आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महिला हिंसाका स्वरुप बदलिएका छन् : उपाध्यक्ष दाहाल

शुक्रबार, २४ मङ्सिर २०७८, १७ : ४९
शुक्रबार, २४ मङ्सिर २०७८

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले महिला हिंसाका स्वरुपहरु बदलिएको भन्दै त्यसलाई समयमै निरुत्साहित गर्न सबै सचेत हुनुपर्ने बताएका छन् । ‘खबर गरौं ११४५ हेल्पलाइन सेवा’को चौथो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय महिला आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष दाहालले महिला हिंसाका जुनसुकै घटनालाई पनि बेवास्ता गर्न नहुने बताएकी हुन् । महिला हिंसा भनेको बलात्कार र बेचबिखन मात्रै नभएको चर्चा गर्दै उपाध्यक्ष दाहालले भनिन्, ‘महिला हिंसा भन्नेबित्तिकै हामी बलात्कार, चेलीबेटी बेचबिखनलाई मात्रै बुझ्ने गर्छौं । हेर्दा सानोजस्तो लाग्ने, कार्यस्थलमा, सार्वजनिक स्थलमा हुने दुव्र्यवहार र घटनाहरु पनि महिला हिंसा नै हुन् । त्यस्ता घटनाहरूको तत्काल प्रतिवाद गरेर निरुत्साहित गर्नुपर्दछ ।’

सानो लाग्ने र नपत्याउने खालका घटनालाई बेवास्ता गर्दा पछि ठूलो हिंसाको रुप लिनसक्ने भन्दै उपाध्यक्ष दाहालले स–साना लाग्ने घटनाहरूलाई निरुत्साहित गर्न महिलाहरु आफै सजग हुनुपर्नेमा जोड दिइन् । पछिल्लो समय हिंसा घटनाहरु हुँदा उजुरी पर्ने क्रम बढ्नु सकारात्मक भएको चर्चा गर्दै उपाध्यक्ष दाहालले उजुरीहरूको सही निरुपण र पीडितलाई न्याय दिलाउन सबैको सकारात्मक पहल हुनु आवश्यक रहेको बताइन् ।

महिला हिंसा विरुद्धका थुप्रै कानूनहरु बनेको तर्फ स्मरण गराउँदै उपाध्यक्ष दाहालले महिला मैत्री कानून बन्नुमात्रै ठूलो कुरा नभएको र त्यसको कार्यान्वयन गर्नु मुख्य कुरा भएको बताइन् । विभिन्न तथ्याङ्कले पछिल्लो समय महिला हिंसाका विविध प्रकृतिमध्ये घरेलु हिंसाका घटनाहरु धेरै भएको भन्दै उपाध्यक्ष दाहालले घरपरिवार भित्रबाटै हुने महिला हिंसा अन्त्य गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्ने बताइन् । राष्ट्रिय महिला आयोगले शुरु गरेको ११४५ हेल्पलाइन सेवाले हिंसा पीडित महिलाहरुलाई धेरै सहयोग गरेको भन्दै उनले त्यसलाई थप प्रभावकारी बनाउन आयोगले पहल गर्नुपर्नेमा जोड दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप