बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सम्वृद्धिको बाधक कम्युनिष्ट र काँग्रेसको अर्थनीति : डा.भट्टराई

शुक्रबार, २४ मङ्सिर २०७८, २० : ४६
शुक्रबार, २४ मङ्सिर २०७८

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशको सम्वृद्धिका लागि कम्युनिष्ट र काँग्रेसको अर्थ नीति नै बाधक भएको बताएका छन् ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय तथा कृषि प्रदर्शनी केन्द्रको पोखरामा शुक्रबार उद्घाटन गर्दै उनले काँग्रेस र कम्युनिष्टले आफु अनुकूलको अर्थनीतिमा चल्न खोजेकाले आर्थिक सम्वृद्धि हासिल गर्न नसकेको आरोप लगाए । उनले भने,‘एउटा पार्टीले राज्यले सबै क्षेत्र हेर्नुपर्छ भन्छ ।

अर्कोले अर्थतन्त्रलाई खुल्ला छाडेर स्वचालित रुपमा चल्न दिनुपर्छ भन्छ । दलै पिच्छेको फरक नीति नै देशको अर्थतन्त्र सबल बनाउनका लागि बाधक भयो ।’ उनले सम्वृद्धिको आधार कृषि, उद्योग र सेवा नै भएको बताउँदै प्रतिस्पर्धी बजारमा खरो उत्रिनका लागि राज्यले कृषिमा अनुदान बढाउनुपर्ने बताए । 

डा.भट्टराईले नेपालमा सानो लगानी र परम्परागत पद्धतिबाट उत्पादन गर्दा महङ्गो पर्ने भएकाले छिमेकी देशको उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएको बताए । उनले भने, ‘छिमेकी देशहरुले प्रविधिको प्रयोगमार्फत उत्पादन गर्छन् । छिमेकी देशले व्यवसायिक हिसाबले ठूलठूलो लगानी पनि उत्पादन कार्यमा लगाउँछन् । तर, हाम्रो पुँजी पनि थोरै छ, प्रविधिको प्रयोग हुन सकेको छैन । त्यसैले हाम्रो उत्पादन महङ्गो हुन्छ ।’

उनले देशको विकास, सम्वृद्धि र उत्पादनलाई अगाडि बढाउन विज्ञको सल्लाहमा अर्थ नीति बनाएर कृषिलाई प्रमुखतामा राख्न सकेको अवस्थामा छिमेकी उत्पादनसँग प्रतिस्पर्धी गर्न सकिने बताए ।  पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले सुगौली सन्धिपछि नेपालको अर्थतन्त्र परनिर्भर रहेको बताउँदै नेपालमा सञ्चालिन उद्योगहरूले समेत प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा रहेको बताए ।

वीपी, पुष्पलालदेखि प्रचण्ड, बाबुराम लगायतले पुरानो संरचना भत्काउन योगदान गरेपनि नयाँ संरचना बनाउन नसकिएको भट्टराईले बताए । उनले भने, ‘राणा शासन, पञ्चायतदेखि राजालाई समेत ढालेर हामीले पुरानो संरचना भत्काउन योगदान गरेकै हौं । पुरानो भत्काउनु र नयाँ बनाउनु अलग कुरा हो ।

अहिले हाम्रो समस्या भनेको नयाँ कसरी बनाउने भन्ने हो । हिजो भत्काउन गरेको योगदान र ज्ञानमा नै अहंकार गरेर आजीवन कुर्सीमा बस्ने सोच राख्न थालियो । यही सोचले देश संकटमा परिरहेको छ ।’ उनले देशको विकास र सम्वृद्धिको लागि अब नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने समेत बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप