शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई दशकपछि सञ्चालनमा आएको सेजभित्र कचकच

निकासी नरोक्न उच्च अदालतबाट अन्तरिम आदेश
शुक्रबार, २४ मङ्सिर २०७८, ०६ : ३५
शुक्रबार, २४ मङ्सिर २०७८

भैरहवामा झन्डै दुई दशकको प्रयासपछि सञ्चालनमा आएको छ, विशेष आर्थिक क्षेत्र (सेज) । तर, उद्योगी र सेजबीच विवाद झन् गहिरिदै गएको छ । बल्ल बल्ल विद्युत्लगायतका भौतिक पूर्वाधार पूरा गरिएको सेजमा सम्झौता गरेका उद्योगीहरुको आकर्षण त देखिएन नै, भएका उद्योगी र सेजबीचको विवाद अदालतसम्म पुगेको छ ।

२२ वटा उद्योगले सम्झौता गरेपनि ५ वटा मात्र उद्योग सेजमा छन् । ऐनबमोजिम बाह्य निकासी नगरेको भन्दै आन्तरिक निकासीमा रोक लगाएपछि सेज र उद्योगीबीच सुरु भएको विवाद उच्च अदालत तुल्सीपुर पुगेको हो ।

शक्ति मिनरल्सले सेज ऐनअनुसार बाह्य मुलकमा निकासी गर्न नसकेको भन्दै सेजले आन्तरिक बजारको निकासीमा गत हप्तादेखि रोक लगाएको  थियो । उद्योगले  कोरोनालगायत कारणले भारतमा निकासी गर्न कठिनाइ भएको र प्रयासरत रहेको जवाफ सेजलाई पठाएको थियो । तर त्यसको कुनै प्रतिक्रिया नदिई एक सातासम्म निकासीमा रोक लगाइयो । उद्योगीले मर्का परेको भन्दै अदालत पुगेको उद्योगका मेकानिकल इन्जिनियर दीपक झाले रातोपाटीलाई बताए ।

अदालतबाट अन्तरिम आदेश

उच्च अदालतले बुधबार अन्तरिम आदेश दिँदै तत्काल निकासीमा रोक लगाउन नमिल्ने आदेश जारी गरेको छ । उक्त आदेशपछि विहीबारदेखि सम्पूर्ण आन्तरिक र बाह्य दुवै रुपमा काम गर्ने बाटो खुलेको उद्योगले जनाएको छ ।

यता सेज विशेष आर्थिक क्षेत्रका इन्जिनियर जीवन पौडेलले प्रावधान अनुसारको निकासी नगरेपछि शक्ति मिनरल्सलाई आन्तरिक बजारमा बिक्री वितरणमा रोक लगाइएको दावी गर्दै अदालत पुगेको विषयमा पनि छलफल गर्ने बताए । सेजको नियमअुनसार यहाँ सञ्चालित उद्योगले ६० प्रतिशत बाह्य मुलुक निकासी तथा आन्तरिक बजारमा ४० प्रतिशतसम्म बिक्री गर्न पाउने प्रावधान छ । प्राधिकरणका अनुसार शक्तिको बाह्य निकासी ६ प्रतिशत मात्रै छ । तर उद्योगले भने १७ प्रतिशत दावी गरेको छ ।

कम्पनीका मेकानिकल इन्जिनियर दीपक झाले दुई वर्ष यता कोरोनाका कारण निकासीमा समस्या भएको बताए । उनले भारतको उत्तर प्रदेश र विहार नै आफूहरुको मुख्य बजार रहेको तर अहिले कोरोनाको जोखिम तथा लकडाउन हुँदा बजार बन्ने बेलामा फेरि समस्या आएको जिकिर गरे ।

‘हामीले प्रयास गरेर बजार बनाउँदैछौँ, अहिले पनि हामीलाई ४ सय टन अर्डर आएको छ । तर यहाँ सेजले नै निकासीमा रोक लगाएपछि उत्पादन मात्र गरेर हुँदैन, बजार पठाउन नपाएपछि उत्पादन गरेर के गर्ने ?’ उनले प्रतिप्रश्न गरे । सेजले सहयोग गर्नुको साटो झन् समस्या थप्ने काम आफूहरुलाई गरेको उनको आरोप थियो ।

शक्ति मिनरल्स सेजमा सबैभन्दा पहिले स्थापित उद्योग हो । यहाँ कुखुराको दाना बनाउन प्रयोग गरिने लाइनस्टोन ग्रिड र पाउडर उत्पादन हुन्छ । यो उद्योगले चालु आर्थिक वर्षको ४ महिनामा १७ लाख ६१ हजार बराबरको उत्पादन भारत निकासी गरेको छ । आन्तरिक बजारमा भने २ करोड ५३ लाख रुपैयाँको बिक्री गरेको झाले बताए ।

अर्को उद्योग ब्रिलियन्ट लाइटिङ प्रालिले चालु आबको कार्तिकसम्म ३ करोड ६९ लाख अर्थात् कुल उत्पादनको ६७.१९ प्रतिशत बाह्य मुलुक निकासी गरेको छ । सेजमा रहेको अर्को उद्योग भीस्टार ग्लोबलले १० करोड ६३ लाख अर्थात् कुल उत्पादनको ८८.१४ प्रतिशत निकासी गरेको छ । पञ्चकन्याले भने ३ लाख ९३ हजार अर्थात् १.४७ प्रतिशत मात्रै निकासी गरेको छ ।

उत्पादन सुरु गरेको एक वर्षपछि मात्रै बाह्य निकासीमा लक्ष्य पुर्याउनुपर्ने नियम छ । त्यसैले पञ्चकन्याले उत्पादन सुरु गरेको एक वर्ष नपुगेकाले यसको आन्तरिक निकासीमा रोक लगाउन मिल्दैन । यहाँ रहेको अर्को उद्योग तिरुपति मेटल भने अझै सञ्चालनमा आएको छैन ।

के हो विशेष आर्थिक क्षेत्र (सेज) ?

विशेष आर्थिक क्षेत्र (सेज) रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामान उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न ल्याएको नीतिअनुसार स्थापना गरिएको हो ।

सेज स्थापना गर्न उद्योग वाणिज्य संघदेखि विभिन्न सरोकारवालाहरुले वर्षौंदेखि माग गर्दै आएका थिए । सेजमा रहेका उद्योगका कर्मचारीले केही निश्चित वर्षसम्म हड्ताल तथा आन्दोलन गर्न र उद्योग बन्द गराउन पाउँदैनन्, यसले उत्पादनमा कुनै रोकतोक हुँदैन । उद्योगीले पनि आफ्नो लक्ष्यअनुसार उत्पादन गर्न पाउने भएकाले सेजमा आकर्षित हुन्छन् । यस्तै उद्योगले विदेशमा आफ्नो सामान निर्यात गर्दा भन्सार कर तिर्नुपर्दैन भने विदेशबाट उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदमा भन्सारमा छुट हुन्छ । स्वदेशमा उत्पादित वस्तु विदेशमा निर्यात हुँदा बढीभन्दा बढी विदेशी मुद्रा आर्जन गरी देश समृद्ध बनाउने सरकारको उद्देश्य हो । तर सेजमा उद्योगी आकर्षित हुन सकेका छैनन् ।

रुपन्देहीमा ५२ बिगाहामा फैलिएको सेजमा ६८ वटा प्लट रहेको त्यहाँका इन्जिनियर जीवन पौडेलले बताए ।

बनेन आवश्यक पूर्वाधार

शक्ति मिनरल्स कम्पनीका मेकानिकल इन्जिनियर दीपक झाले छिनछिनमा जाने विद्युत्ले उद्योगीले हैरानी खेपेको बताउँछन् । यहाँका उद्योगले उत्पादन गरी वाह्य निकासी सुरु गरेका छन् । तर, आवश्यक पूर्वाधार सडक बत्ती, पार्क, धर्मकाँटा र सेजभित्रै राखिने भनेको भन्सारसमेत अहिलेसम्म उपलब्ध नभएको उनीहरुको गुनासो छ ।

भन्सारका लागि भवन बने पनि प्रयोगविहीन छ । यहाँ भन्सार नहुँदा भारत निकासीका लागि समस्या भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले सेजको प्लट लिएका उद्योगीहरु पनि आकर्षित नहुनुमा  भित्रको पूर्वाधार पनि कारण रहेको बताउँछन् । उनले सेजमा उत्पादन भएका वस्तुको बाह्य निकासीको लागि सरकारले वातावरण बनाइदिन ध्यान नदिएको बताए । उनले उद्योगका समस्याको निकास दिन सरकारले समस्याको खोजी नगरी बरु उद्योग बन्द भए पनि केही फरक नपर्नेतर्फ काम गर्ने सोच नै दुःखद् रहेको बताउँछन् ।

यता सेजले सम्झौता गरेका १७ उद्योगलाई सञ्चालनका लागि सूचना निकाल्ने तयारी गरेको छ । सम्झौता गरे पनि सञ्चालन नगर्ने उद्योगहरुको विषयमा नयाँ ढङ्गले प्रक्रिया थाल्ने र त्यसको लागि छिटै सूचना निकाल्ने अधिकारीहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप