शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माइतीघर मण्डला : बाह्रमासै ‘धर्ना हब’

बिहीबार, २३ मङ्सिर २०७८, १७ : ४५
बिहीबार, २३ मङ्सिर २०७८

माइतीघर मण्डलासँगै जोडिएको छ, थापाथली इन्जिनियरिङ क्याम्पस ।सोही क्याम्पसमा अध्ययनरत विष्णु मुलपति यहाँ दिनहुँ हुने आन्दोलन तथा प्रदर्शनले राम्रोसंँग पढ्ने वातावरण नभएको  गुनासो गर्छन् । ‘आन्दोलनकारीहरुको माइकिङले होहल्ला हुन्छ । यसले पढाइमा डिस्टर्ब हुन्छ,’ उनी भन्छन्, ‘आन्दोलनले यहाँ सधैंजसो जाम हुन्छ । जामले विद्यार्थीहरू तथा अन्य सर्वसाधारणलाईपनि समस्या छ ।” 

माइतीघरमा दैनिकजसो विभिन्न माग राखेर नारा,जुलुस, धर्नादेखि आन्दोलन गर्नेहरुको भीडभाड हुन्छ । सरकारले २०७५ वैशाख २ गते सूचना प्रकाशित गरेर आम नागरिकका असन्तुष्टि, माग र समर्थनका आवाज उठाउनका लागि माइतीघर मण्डलाको खुला परिसर प्रदर्शन गर्न पाउने स्थल भनेर तोकिदिएको थियो । त्यसयता बाह्रमासै ‘धर्ना हब’ भएको छ, माइतीघर मण्डला । कहिले शान्तिपूर्ण आन्दोलन त कहिले तनावग्रस्त माहोलमाविभिन्न समूहको असन्तुष्टिका आवाज नगुन्जिएको दिन नै हुँदैन । नागरिकका माग राख्न सरकारले व्यवस्थित रुपमा अन्य ठाउँमा विकल्प खोज्नुपर्ने विद्यार्थी मुलपतिको बुझाइ छ ।

माइतीघरको प्रदर्शनस्थल छेवैमा विगत २ वर्षदेखि किराना पसल गर्दै आएका छन्, कुवेर तीवारी । यहाँ उनको व्यापार राम्रै चलेको छ । तर यस क्षेत्रमा हुने दैनिक विरोध जुलुसका कार्यक्रमले उनीकहाँ आउने ग्राहक भने प्रहरीको उपस्थितिले त्राहीमाम हुन्छन् । कतै प्रहरीले हामीउपर लाठी चार्ज त गर्दैन? भन्ने मनोवैज्ञानिक त्राससहितको प्रश्न यहाँ आउने ग्राहकहरुबाट आउने गरेको  उनले रातोपाटीलाई बताए ।

व्यापारी थापा भन्छन्,  ‘यहाँ सार्वजनिक शौचालय छैन । यसले धर्नाकारीहरूलाई समस्या छ ।’ उनका अनुसार सवारीसाधनको अत्यधिक चाप, आम मानिसको आहोरदोहोर र ट्राफिक व्यवस्थापन चुस्त नहुँदा यहाँ दिनहुँजसो साना ठूला सवारी दुर्घटना भैरहन्छ । थापा पनि धर्नास्थल सार्नुपर्ने उपर्युक्त देख्छन् ।

भारतबाट आएर लामो समयदेखि प्रायः माइतीघरको प्रदर्शनस्थलमा ठेला व्यापार गर्दै बसेका धनीलाल यादवको अनुभव भने केही फरक छ । यहाँ आन्दोलन गर्न आउनेहरुले गर्दा नै आफ्नो व्यापार बढेको जनाउने उनी अन्त व्यापार गर्न जान मन नलागेको बताउँछन्। ‘गर्मी मौसममा त झनै व्यापार राम्रो हुन्छ,म त खुशी छु ।’

यस्तै थापाथली क्याम्पस नजिकै स्टेसनरी पसलमा निकै व्यस्त देखिए मनीराम बेलबासे । यहाँ विद्यार्थीहरू स्कुल कलेज आउनेजानेको चहलपहलले आफ्नो व्यापार बढेको बताउँछनदउनी । आन्दोलनकारीहरू पनि उनीकहाँ आफूले राखेको मागको फोटोकपी गर्न आउँछन् । तर नागरिकका माग राख्ने ठाउँ यति साँगुरो देख्दा भने माग राख्नेहरुले नै यहाँ सास्ती खेप्नु परेको उनले प्रत्यक्ष देखेका छन् । 

उता एक स्थानीय तथा सरकारी कार्यालयका कर्मचारी प्रेमराज सिलवाल माइतीघर मण्डलाजस्तो सहरको गरिमा बोकेको क्षेत्रलाई प्रदर्शन गर्ने स्थल बनाइनु नै गलत भएको बताउँछन् । असन्तुष्टिको नाउँमा पछिल्लो समय विना तुकका एजेण्डा लिएर प्रदर्शन गर्ने प्रवृत्ति बढेकोमा पनि उनी रोष व्यक्त गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णा खनाल
कृष्णा खनाल
लेखकबाट थप