आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओलीको काँधमा 'बाच्छो' !

शनिबार, २५ मङ्सिर २०७८, १९ : १६
शनिबार, २५ मङ्सिर २०७८

काठमाडौँ । यतिबेला सोसल मिडियामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छाएका छन् । लिङ्देनसँगै उनको आलोचना गरेवापत केपी शर्मा ओली, प्रचण्ड र माधव कुमार नेपाल पनि चर्चामा छन् । तर, विशेष चर्चाचाहिँ केपी ओली र राजेन्द्र लिङ्देनको छ ।

गाउँका जनताले नेताहरूलाई ‘चोर’ भन्छन् भन्ने लिङ्देनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा समर्थन र विरोधका आवाजहरू मुखरित भएका छन् । राजेन्द्र लिङ्देनले सही भनेका हुन् भन्नेहरूको सङ्ख्या पनि फेसबुक र ट्विटरमा उत्तिकै व्याप्त छ । नेताप्रति जनतामा घृणा बढ्दो छ भन्ने आधारका रूपमा सामाजिक सञ्जालका प्रतिक्रियाहरूलाई लिन सकिन्छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जसरी राजतन्त्रको वकालत गरेका छन्, र कम्युनिस्ट पार्टीका नेताहरू ओली, प्रचण्ड र माधव नेपालले एक स्वरमा राजतन्त्र नफर्कने बताएका छन्, यो एउटा राजनीतिक बहसको विषय हो ।

केपी ओली र राजेन्द्र लिङ्देन दुबै झापाली नेता हुने । दुई पार्टीका अध्यक्ष रहेका उनीहरू एकअर्काप्रति अन्तरनिर्भर नेतासमेत हुन् । ०७४ को चुनावमा एकापसमा घाँटी जोडिए पनि संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्तावमाथि भोटिङ हुँदा लिङ्देन झापातिर गएर बसेपछि ओली उनीसँग चिढिएका थिए । यद्यपि लिङ्देनले बिरामी भएका कारण त्यसबेला ओलीलाई भोट दिन काठमाडौँ आउन नसकेको बताएका थिए

तर, राप्रपाका अध्यक्ष लिङ्देनलाई जसरी एमाले अध्यक्ष केपी शर्मा ओलीले जसरी ‘हिँड्न नजान्ने बाच्छो’ को संज्ञा दिए, यो अभिव्यक्तिले चाहिँ स्वयं ओलीलाई नै व्यंग्य गरेको छ । किनभने, झापाबाट ‘बाच्छा’लाई चुनाव जिताएर, बोकेर संसद् भवनसम्म लिएर आउने अरू कोही नभएर स्वयं केपी ओली नै हुन् ।

भृकुटीमण्डपबाट सुरु भएर सामाजिक सञ्जालमा व्याप्त कटाक्षको सन्दर्भ पारेर यहाँ ओली र लिङ्देनको सम्बन्धको पहेलीबारे सामान्य चर्चा गर्न खोजिएको छ :      

ओली र लिङ्देनको अन्तर निर्भरता

केपी ओली र राजेन्द्र लिङ्देन दुबै झापाली नेता हुने । दुई पार्टीका अध्यक्ष रहेका उनीहरू एकअर्काप्रति अन्तरनिर्भर नेतासमेत हुन् । ०७४ को चुनावमा एकापसमा घाँटी जोडिए पनि संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्तावमाथि भोटिङ हुँदा लिङ्देन झापातिर गएर बसेपछि ओली उनीसँग चिढिएका थिए । यद्यपि लिङ्देनले बिरामी भएका कारण त्यसबेला ओलीलाई भोट दिन काठमाडौँ आउन नसकेको बताएका थिए ।

झापा क्षेत्र नम्बर ३ बाट ०७४ को चुनाव जितेका राप्रपा नेता राजेन्द्र लिङ्देनले ४४ हजार ६१४ मत पाएका थिए । त्यहाँ नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ३१ हजार १७१ मत पाएका थिए । जबकि त्यस क्षेत्रमा एमालेको समानुपातिक मत १९ हजार ८२९ थियो । यहाँ राप्रपाको समानुपातिक मत १६ हजार १६८ थियो । यो आधारमा विश्लेषण गर्दा एमालेका करिब १९ हजार मतदाताले गाईमा भोट हालेका थिए । नेकपा एउटै भएका कारण माओवादीका मतदाताले पनि गाईमै भोट खसाएका थिए । यो क्षेत्रबाट माओवादीको समानुपातिक भोट ७ हजार ४८६ आएको थियो ।

झापा क्षेत्र नम्बर ५ बाट ०७४ को चुनाव जितेका केपी शर्मा ओलीले ५७ हजार १३९ मत पाएका थिए भने दोस्रोमा नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए । यहाँ राप्रपाको समानुपातिकतर्फको मत ९ हजार ५९ थियो । यो आधारमा विश्लेषण गर्दा राप्रपाका करिब ९ हजार कार्यकर्ताले केपी ओलीलाई मतदान गरेका थिए । नेकपा एउटै भएका कारण यो क्षेत्रबाट करिब ६ हजार माओवादीले पनि ओलीलाई मतदान गरेका थिए । माओवादीले झापा क्षेत्र नम्बर ५ मा ६ हजार ३५२ भोट पाएको थियो । 

यी दुबै क्षेत्रको गणितीय तथ्यले के प्रमाणित गर्छ भने ०७४ को आम चुनाव ओली र लिङ्देनका लागि एक–अर्कामा अन्तरनिर्भर थियो । यो अन्तर निर्भरता आगामी चुनावमा पनि अझ बढी गहिरिने देखिन्छ । किनभने–

एक– नेकपा एमाले फुटेको र ओलीको लोकप्रियता ०७४ को भन्दा साँघुरिएको हुनाले आगामी चुनाव जित्न ओलीलाई राप्रपाको झनै दरिलो साथ चाहिएको छ । राप्रपाको मुख्य नेतृत्व राजेन्द्र लिङ्देनको हातमा रहेकाले लिङ्देनलाई आफ्नो नजिक ल्याउनु ओलीको जितका लागि झन जरुरी छ ।

आगामी चुनावमा जित हात पार्नका लागि ओली र लिङ्देन दुवैले आपसमा सम्बन्ध बढाउनुपर्ने गणितीय बाध्यता देखिन्छ । तर, शुक्रबार भृकुटीमण्डपको सभाबाट दुई नेताको दुरी बढेको छ ।

दुई– महाधिवेशनबाट पार्टीको केन्द्रीय अध्यक्ष बनेका राजेन्द्र लिङ्देनका लागि पनि अब झापा क्षेत्र नम्बर ३ बाट जीत हात पार्नु अपरिहार्य छ । यो उनका लागि प्रतिष्ठाको विषय बन्न पुगेको छ । तर, एमालेको सहयोगविना यस क्षेत्रमा काँग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गर्नु लिङ्देनका चुनौतीपूर्ण छ । यिनै कारणहरूले गर्दा केपी ओली र राजेन्द्र लिङ्देन दुबैको चुनावी जितका लागि अन्तर निर्भरता गहिरो देखिन्छ ।

आगामी चुनावमा जित हात पार्नका लागि ओली र लिङ्देन दुवैले आपसमा सम्बन्ध बढाउनुपर्ने गणितीय बाध्यता देखिन्छ । तर, शुक्रबार भृकुटीमण्डपको सभाबाट दुई नेताको दुरी बढेको छ ।

ओलीभन्दा पहिले बोलेका लिङ्देनले ओलीलाई व्यक्तिगतरुपमा केही पनि आरोप लगाएका थिएनन् । उनले समग्र नेताहरूलाई गाउँमा जाँदा जनताले ‘चोर’ भन्ने गरेको मात्र बताएका थिए । बाँकी राजतन्त्रको वकालत गर्नु लिङ्देनको आफ्नो राजनीतिक लाइन नै हो । तर, ओलीले लिङ्देनलाई व्यक्तिगतरुपमै ‘बाछो’ को संज्ञा दिएर अपमानित गरे । र, यो अपमानले ओली र लिङ्देनबीचको सम्बन्धमा दरार ल्याइदियो । अब यो दरारको असर आगामी चुनावमा झापामा ओली र लिङ्देन दुबैमाथि पर्ने देखिन्छ ।

भृकुटीमण्डपमा लिङ्देनले के भनेका थिए ?

नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन समारोहमा पाहुनाका रूपमा पुगेका राप्रपा अध्यक्ष लिङ्देनले यसो भनेका थिए–

अहिले नेपालको राजनीतिमा खासगरी यो समय र यो महिना राजनीतिक दलहरूको महाधिवेशनको महिना र समयको रूपमा अगाडि बढिरहेको छ । हामीले पनि भर्खरै आफ्नो महाधिवेशन सम्पन्न गरेका छौँ । अब नेपाली काँग्रेसको महाधिवेशन सम्पन्न हुन लागेको छ । म यतिबेला सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु कि देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको अवस्थामा देखिन्छ । सरकार सरकारजस्तो छैन । संसद् संसद्जस्तो छैन । अदालत अदालत जस्तो छैन । यो सबलाई ठीक लगाउने कसले ? यो सबलाई ठीक लगाउने राजनीतिले । तर, त्यो राजनीति ठीक छैन । त्यो राजनीतिलाई कसले ठीक लगाउने ? नेताले । तर, आज नेताहरूले पूर्णरुपमा विश्वास गुमाएको अवस्था छ । नेताप्रति जनताको विश्वास मरेको अवस्था छ । मेरो गाउँको भाषामा भन्ने हो भने फलानो चौतारो वा भवनमा हाम्रो नेता आउँदै हुनुहुन्छ भन्दाखेरि मान्छेले कुन नेता आएछ भनेर नेताको नाम सम्झँदैनन् । कुन चाहिँ चोर आएछ आज त्यहाँ भन्छन् । हाम्रो अवस्था यो छ । त्यसकारण महाधिवेशन एउटा औपचारिकता पूरा गर्ने, एउटा वैधानिकता पूरा गर्ने र नेतृत्व चयन गर्ने कुरामा मात्र सीमित नरहेर नेतृत्वप्रति बिग्रेको यो छवि सुधार्ने अवसरका रूपमा पनि हामीले प्रयोग गर्न सकौँ ।

लिङ्देनले व्यक्ति विशेषलाई लक्षित नगरिकन नेताहरुप्रति जनतामा आक्रोश रहेको कुरामात्र गरेका थिए । र, आफ्नो भाषणको अन्त्यमा उनले राजतन्त्र, हिन्दुराष्ट्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गरेका थिए ।

ओलीले के भने ?

काँग्रेसको सभामा शुभकामना मन्तव्य दिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको वकालत गर्नु नागरिक स्वाभिमानको अपमान हुने तर्क गरे, जुन व्यक्तिगत नभएर राजनीतिक टिप्पणी नै हो ।

ओलीले लिङ्देनको राजनीतिक आलोचना गर्दै भने, ‘आज पनि नेपालका नागरिकहरूले नागरिक स्वाभिमान बिर्सने ? जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त अचम्म लाग्छ ! जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मानेर कोही जन्मिँदै यस्तो शासक भएर जन्मिन्छ भन्ने यस्ता निराधार सिद्धान्त, संयुक्त राष्ट्र संघका मान्यता भन्दा विपरीतका सिद्धान्त, खासगरी भन्ने हो भने नागरिक स्वाभिमानको विपरीत सिद्धान्त नागरिक स्वाभिमान नै छोड्दिने ? अनि नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने ?’

यतिसम्म ओलीको टिप्पणी सामान्य नै थियो, तर उनी एक कदम अगाडि बढेर व्यक्तिगत एवं अपमानजनक आरोपमा उत्रिए । ओलीले लङदेनलाई ‘बाछो’ को संज्ञा दिँदै भने, ‘हुन त भर्खर–भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई । त्यस रापतापमा अलिकति.... । भर्खर–भर्खरको बाछो हिँड्न जान्दैन, अलिकति कुद्छ क्या ! नयाँ–नयाँ सभापति भएको, अलिकति रापताप होला । अलिक समयमा ठीक आउला भन्ने मलाई लाग्छ ।’      

ओली नै हुन् लिङ्देनलाई बोकेर हिँड्ने !

एमाले अध्यक्ष केपी ओलीले शुक्रबार ‘अचम्म लाग्छ ! नागरिक स्वाभिमानविपरीत जन्मसिद्ध श्रेष्ठताका कुरा बोकेर हिँड्ने ?’ भन्दै राजेन्द्र लिङ्देनलाई मञ्चबाटै गाली गरे पनि स्वयं राजेन्द्र लिङ्देनलाई बोकेर हिँड्ने चाहिँ अरु कोही नभएर केपी ओली नै हुन् । ०७४ सालमा नेकपाको पार्टीगत निर्णयविनै ओलीले राजेन्द्र लिङ्देनलाई बोकेर हिँडेको इतिहास यतिबेला सम्झन लायक छ ।

किनभने, झापा ३ मा काँग्रेसको समानुपातिक मत २५ हजार ७१५ र राप्रपाको १६ हजार १६८ मात्र देखिन्छ । तर, ओलीले आफ्नो पार्टीको एकल मत १९ हजार हुँदाहुँदै १६ हजार मत भएका राजेन्द्र लिङ्देनलाई बोके र गाईमा भोट हाल्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।

यसका लागि ओलीको राप्रपा प्रेम हेरौँ–

राजेन्द्र लिङ्देनले जितेको झापा क्षेत्र नम्बर ३ बाट ०७४ को चुनावमा नेपाली काँग्रेसले पाएको मत ३१ हजार १७१ मत हो । त्यस क्षेत्रबाट एमालेले १९ हजार ८२९ मत पाएको थियो भने माओवादीले ७ हजार ४८६ पाएको थियो । नेकपाको यो मत जोड्दा २७ हजार ३१५ मत पुग्थ्यो । केपी ओलीको गलत नीतिका कारण कैयौं कम्युनिस्ट कार्यकर्ताले गाईमा भोट हालेका थिएनन्, त्यसैले नेकपाले लिङ्देनलाई नसघाएर आफ्नै उम्मेदवारी दिएको भए त्यहाँबाट नेकपाको जित हुन सक्थ्यो । नेकपाले नजितेको भए राप्रपाको साटो काँग्रेसले जित्ने निश्चित थियो ।

किनभने, झापा ३ मा काँग्रेसको समानुपातिक मत २५ हजार ७१५ र राप्रपाको १६ हजार १६८ मात्र देखिन्छ । तर, ओलीले आफ्नो पार्टीको एकल मत १९ हजार हुँदाहुँदै १६ हजार मत भएका राजेन्द्र लिङ्देनलाई बोके र गाईमा भोट हाल्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीमा समेत निर्णय नगरी गाईमा भोट हाल्ने ओलीको यही एकल निर्णयका कारण लिङ्देनले प्रतिनिधिसभामा जित हात पारे । र, अहिले राप्रपाको अध्यक्ष जिते ।

अन्ततः एउटा अनुत्तरित प्रश्न स्वयं केपी ओलीतिरै फर्किएको छ–  अचम्म लाग्छ ! नागरिक स्वाभिमान बिर्सने, जन्मसिद्ध श्रेष्ठता (राजतन्त्र) को वकालत गर्ने राजेन्द्र लिङ्देनलाई केपी ओलीले झापादेखि काठमाडौँसम्म किन बोकेर हिँडेका होलान् ?  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप