सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल समूह छिन्नभिन्न हुने संकेत, देउवालाई उम्मेदवार छान्न सकस

बिहीबार, २३ मङ्सिर २०७८, २२ : १९
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ–आफ्नो टीम बनाउन लागिपरेका छन् । तर, दुईवटै समूहले महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा पनि आफ्नो प्यानल बनाउन सकेका छैनन् ।

शुक्रबार दिउँसो १ बजे  काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदैछ । त्यसअघि पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवार तय गर्न जुटेका छन् । देउवा समूहमा सभापतिका उम्मेदवारका रुपमा वर्तमान सभापति देउवालाई अगाडि सारिएको छ भने पौडेल पक्षमा अहिलेसम्म साझा उम्मेदवार तय हुन सकेको छैन । पौडेल, नेता प्रकाशमान सिंह र शेखर कोइरालाबीच साझा उम्मेदवार बन्न हानथाप छ ।

सभापतिको साझा उम्मेदवार तय गर्न नसक्दा पौडेल समूहमा पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवार बनाउने विषय ओझेलमा परेको छ ।

शेखरलाई सभापति नछाड्न दबाब

प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने शेखर कोइरालाले बताएका थिए । बिहीबार बिहानै पौडेल निवास बोहोराटार पुगेर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा आफ्नो समर्थन हुने बताएका थिए । पौडेल सबैको साझा उम्मेदवार हुने अवस्थामा आफू छोड्न तयार रहेको बताएका थिए । तर, सिंहले सभापतिको दाबी नछाडेको अवस्थामा भने आफूलाई सहयोग गर्न शेखरले पौडेलसमक्ष आग्रह गरेका थिए ।

तर, शेखर कोइरालालाई जिल्ला र प्रदेशका नेताहरूले सभापतिको दाबी नछाड्न आग्रह गरेका थिए । कोइरालाले विहीबार विहान जिल्ला र प्रदेशका आफू पक्षीय का नेताहरूको सुझाव र सल्लाह लिएका थिए । ‘संस्थापन इतरबाट साझा उम्मेदवार बनाऔँ । त्यो साझा उम्मेदवार तपाईं बन्नुभयो भने जित्न सकिन्छ  । समग्रमा सहमति र एकताको विकल्प छैन,’ शेखरलाई उनीहरुको सुझाव थियो ।

छलफलमा आएको सुझावले आफूलाई झन् उत्साह मिलेको भन्दै सभापतिमा दाबी नछाड्ने नेता कोइरालाको भनाइ थियो ।

पौडेललाई केन्द्रीय सदस्यको साथ

संस्थापन इतर समूहका केन्द्रीय सदस्यहरू प्रकाशमान र शेखरबीच सहमति नभए पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने निर्णयमा पुगेका छन् । बिहीबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको बैठकमा पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने कुरामा एकमत भएका थिए ।

नेताहरूले पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई उपसभापति र महामन्त्रीलगायतका पदाधिकारीमा व्यवस्थापन गर्न उपाय निकालेका थिए । त्यो प्रस्ताव लिएर नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका थिए ।

अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए भने गगन थापा, धनराज गुरुङ र जीवन परियारलगायत शेखर कोइरालालाई भेट्न गएका थिए ।

सिंहले १३ औं महाधिवेशनमै पौडेललाई छाडेको भन्दै १४ औं आफ्नो नाममा सहमति हुनुपर्नेमा जोड गरे । तर, शेखर कोइराला पौडेललाई छोड्न तयार भए पनि सिंहको नेतृत्व स्वीकार्न तयार भएनन् ।

अघि बढे प्रकाशमान

आफू सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको प्रकाशमान सिंहको भनाइ छ । सिंहले सभापतिमा दाबी कुनै हालतमा नछोड्ने बताए अड्डी कसेका छन् । सम्पर्क कार्यालय खोलेर महाधिवेशन प्रतिनिधिहरूसँग भेटवार्ता थालेका पूर्वमहामन्त्री सिंहले २५ गते सभापतिमा उम्मेदवारी दर्ता गर्न तयारीमा रहेको बताए ।

विहीबार विहान पौडेल पक्षका केन्द्रीय सदस्यको बैठकपछि भेट्न आएका नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्यलाई सिंहले आफ्नो नाममा सहमति हुनुपर्ने अडान राखेका थिए । १३ औं महाधिवेशनमा आफूले पौडेललाई सभापतिमा छोडेको भन्दै  १४ औंमा पौडेल र शेखर कोइरालाले आफूलाई छाड्ने कुरा न्यायसंगत हुने सिंहको भनाइ छ ।

आफू सभापतिको उम्मेदवार बन्दा पौडेल बाहेक सबै नेता आफ्नो टिममा अटाउन सक्ने सिंहको तर्क छ । सिंह र शेखर मिल्ने सम्भावना नदेखिएकाले टीम नै छिन्नभिन्न हुने चिन्ता बढेको ती नेताले रातोपाटीलाई बताए ।

नेताहरु दिनभर भेटघाटमा व्यस्त

पौडेल पक्षका केन्द्रीय सदस्यहरूबीच महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भएको छलफल शुक्रबार बस्ने गरिसकिएको छ । बैठकपछि पौडेल पक्षका नेताहरुले प्रकाशमान सिंह र शेखर कोइरालासँग छलफल गरेका छन् ।

सिंहले आफ्नो नाममा सहमति हुनुपर्ने अडान दोहोर्याएका छन् । एक नेताका अनुसार शेखर कोइरालाले भने पौडेललाई सिंहले मानेको अवस्थामा आफू छोड्न तयार रहेको बताएका छन् । तर शेखर प्रकाशमानलाई छोड्ने मुडमा भने नरहेको ती नेताको भनाइ छ ।

सानेपामा रामचन्द्रको खोजी

पौडेल बिहीबारको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलको अनुपस्थिति रह्यो । १३ औं महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको अन्तिम बैठकमा पौडेललाई उपस्थित गराउन निकै प्रयास गरिएको थियो ।

पौडेललाई बैठकमा सहभागी गराउन काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल बोहोराटारस्थित उनको निवासमै पुगेका थिए । मुख्यसचिव निवासमै पुगेर गरेका आग्रहलाई पौडेलले अस्वीकार गरिदिए । बुधबार आफू पक्षीय नेताहरुको बैठकमा पार्टीबाट अलग्गिने चेतावनी दिएका पौडेल आज घरबाट निस्किएका छैैनन् ।

‘साथीहरु आपसमा मिल्न पनि सक्नु भएन । मलाई स्विकार्नु पनि भएन । अब मैले सकिनँ । अबदेखि म बैठकमा आउँदिन । महाधिवेशनमा पनि सहभागी हुन्न । पार्टीबाट अलग भएर घरमै बस्छु ,’ पौडेलले चाक्सीबारीमा भनेका थिए ।

केन्द्रीय समिति बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले पनि पौडेल उद्घाटन सत्रमा सहभागी  नभए दुःखद हुने बताए । ‘केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता ज्यू उपस्थित हुनुभएन । भोलि महाधिवेशनको उद्घाटन सत्रमा पनि आउनु भएन भने हाम्रा लागि दुःखद हुन्छ,’ शर्माले भने । काँग्रेसमा पार्टीभित्रको अन्तरद्वन्द्वकै कारण जीवनको उत्तरार्द्धमा गणेशमान र कृष्णप्रसाद भट्टराईले पनि पार्टीबाट अलग बनेका थिए ।

२०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा सम्पन्न काँग्रेसको १२ औं महाधिवेशन भट्टराईले बहिस्कार गरेका थिए । काँग्रेस महाधिवेशनमा सहभागी हुन गरेको निम्तालाई अस्वीकार गरेका थिए । आफ्नो समूहमा साझा उम्मेदवार तय हुन नसके पौडेलले पनि महाधिवेशन बहिस्कार गरिदिने हुन कि भन्ने काँग्रेस नेताहरुमा चिन्ता देखिन्छ ।

देउवा पक्ष टीम बनाउन व्यस्त

सभापति शेरबहादुर देउवा पक्ष टीम बनाउन व्यस्त छ ।  बुधबारदेखि  देउवा पक्षले पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवार तय गर्न घनिभूत छलफल थालेको छ ।

सातवटै प्रदेशबाट पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीको सूची बनाउन देउवाले दिएको निर्देशन अनुसार नेताहरुले छलफल थालेका छन् । बागमती, सुदूरपश्चिम, लुम्बिनी, कर्णालीबाट पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार पारिएको छ । अन्य प्रदेश दुई, गण्डकी र  प्रदेश १ को सूची बनाउन काम अहिले पनि जारी छ ।

आकांक्षीको सूची तयार पारेर सकेसम्म मिलाएर नाम दिन देउवाले नेताहरुलाई भनेका छन् । त्यहीअनुसार काम भइरहेको नेता एनपी साउदले रातोपाटीलाई बताए । सबै प्रदेशबाट सूची बनाउने काम भइरहेको र उम्मेदवारको अन्तिम टुंगो सभापति लगाउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप