूहबाट निधि बाहिरिएका छन् भने कृष्णप्रसाद सिटौला पक्ष जोडिएको छ । देउवा पक्षले निधिको उम्मेदवारीलाई त्यति गम्भीर रुपमा लिएको छैन । तर, निधिले देउवा पक्षको केही भोट काट्ने अनुमान गरिएको छ ।

साथै १३ औं महाधिवेशनमा काँग्रेसभन्दा बाहिर रहेको विजय गच्छदार समूह देउवाको साथमा छ । सुनीलबहादुर थापा देउवाको टीममा उम्मदेवारका रुपमा अटाएका छैनन् । तर, थापाले देउवालाई नै साथ लिने संस्थापन पक्षको दाबी छ ।

शेखर र प्रकाशमान आमने सामने हुने अवस्था आएपछि रामचन्द्र पौडेलले प्रतिस्पर्धाबाट विश्राम लिएका छन् । १३ औं महाधिवेशनमा सिटौलालाई साथ दिएका गगन थापाले शेखर कोइरालालाई रोजेपछि सिटौलाले आफ्नो समूह देउवा समूहमा मिसाएका छन् । १३ औं महाधिवेशनमा देउवासँगै सभापतिमा भिडेका सिटौला आफूचाहिँ प्रतिस्पर्धाबाट बाहिरै बसेका छन् ।

अब काँग्रेस सभापतिका उम्मेदवारको चर्चा गरौँ

शेरबहादुर देउवा

शेरबहादुर देउवाको जन्म विसं २००३ जेठ महिनामा डडेलधुरामा भएको हो । उनी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दोस्रो अध्यक्ष बनेका थिए । देउवाले नेविसंघमा करिब १० वर्ष (२६–३६) नेतृत्व गरे । पार्टी राजनीतिमा सुरुमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएका देउवाले पार्टीको १० औं पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिएका थिए ।

२०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिए र पराजित भए । ०५९ मा देउवाको नेतृत्वमा काँग्रेस विभाजन नेपाली काँग्रेस प्रजातान्त्रिक बनेको थियो । उक्त पार्टीको ११ औं महाधिवेशनमा उनी सर्वसम्म सभापति चयन भए ।

०६४ मा देउवा नेतृत्वको पार्टीले काँग्रेससँग एकता गर्यो । एकतापछिका १२ औं महाअधिवेशनमा देउवा पराजित भए । तर, ०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा काँग्रेसको पार्टी सभापतिमा निर्वाचित भएका थिए ।

काँग्रेस प्रजातान्त्रिकको गरी ३ पटक पार्टीको नेतृत्व गरेका देउवा फेरि सभापतिको मैदानमा उत्रिएका छन् । ५ औं पटक प्रधानमन्त्री भएर देउवाले अहिले मुलुक हाँकी रहेको अवस्था छ । समीकरण निर्माणमा खप्पिस देउवाले काँग्रेसको पहिलो, दोस्रो, तेस्रो र चौंथो पुस्ताको टीम बनाएर १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका छन् ।

पहिलो उस्ताका उनी दोस्रो पुस्ताका विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, तेस्रो पुस्ताका प्रकाश महत र चौथो पुस्ताका प्रदीप पौडललाई पदाधिकारीमा समेटेका छन् ।

विमलेन्द्र निधि

विमलेन्द्र निधिको जन्म १० असोज ०१३ सालमा जनकपुरमा भएको हो । काँग्रेसका संस्थापक मध्येका एक महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र १४ वर्षकै उमेरमा राजनीतिमा लागेका हुन् ।

उनी देउवापछि ०३६ सालमा नेविसंघको सभापति बने । तर, काँग्रेसको केन्द्रीय राजनीतिमा आउन भने निधिलाई केही समय लाग्यो ।

काँग्रेसको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उठेका उनी भीमबहादुर तामाङसँग पराजित भए । तर, १० औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न सफल भए । त्यसयता उनी काँग्रेसको केन्द्रीय राजनीतिमा  जमेका छन् ।

देउवा नेतृत्वमा नयाँ पार्टी महामन्त्री बनेका उनी एकीकृत पार्टीमा महामन्त्रीका रुपमा प्रवेश भए । तर १२ औं महाधिवेशनमा पहिलो पटक महामन्त्रीको निर्वाचन हुँदा प्रकाशमान सिंहसँग पराजित भए ।

१३ औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका निधिलाई ०७५ मा देउवाले उपसभापतिमा बनाए । यतिबेला निधिले देउवा विरुद्ध सभापतिमा उम्मेदवारी दिएका छन् । तर देउवा पक्षका केन्द्रीय नेताहरु निधिको पक्षमा कोही देखिएनन् । देउवा पक्ष छोडेका प्रवक्ता विश्वप्रकाश शर्मा पनि प्रकाशमान सिंहको महामन्त्रीको उम्मेदवार भनेका छन् ।

प्रकाशमान सिंह

२०१३ मा काठमाडौंमा जन्मिएका प्रकाशमान काँग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् । ०३० सालमा नेविसंघबाट राजनीति थालेका सिंह ०३६ सालमा नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष भए ।

०३८ मा काठमाडौंमा पार्टीको जिल्ला सदस्य र ०४३ सालमा जिल्ला सचिव भए । ०४५ मा काठमाडौं सभापति भएपछि लगातार दुईपटक जिल्लाको नेतृत्व सम्हाले । त्यसपछि सिंह काँग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गरे ।

०५७ सालमा पोखरामा भएको १० औँ  महाधिवेशनबाट सिंह केन्द्रीय सदस्यमा विजयी भए । ०५८ सालमा काँग्रेस फुट्दा  देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उपसभापति भए । ०६४ मा पार्टी एकीकरण हुँदा पनि उपसभापति नै भए ।

०६७ सालको १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा सिंहले पनि महामन्त्रीमा जिते । १३ औँ महाधिवेशनमा सिंह केन्द्रीय सदस्य भए । १४ औं महाधिवेशन सिंहले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । सिंहलाई साथमा गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताको साथ छ । सुजाताले सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी छन् । सिंहले लोकप्रिय युवा नेता विश्वप्रकाश शर्माको पनि साथ पाएका छन् । काँग्रेस प्रवक्ता समेत रहेका शर्मा सिंह प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका छन् ।

सिंह र सुजाता एक ठाउँमा आउने कुराले २०१२ सालको काँग्रेस महाधिवेशन सम्झाएको छ । २०१२ माघमा वीरगञ्जमा सम्पन्न महाधिवेशनमा सुवर्ण शमशेरले गणशेमान सिंहलाई पराजित गरेका थिए । तर त्यतिबेला सुवर्णको पक्षमा बीपी र गणेशमानको पक्षमा गिरिजा उभिएका थिए । यसपटक कोइराला परिवारबाटै शेखरले सभापतिमा उम्मेदवारी दिए पनि सुजाताचाहिँ सिंहको पक्षमा उभिएकी छन् ।

डा. शेखर कोइराला

बुवा केशवप्रसाद कोइराला र आमा नोना कोइरालाका छोरा डा. शेखरको जन्म कोइरालाको जन्म २००७ भदौ ९ गते विराटनगरमा भएको हो । चिकित्सा पेसामा पेन्सन प्राप्त गर्न एक वर्ष मात्र बाँकी रहँदा ०५१ बाट शेखर पूर्णकालीन राजनीतिमा होमिए ।

राजनीतिक परिवारमा जन्मिएका शेखर नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा ११ औं महाधिवेशनबाट प्रवेश गरेका थिए । १३ औं महाधिवेशनमा लोकप्रिय मतका साथ एक नम्बरमा उनी सदस्य निर्वाचित भएका थिए ।

पार्टी वरीयतामा ३५ औं नम्बरमा रहेका शेखरको अहिलेसम्म पार्टी पदाधिकारी र मन्त्री पदमा प्रवेश भएको छैन । पार्टी पदाधिकारी नै नभई उनी सिधै सभापतिको उम्मेदवार भएर मैदानमा उत्रिएका छन् ।

शेखरलाई वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाको समर्थन छ । यद्यपि उम्मेदवारी दर्तामा शेखरका साथमा उनीहरु देखिएनन् । यता काँग्रेसको चर्चित युवा पंक्ति पनि शेखरको साथमा छ । गगन थापादेखि धनबहादुर गुरुङ, चन्द्र भण्डारी हुँदै बन्द्री पाण्डेसम्म शेखरको टीममा समेटिएका छन् । उर्जावान टीम बोकेर उनी सभापतिको दौडमा उत्रिएका छन् । पौडेल समूहबाट सिंह र सुजाता अलग्गिए पनि डा. शेखर पूर्ण टीम तयार पार्न सफल भएका छन् ।

कल्याण गुरुङ

नेपाली काँग्रेसका पुराना नेता बसन्त गुरुङका छोरा कल्याण गुरुङको जन्म २०२६ मा महोत्तरीमा भएको हो । २०४५ सालबाट राजनीतिमा सक्रिय भएका कल्याण नेविसंघ हुँदै काँग्रेसको राजनीतिमा आएका हुन् ।

उनी नेविसंघमा गोविन्द भट्टराई नेतृत्वको कमिटीमा केन्द्रीय सदस्य थिए भने विश्वप्रकाश शर्मा नेतृत्वको कमिटीमा सहमहामन्त्री बने । काँग्रेस विभाजन हुँदा देउवा निकट नेविसंघको सभापति निर्वाचित भए । विगतमा देउवा निकट गुरुङ काँग्रेस एकीकृत भएपछि टाढिएका थिए ।

गुरुङलाई तत्कालीन सभापति सुशील कोइरालाले केन्द्रीय समितिमा मनोनित गरेका थिए । १३ औं महाधिवेशनमा पौडेल समूहबाट जनजाति कोटामा केन्द्रीय सदस्य जितेका गुरुङ १४ औँमा सभापतिको उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप