६२ वर्षे काँग्रेस कार्यकर्ता : नेता चिन्दैनन्, मात्र पार्टी चिन्छन् ! (भिडियोसहित)

काठमाडौँको भृकुटीमण्डप जहाँ काँग्रेस महाधिवेशन चलिरहेको छ । महाधिवेशन उद्घाटनका लागि तयार महँगो मञ्चदेखि ठिक पूर्वपट्टि भृकुटीमण्डप बगैँचा छ । त्यही बगैँचाको एक छेउमा बसेका थिए कर्णसिंह नेपाली ।
मङ्सिरको चिसो मौसममा लोभलाग्दो घाम तापेर बदाम कुटुकुटु पार्दै बसिरहेका नेपाली काठमाडौँका नयाँ पाहुना हुन् । उमेरले ६२ वसन्त पार गरेका नेपाली काठमाडौँ खुवै मन पराउँथे तर आजसम्म आउने मौका जुरेको रहेनछ । मुगु जिल्ला शोरु गाउँपालिकाकाका नेपाली काठमाडौँ देख्न/हेर्न पाउँदा हर्सित छन्।
उमेरले ६२ वसन्त कट्दा पनि काठमाडौँ आउने अवसर नजुरेका नेपालीलाई काँग्रेसको १४ औँ महाधिवेशनले त्यो अवसर जुटाइ दियो । उत्साहित हुँदै सुनाए , ‘६० र २ वर्षको भया हुँ हजुर, काठमाडौँमा नयाँ हुँ।’
उनी काँग्रेस महाधिवेशनका लागि कुनै प्रतिनिधि होइनन्, काँग्रेसको गाउँ स्तरीय संगठनमा पनि उनी कुनै पदमा छैनन् । उनीसँग कुनै प्रतिनिधिलाई जिताउनु पर्छ, हराउनु पर्छ भन्ने उद्देश्य छैन । तर, उनलाई काँग्रेस मन पर्छ ।
‘म सानो हुँदादेखि नै काँग्रेस चिन्छु, पढे लेखेको छुइन त्यसैले अहिलेसम्म कसरलाई कति पटक भोट हालेँ थाहै छैन तर ५५ वर्षदेखि काँग्रेस जान्दछु,’ उनी सुनाउँदै जान्छन्, ‘को प्रतिनिधि केमा उम्मेदवार छन् मलाई थाहा छैन। चिनेको पनि छैन । को उठ्ने हुन् के गर्ने हुन् त्यो पनि थाहा छैन।’
उनीसँग काँग्रेस मन पर्नुको कारण छैन, काँग्रेसको नेतृत्व तहमा बसेका नेताहरूका बारेमा पनि उनी अनजान छन् । मात्रै ५५ वर्षदेखि जानेको काँग्रेससँगको सम्बन्ध उनकालागि प्रिय छ। ‘ठूलासाना कोही नेता चिन्दिनँ म। उहीँ जिल्लाका नेता अलिअलि चिन्छु।’
हाल देशमा प्रधानमन्त्री को छ भन्ने कुरा पनि उनलाई राम्रोसँग थाहा छैन । कुन नेता सभापति बन्दा के हुन्छ भन्नेमा पनि उनी बेपरवाह नै छन् । कसैले नाम लिइहाल्यो भने प्रधानमन्त्री शेरबहादुर देउवा उनी चिन्छन् तर पार्टीको सभापतिप्रतिको सहानुभूति समेत उनीमा छैन । भन्छन्, ‘सभापति भएर देउवाले केही गर्या होइन बरु हाम्रै जिल्लाका नेता खड्गबहादुर शाही सभापति भइदिए केही हुन्थ्यो कि !’
काँग्रेस भित्र नीति र नेतृत्वको बहस भइरहन्छ। गुट उपगुटको राजनीतिले काँग्रेस गाँजिएको छ। यो विषयमा उनलाई चासो छैन तर, जिज्ञासा राख्दा भन्छन्, ‘काँग्रेस बिग्रिएको होइन यो त सिङ्गो अनि राम्रो पार्टी हो तर, यहाँ व्यक्ति बिग्रिएका छन् । पार्टीलाई दोष दिनु हुन्न नि।’
मुगुबाट काठमाडौँ आए अब घर जानु छ उनलाई । घरमा भएका ८ जना अरू सदस्यलाई काठमाडौँको सौदा पनि लानु छ। फिस्स मुस्कुराउँदै भन्छन् ‘श्रीमतीलाई साडी, चोलो सल लान मन छ, केटाकेटीलाई केही खानेकुरा लानु छ। काठमाडौँको कोसेली त लानु पर्यो नि।’
गाउँबाट काठमाडौँ आइपुग्दा उनले निकै खर्चिसकेका सुनाए । ‘मुगुबाट काठमाडौँ आएर खाने बस्ने गर्दा ५०/६० हजार सकिसक्यो । पार्टीले दिन्छ कि दिँदैन थाहा छैन तर, अब घर जान भने चिन्ता परेको छ,’ पुनः थप्छन् ‘अब पार्टीले जहिले घर लान्छ त्यतिबलै जाने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी
-
थुनामा रहेका ४ भुटानीलाई देश निकाला नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
-
दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले
-
काठमाडौँ विश्वविद्यालयसँग सहमतिपछि अखिल क्रान्तिकारीको आन्दोलन फिर्ता
-
रामबहादुर बमजनले पाए सफाइ
-
श्रीमानकै योजनामा चुनुकुमारीको हत्या, धरानको जंगलमा भेटिएको थियो शव