शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकैदिन ५८ हजार बढी सङ्क्रमित

शनिबार, २५ मङ्सिर २०७८, ०७ : १६
शनिबार, २५ मङ्सिर २०७८

लन्डन । बेलायतमा पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम निरन्तर जारी छ । गएको २४ घण्टामा झन्डै ६० हजार सङ्क्रमित थपिएका छन् ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५८ हजार १९४ सङ्क्रमित फेला परेका छन् । यो सङ्ख्या गत जनवरी यताकै  धेरै हो । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ ।

यसैगरी पछिल्लो समयमा निकै घातक मानिएको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को सङ्क्रमण पनि दैनिक रूपमा बढ्दै गइरहेको छ । डेल्टा भाइरस भन्दा तीव्र रूपमा ओमिक्रोनको सङ्क्रमण बढ्ने गरेको यूके हेल्थ सेक्युरिटी एजेन्सीले बताएको छ । पछिल्लो २४ घण्टामा मात्र थप ४४८ जनामा ओमिक्रोनको पुष्टि भएको छ । योसँगै बेलायतमा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या एक हजार २६५ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घण्टामा १२० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ ।  हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४६ हजार २५५ पुगेको छ ।

त्यस्तै कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ८३९ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ७ हजार ४१३ रहेको छ । यस्तै नौ सय  सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ६६ हजार ५४० डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १२ लाख ७ हजार ४९६ जना अर्थात् ८९ प्रतिशतले खोपको पहिलो डोज र चार करोड ६६ लाख ७४ हजार ६१ जना अर्थात् ८१.२ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी खोपको तेस्रो अर्थात् बुस्टर डोज लगाउनेको सङ्ख्या दुई करोड २१ लाख ८४ हजार ९८३ अर्थात् ३७.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा चार लाख ६९ हजार भन्दा बढीले बुस्टर डोज लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप