शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट भन्या के चैं रहेछ ?

शनिबार, २५ मङ्सिर २०७८, १५ : १८
शनिबार, २५ मङ्सिर २०७८

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले हालै रातोपाटी अनलाइनको एउटा अन्तरवार्तामा ‘फूर्ति लगाउनेहरुभन्दा म चर्को कम्युनिस्ट हुँ !’ भन्ने अभिव्यक्ति दिएपछि मलाई यो ब्लग लेख्न मन लाग्यो । नेपालमा जनयुद्ध सुरुवातीको बेलादेखि राजनीतिमा चासो दिन थालेको थिएँ । मलाई लाग्छ, त्यतिबेला मलाई मात्रै होइन, राजनीतिक दलको बारेमा चर्चा गर्दा कि कांग्रेस कि कम्युनिस्ट दुईटा मात्र दलको बखान हुन्थ्यो । मेरो टोलमा पनि कि कांग्रेस हुन्थे, कि त कम्युनिस्ट । त्यसैले, राप्रपा, सद्भावना जस्ता दलको चर्चा नै हुन्थेन ।

त्यतिबेला चुनावको बेला कम्युनिष्टहरुले जनतामा बाँड्ने सपनामध्ये निःशुल्क शिक्षा र स्वास्थ्य त प्रमुख हुन्थे, अझ राजा र रैतीको हैसियत बराबरको सपना दिनरात देखाउँथे । म मात्र हैन, म जस्ता मध्यमवर्गीय परिवारका हरेक मान्छे छक्क पर्दै भन्थे, ‘हे भगवान, कम्युनिस्टको शासन आईदिओस् ।’

सरकारी स्कुलको न्यून परीक्षा शुल्क तिर्न नसकेर पढाइ छाडनेहरुलाई कम्युनिस्ट शासनमा निःशुल्क शिक्षाको सपना देखाएर कम्युनिस्टको सदस्य बनाउँथे, रोगले मर्नेहरूका परिवारबाट निःशुल्क स्वास्थ्यको नारा घन्काउँथे । कम्युनिस्ट शासन ब्यवस्था आएपछि गरिब र धनीबीचको खाडल पुरिने सपना सबैले देखेकै थियौ त्यतिबेला ।

‘जग्गा जोत्नेको हुनुपर्छ’ भनेर जमिन्दारका जग्गा कब्जा गर्दै रातो झण्डा गाडेर हिँड्ने कमरेडहरु अझै जिउँदै छन् । त्यतिबेला देश बिगार्ने अरु नै रहेछन्, देश बनाउने कम्युनिस्ट मात्रै हुन भनेर म आफै पनि सोच्थे । तर, ‘बुर्जुवा शिक्षा चाहिँदैन’ भन्दै पढाइ छाडेर ‘बोर्डिङ स्कुल बन्द गर’ भन्ने नारा घन्काउँदै निजी स्कुलमा ताला ठोक्नेहरू अहिले पछुताउँदै कि खाडीतिर छन्, कि त परिवार पाल्न सामान्य कुटेखेलोमा होमिएका छन् ।

कम्युनिष्टहरुले जनतालाई देखाउने वर्गीय समानता अन्तर्गत निःशुल्क स्वास्थ्यको नारा पनि हुन्थ्यो । ‘यहाँ रोगले छट्पटाउँदै कोही मर्नुपर्ने छैन’ भन्दै चौतारोमा कम्युनिस्टहरु घोक्रो सुक्ने गरेर चिच्याउँदै भाषण ठोक्थे । हामी पररर ताली पिटेर मख्ख पर्थ्यौं । रोग लागे उपचार गर्ने सरकार आईदिओस् भन्दै सूर्यतर्फ फर्केर कोटी कोटी प्रणाम गर्दै भनिन्थ्यो, ‘कम्निष्टको सरकार आइदिओस् प्रभु !’  

निःशुल्क शिक्षा स्वास्थ्य र वर्गीय समानताको नाराले नेपाली जनतामाझ कम्युनिस्ट यति प्यारो भैदियो कि जसलाई भेट्यो, उही कम्युनिस्ट । कम्युनिस्टले शासन गरेकै कारणले होला, एकजना नेपालीलाई रोजगारी नदिने, विना भिसा छिर्न नदिने चीन हाम्रा लागि निक्कै प्यारो थियो तर रोजगारीलगायत धर्म, परम्पराजस्ता अनेक कुरामा समानता भएको भारत दुस्मनको पहिलो लिस्टमै पर्दियो । साम्राज्यवाद र पुँजीवादको अर्थ थाहा नहुने उमेरमै भारत र अमेरिकाको घनघोर विरोधी भइयो । कारण कम्युनिस्टप्रतिको भरोसा नै होला सायद ।

०००

मेरो उमेर बढदै गयो, भगवानलाई पुकारेजस्तै कम्युनिस्टहरूको पहुँच शासन सत्तासम्म पुग्यो । तर अवस्था उस्तै । बुर्जुवा शिक्षा भन्दै लात हानेको पढाइको प्रमाणपत्र नहुँदासम्म जागिर पाइएन । कब्जा गरिएका जग्गा कसका भए थाहा भएन । तर, आफ्नै पाखोबारी नबेच्दासम्म परदेश जाने हैसियत बनेन । हाम्रा लागि निःशुल्क उपचारको त सपना मात्रै भयो । जसले परिवर्तनको लागि भन्दै लड्यो, उसकै उपचारको समेत सरकारले जिम्मा लिएन ।

वर्गीय समानताको निम्ति भन्दै लड्नेहरू धमाधम खाडी छिर्न थालेपछि म पनि परदेशिन बाध्य भएँ । अनि बल्ल देखेँ, असली कम्युनिस्ट शासन कस्तो हुँदो रहेछ भनेर ।

यसै सन्दर्भमा विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले रातोपाटीको हालैको अन्तरवार्तामा ‘फूर्ति लगाउनेहरुभन्दा म चर्को कम्युनिस्ट हुँ !’ भनेको एकदमै सहि हो जस्तो लाग्यो । किनकी नेपालका कम्युनिस्टको भनाई र गराई एकदमै फरक रहेछ । व्यवहारिक तरिकाले मै हुँ भन्ने हिजोका कम्युनिष्टहरुको हैसियत हामीले आज देखिसक्यौ ।

हिजो अलिकति हुने खाने वर्गलाई शोषक र सामन्ती देख्ने तिनै कम्युनिस्टका नेताहरु अहिले राजकीय ठाँट्बाटका साथ जनतासामु प्रस्तुत हुन्छन् । अनि, कसरी पत्याउनु कि ती सच्चा कम्युनिस्ट हुन् भनेर ? जनताको बोली बोल्न नसक्ने, जनताको पक्षमा उभिन नसक्ने पनि कम्युनिस्ट हुन्छन् र ? साँच्चै भन्ने हो भने ती तमाम मै हुँ भन्ने कम्युनिस्ट भन्दा त रविन्द्र मिश्र खुंखार कम्युनिस्ट हुन्, जो जनताको बोली बोल्दैछन् ।

शिक्षा, स्वास्थ्य निःशुल्कको गफ लगाएर शासन सत्ता सम्हालेका नेपाली कम्युनिस्टका नेताहरु कैयौ पटक उपचारको नाममा राष्ट्रको ढुकुटी रित्याउदै थाईल्याण्ड, सिंगापुर उड्छन् । तर जनता सिटामोल नपाएर छटपटाउँदै मर्छन् ।

जबकि कम्युनिस्टको शासन नभएको मुलुक अमेरिकामा मान्छेको बाँच्न पाउने अधिकार पहिलो प्राथमिकतामा पर्छ । बिरामीको पहिले उपचार गरिन्छ, अनि बल्ल हिसाब किताबको कुरा आउँछ । सक्नेले नबोली तिर्छ, नसक्नेले आफ्नो हैसियत सम्बन्धित निकायमा प्रस्तुत गर्छ, अनि मिनाहा पाउँछ । तर खल्तिमा दाम छैन भनेर अस्पतालको पहुँचसम्म नपुगी छटपटाउनु पर्दैन ।

सडकमा बसेर भीख माग्नेको पनि त्यही अस्पतालमा उपचार हुन्छ, जहाँ करोडपतिको उपचार हुन्छ । बार्षिक आम्दानीको हिसाब उसले तिर्ने करबाट सरकारलाई थाहा भएकै हुन्छ । अनि अस्पतालको बिल तिर्न सक्नेलाई तिराउँछ, नसक्नेको मिनाहा गरिदिन्छ ।

बुर्जुवा शिक्षा हटाई व्यवहारिक शिक्षा लागू गर्ने सपना बाँडेको नेपाली कम्युनिस्टहरु आफू मात्र परिवर्तन हुन सके । तर, शिक्षामा कुनै परिवर्तन ल्याउन सकेनन् । बरु उनै नेताले शिक्षामा लगानी गरेर शैक्षिक माफिया बन्ने सु–अवसर प्राप्त गरे । उता कम्युनिस्ट शासन नभएको अमेरिकामा माध्यमिक तह सम्मको शिक्षा पुर्ण निशुल्क छ ।

त्यसपछिको शिक्षामा पनि सरकारको सहयोग रहिरहन्छ । उसले उच्च शिक्षा अध्यन गर्न चाह्यो भने बाउ आमाको मुख ताक्नु पर्दैन, भएको खेत बेचेर सन्तान पढाउनु पर्दैन ।  जिम्मेवारी फेरि पनि सरकारले नै लिन्छ । कि ऋण दिन्छ, कि त छात्रवृत्ति ।

मुखले मात्र आदर्श बाँडेर कम्युनिस्ट भन्दै गफ दिने नेताहरुले कम्युनिस्टको चरित्र कहिले देखाउने हुन् ?  साच्चै ! कम्युनिस्ट भनेको चै के रहेछ त ? न वर्गीय समानता देखियो, न त शिक्षा–स्वास्थ्य जस्ता बिषयमा कम्युनिस्टका नेता पछिसम्म लडिरहे ।

कम्युनिस्टले शासन नगरेका देशमा आएर कम्युनिस्टले बाँडेका सपनाजस्तै व्यवहार भोगियो । अनि कसरी पत्तो लगाउने त ! आखिर कम्युनिस्ट भन्या चै के रैछ ? जनतामा झुठा आश्वासन बाँडेर आफू सत्तामा पुग्न सिँढी निर्माण गर्ने भुइँफुट्टा नेतालाई नेपालमा कम्युनिस्ट पार्टीको वरिष्ठ नेता भनिन्छ जस्तै लाग्छ अचेल । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपक घिमिरे
दीपक घिमिरे
लेखकबाट थप