बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको महाधिवेशनमा पैसाको बाढी : उम्मेदवारको खर्च लाखदेखि करोडसम्म !

शनिबार, २५ मङ्सिर २०७८, ११ : ४२
शनिबार, २५ मङ्सिर २०७८

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुँदै थियो । उद्घाटनका बेला अतिथि तथा पार्टीका नेताको भाषण सुन्ने प्रचलन भए पनि काँग्रेस महाधिवेशनमा उम्मेदवारी दिने तरखर गरेका केही नेताहरू चुनाव प्रचार–प्रसारमा कस्सिइसकेका थिए ।

अधिकांश उम्मेदवारका प्रत्याशी नेताहरूले आफ्नो प्रचार सामग्री वितरण गरिरहेका थिए भने केहीले त विभिन्न झाँकीसहित आफ्नो प्रचार थाले । महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका ओमबहादुर घर्तीले मगरको संस्कृति कोडा नाँचको झाँकी निकाल्दै पोष्टर बोर्डका साथ भोटका लागि आफ्नो प्रचार गरिरहेका थिए ।

उता ठेकेदार तथा प्रतिनिधि सभामा सांसद समेत काँग्रेस नेता जिपछिरिङ लामाको पक्षमा एउटा समूह नारा लगाउँदै हिँडिरहेको थियो । उनीहरुले काँग्रेसका ३ वटा गुटका नेताको चाहना केन्द्रीय सदस्यमा जिपछिरिङ लामा रहेको नारा लगाइरहेका थिए ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका काँग्रेसका युवा नेता तथा पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणा पनि दलबलसहित महाधिवेशन प्रतिनिधिसँग हात जोडेर भोट माग्न थालिसकेका थिए । उनले भृकुटीमण्डपमा आफ्नो सम्पर्क कार्यालय समेत खोलेका छन् ।

भृकुटीमण्डपको बगैँचा छिर्ने गेटमा आफ्ना उम्मेदवारीको पोष्टर छातीमा झुन्ड्याएर ४ जना सहयोगी सहित भोट मागिरहेका थिए क्षितिज भण्डारी । धनगढीबाट काँग्रेस महासमिति सदस्यमा निर्वाचित उनी सहित सहयोगी नमस्कार गर्दै चुनावी प्रचार सामग्री बाँढिरहेका थिए । महाधिवेशन प्रतिनिधिका लागि आफूले १० हजार थान ढाका टोपी बाँडेको पनि उनले सुनाए । केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका उनले चुनावमा आफ्नो डेढ लाख सम्म खर्च लाग्ने बताए ।​

उम्मेदवारको चुनाव खर्च : लाखदेखि करोडसम्म  

काँग्रेस महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरूले ठूलो रकम खर्च गरिरहेका छन् । उनीहरूको प्रचार शैली, कार्यकर्ताहरूको परिचालन लगायतमा खर्च हुने उम्मेदवारी दिने तयारीमा रहेका एक नेताले बताए । उनका अनुसार महाधिवेशनका उम्मेदवारले आफ्नो हैसियत अनुसार लाखदेखि करोडसम्म खर्च गर्ने बताए ।

उम्मेदवारहरूले आफ्नो क्षेत्रका महाधिवेशन प्रतिनिधिका लागि प्लेन टिकट, खाना, बसोबासको व्यवस्था, ट्याक्सी खर्च, प्रचार प्रसारमा लगायतमा निकै खर्च हुने उनले बताए ।

उनले भने–‘निष्ठाको राजनीति गर्नेले अब चुनावमा उठ्ने जमाना रहेन् । चुनाव जित्न सम्पर्क कार्यालय खोल्नुपर्‍यो, कार्यकर्ता पाल्नुपर्‍यो, खाजा खुवाउनुपर्‍यो । कतिले त चुनाव  जित्न पैसा समेत बाढ्ने गर्छन् ।’

हाल गण्डकी प्रदेशको विना विभागीय मन्त्री रहेका तनहुँका काँग्रेस नेता दोबाटे विश्वकर्माले दलित समावेशी कोटाको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदैछन् । उनले प्रचार प्रसारका लागि ३ हजार प्रति सानो कार्ड छापेका छन् भने छातीमा कार्यकर्ताले झुन्ड्याएर हिँड्ने ५० वटा कार्ड छपाएका छन् ।

उम्मेदवारको प्रचार प्रसारमा हिँड्ने कार्यकर्ताका लागि सुन्धाराको दर्शन होटलमा ६ वटा कोठा बुक गराएका छन् । उनको उम्मेदवारीको प्रचार गर्दै हिँडेका विश्वकर्माका एक कार्यकर्ताले महाधिवेशनमा कम्तिमा २ लाख खर्च हुने बताए ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का सांसद समेत रहेका काँग्रेस नेता राजन केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछन् । उनले पनि आफ्नो उम्मेदवारीको आक्रामक रूपमा  प्रचार थालेका छन् ।

शुक्रबार भृकुटीमण्डपमा उनका कार्यकर्ताहरू प्रचण्डलाई चुनाव हराएको व्यक्तित्वलाई केन्द्रीय सदस्यमा जिताउन भन्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका थिए ।

उनको प्रचारका लागि डेढ सय कार्यकर्ता महाधिवेशनमा खटिएका छन् भने १ सय जनाले उनको फोटो भएको ज्याकेट लगाएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ र १० मा महाधिवेशन प्रतिनिधिलाई स्वागत गर्दै केसीको फोटोसहित २१ वटा गेट निर्माण गरिएको छ । उनले बनाएको एउटै स्वागत गेटको ३५ हजार हाराहारी परेको छ । केसीको चुनाव प्रचार प्रसारमा १० लाख रुपैयाँ हाराहारी खर्च हुनसक्ने अनुमान गरिएको छ ।

काँग्रेस नेता पूर्ण बानियाँले नेता कार्यकर्ताहरूको सहयोगमा केसीलाई चुनाव जिताउन विभिन्न खालका सहयोग भइरहेको बताए ।

उता पूर्वगृहराज्यमन्त्रीसमेत रहेका काँग्रेस नेता देवेन्द्रराज कँडेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछन् । उनले आफ्नो उम्मेदवारी प्रचारका लागि आफूले लेखेको पुस्तक ‘बोनसको जीवन’ वितरण गरिरहेका छन् । माओवादी युद्धका बेला आफूले भोगेका कुराहरु कितावमा रहेको उनले बताए ।

उनको चुनाव प्रचारका लागि महाधिवेशन प्रतिनिधिहरु नै खटिएकाले कम खर्च लाग्ने बताए । उनले भने, ‘बाहिरबाट छुट्टै मान्छेहरू ल्याएर चुनाव प्रचार गर्ने हो भने धेरै खर्च लाग्छ । मेरो चुनाव त महाधिवेशन प्रतिनिधिहरूले नै गर्नुभएकोले धरै खर्च लागेको छैन । आफैले लेखेको कितावपनि बाँडिरहेको छु ।’

उनले निर्वाचन आचारसंहिता विपरीत महाधिवेशन भइरहेको स्थानमा उम्मेदवारका ब्यानर टाँसिएको पनि गुनासो गरे ।

नेता कँडेलले भनेजस्तै यतिबेला काठमाडौँको भृकुटीमण्डपको भुँई र भित्ताहरू नेताहरूको प्रचार सामग्रीले छपक्कै छोपिएको छ । अन्य विभिन्न संघ संस्थाको कार्यालयलाई महाधिवेशनका उम्मेदवारहरूले आफ्नो अस्थायी सम्पर्क कार्यालय बनाएका छन् ।

यस्तो छ उम्मेदवारी दर्ता शुल्क

काँग्रेसको महाधिवेशनमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यका लागि फरक फरक उम्मेदवारी शुल्क तोकिएको छ । सभापति पदका उम्मेदवारका लागि ३० हजार रुपैयाँ, उपसभापति तथा महामन्त्रीका लागि २५ हजार रुपियाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपियाँ शूल्क तोकिएको छ ।  यस्तै केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १० हजार रुपियाँ उम्मेदवारी शुल्क तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप