शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेलले कुनैपनि पदमा दिएनन् उम्मेदवारी

शनिबार, २५ मङ्सिर २०७८, १७ : १०
शनिबार, २५ मङ्सिर २०७८

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी दिएनन् । निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयमा पौडेलले कुनै पनि पदमा उम्मेदवारी नदिएका हुन् । पौडेल यसअघि सभापतिको आकांक्षी थिए भने आफ्नो समूहमा सहमति नभएर विभाजन आएपछि कुनैपनि पदमा उम्मेदवारी दर्ता नगराएका हुन् । 

आजै एक विज्ञप्तिमार्फत पौडेलले १४ औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट आफू अलग भएको बताएका थिए । उनले राष्ट्रिय राजनीतिमा भने आफ्नो भूमिका रहिरहने प्रस्ट पारेका थिए ।  पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने थलोमात्र नभएर यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिन आवश्यक हुने उनले बताएका छन् । ‘म नेपाली काँग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु,’ पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।

काँग्रेसमा अहिले विचलन आइरहेको अनुभव आफूले गरेको पनि उनले खुलाएका छन् । ‘पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो,’ उनले भनेका छन्, ‘त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेको छ ।’

संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको पौडेलको टिप्पणी छ । ‘चौधौं महाधिवेशनमा आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छ, प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नुपर्ने अवस्थामा म पुगेँ,’ उनले भनेका छन्, ‘तथापि एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडि नै रहनेछु ।’

यस्तै कृष्णप्रसाद सिटौला, परराष्ट्रमन्त्री डा.नारायण खड्काले पनि कुनै पदमा उम्मेदवारी दर्ता गराएनन् । यस्तै यसअघि सभापतिको आकांक्षी रहेका महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप