शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के हो मानसिक रोग, कसरी छुटकारा पाउने ?

आइतबार, २६ मङ्सिर २०७८, ०७ : ०७
आइतबार, २६ मङ्सिर २०७८

मस्तिष्कसँग सम्बन्धित मानसिक रोग पछिल्लो समय जो कोहीका लागि एउटा ठुलो समस्या बनेको छ । एन्जाइटी, डिप्रेसन जुनसुकै उमेर समूहका व्यक्तिले भोग्दै आएको मानसिक समस्या हो । एक अध्ययनअनुसार हरेक पाँच जनामध्ये एक जनामा कुनै न कुनै प्रकारको मनोरोग पाइने गरेको छ । मानसिक रोग विभिन्न प्रकारका हुन्छन् । यसबाट छुटकारा पाउन कुनै पनि खालको उपचारात्मक पद्धतिकै आवश्यकता  हुने गर्छ ।

जो कोहीलाई हुन सक्छ

धेरै मानिसहरूको बुझाइ छ, मानसिक रोग कमजोरलाई हुन्छ तर त्यो सत्य होइन । मानसिक रोग कुनै पनि व्यक्तिको शारीरिक अवस्थासँग सम्बन्धित हुँदैन, न त यसको सम्बन्ध उसको व्यक्तित्व या गुणसँग हुन्छ ।  हरेक उमेर समूह, हरेक समुदाय, हरेक आर्थिक अवस्थाका व्यक्ति मनोरोगबाट प्रभावित हुन सक्छन् । त्यसैले, मनोरोग र मनोरोगीलाई हल्का रूपमा नलिई गम्भीरता आवश्यक छ । मानसिक रोग सामाजिक, अनुवांशिक, जैविक वातावरणीय वा मनोवैज्ञानिक धेरै कारणले हुन सक्छ ।

रोगको प्रकृति फरक

मनोरोग मानसिक स्थितिसँग सम्बन्धित भएकाले सामान्य हिसाबमा कोही मनोरोगी हिंसात्मक हुन सक्छन् । अरूलाई मात्रै होइन, आफैमाथि पनि हिंस्रक हुन सक्ने हुँदा मनोरोगीको विशेष हेरचाह अत्यावश्यक छ । तर यसो भन्दैमा मनोविकार भएका व्यक्तिहरू सधैँ हिंस्रक नै हुन्छन् भन्ने पनि होइन । मनोरोगीहरूको हिंसात्मक क्रियाकलाप रोगका कारणले हुन्छ भन्ने पनि होइन, यसमा उनीहरूले कस्तो उपचार र व्यवहार पाउँछन् भन्नेमा पनि निर्भर रहन्छ । कुनै मनोरोगी आफैमा गुमसुम रहने निकै शान्त स्वभावका पनि हुन्छन् ।

मानसिक रोगको उपचार छ

कुनै पनि रोगको उपचार सम्भव भएजस्तै मानसिक रोगको पनि उपचार छ । समयमै रोगको सही ढङ्गले पहिचान गर्न सकियो भने मानसिक रोगी पूर्ण रूपमा निको हुन सक्छन् । तिनलाई राम्रो हेरचाह र उचित सहयोग, समर्थनको आवश्यकता रहन्छ । मनोरोगीलाई मानसिक अस्पताल नै आवश्यक हुन्छ भन्ने आममान्यता छ तर मनोरोगका कतिपय अवस्थाका लागि अस्पताल आवश्यक हुँदैन । उनीहरूको सफल उपचारको सबैभन्दा महत्वपूर्ण भाग प्रियजन अनि परिवारका सदस्यहरुले कति राम्रोसंग हेरचाह गर्न सक्षम छन् भन्नेमा पनि भर पर्छ । यसको उपचार औषधिजन्य ट्याबलेट नभएर उसको उचित स्याहारसुसार नै हो ।

भ्रमबाट टाढा

नेपाली समाजमा भ्रम, अन्धविश्वास र अनावश्यक मान्यताबाट हामी ग्रसित छौँ, जसले मानसिक स्वास्थ्यलाई कमजोर तुल्याउँछ । हाम्रा धर्म, मान्यता अनि अन्धविश्वास पनि मनोरोगको एउटा कारक बनेको छ । तर हामीले यस्ता भ्रमहरूबाट छुटकारा पाउन सक्नुपर्छ । विभिन्न धार्मिक अन्धविश्वास र भ्रमका कारण पनि मानसिक रोगलाई झन् बढावा दिन्छ ।

थेरापी र परामर्श 

सामान्य अवस्थाका मानसिक रोगीहरूले उनीहरूको आफ्नो इच्छा र क्षमताका आधारमा जुनसुकै काम गर्न सक्छन् । यसले उनीहरूको अवस्था  सुधार गर्न पनि सहयोग गर्छ ।

धेरै मनोचिकित्सक यस मामिलामा थेरापी र मनोपरामर्श दिन्छन् । केही केसमा औषधि पनि चाहिन्छ । तर थेरापी र परामर्श नै बिरामीको अवस्था सुधार गर्न प्रमाणिक भएको पाइन्छ । राम्रो र स्वच्छ वातावरणमा बसेर तनाव नलिई जीवनयापन गर्न सकियो भने मानसिक रोगी भइन्न ।

सहयोग जरुरी

मनोरोग मानसिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले कतिपय अवस्थामा मनोचिकित्सकहरूको विशेष उपचारात्मक भूमिका हुने गर्छ । हरेक परिस्थितिमा हामीकहाँ अस्पताल सम्भव नभएकाले एक हेरचाहकर्ताको रूपमा परिवारका सदस्य पनि एक मनोचिकित्सकको भूमिका निर्वाह गर्न सक्छन् । सहयोगी र बुझ्ने वातावरण पनि यस्ता बिरामीको प्रमुख आवश्यकतामध्ये एक हो । उसलाई महसुस गराउनुहोस् कि तपाईं सधैँ उहाँको लागि हुनुहुन्छ । यसका लागि तपाईं आफै पनि मानसिक स्वास्थ्यसम्बन्धी सही ज्ञान राख्न आवश्यक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णा खनाल
कृष्णा खनाल
लेखकबाट थप