शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थ समितिमा अर्थमन्त्री : अर्थतन्त्र नजानेको भन्नेलाई देखाइदिन्छु

सुन तस्करी रोक्न विमानस्थल भन्सारमा ‘टास्क फोर्स’ परिचालन
बिहीबार, २३ मङ्सिर २०७८, १६ : ४३
बिहीबार, २३ मङ्सिर २०७८

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूमाथि आलोचना गर्नेलाई कडा जवाफ फर्काएका छन् । आज (बिहीबार) प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले आफूले गरेका कामको प्रतिरक्षा र आलोचकमाथि निशाना एकैसाथ साँधे । 

अर्थ समितिले अर्थतन्त्रको वर्तमान अवस्था, देखिएका चुनौती, अर्थ मन्त्रालयका काम कारबाही र भावी योजना लगायतका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल चलाएको थियो । समितिले आयोजना गरेको छलफलमा अर्थमन्त्री शर्मा र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत अधिकारीहरू सहभागी थिए ।

केहीअघि नेकपा (एमाले) नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शर्मालाई कति भनेपछि गुणा हुन्छ भन्ने पनि थाहा नभएको भन्दै आलोचना गरेका थिए । केही मिडियाहरूले अर्थमन्त्रीमाथि पूर्वअर्थमन्त्रीले गरेको आलोचनालाई निकै प्रमुखतासाथ समाचार बनाएका थिए । आज अर्थ समितिमा शर्माले त्यसैप्रति इङ्गित गर्दै भने, ‘को जान्ने, को नजान्ने भन्ने महाशयलाई अध्ययन गरिरहेको छु, उनीहरूको अवस्था थाहा पाएकै छु ।’ 

हाल अर्थतन्त्रमा समस्या देखिनुका पछाडि यसअघिका नीति भएको भन्दै अर्थमन्त्री शर्माले समग्र ऐन कानुनकै कारण फरक परेको पनि तर्क गरे । उनको यो भनाइको आशय पनि आलोचक पूर्वअर्थमन्त्री पाण्डेलक्षित रह्यो । 

कोरोना महामारी र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले अर्थतन्त्रमा क्षति पुर्‍याएको, तर सरकारको समग्र खर्च गत वर्षको समान अवधिभन्दा २ प्रतिशत बढी रहेको पनि उनले उल्लेख गरे । यसैगरी, आयात ६४ प्रतिशत र निर्यात १०४ प्रतिशत बढेको भन्दै निर्यात अवस्था अहिलेसम्मकै बढी रहेको पनि दाबी गरे । विदेशी विनिमय सञ्चिती १३ अर्ब १९ अर्ब रुपैयाँ रहेकाले नेपालले ७.८ महिनाका लागि आवश्यक वस्तु तथा सेवा आयातलाई धान्नसक्ने पनि अर्थमन्त्रीले बताएका छन् । 

विमानस्थल भन्सारमा ‘टास्क फोर्स’ परिचालन

अर्थमन्त्री शर्माले सुन तस्करी नियन्त्रण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा विशेष कार्यदल (टास्क फोर्स) खटाइएको पनि जानकारी दिए । मन्त्रालयले नै सो टास्क फोर्स खटाएको उनको भनाइ थियो । 

टास्क फोर्स खटाइएपछि विमानस्थलबाट दैनिक २० किलोसम्म सुन नियन्त्रणमा लिने गरिएको र भन्सार तिरेर मात्रै लैजाने व्यवस्था मिलाइएको पनि अर्थमन्त्रीले समिति बैठकमा जानकारी दिए । उनले भने, ‘काँचो सुनलाई थोरै बटारेर ल्याउने प्रवृत्ति बढेकाले कडाइ गरिएको हो, यसो गर्दा राजस्व वृद्धिमा पनि टेवा पुगेको छ ।’

समितिका सचिव सुरेन्द्र अर्यालले आज समितिमा अर्थतन्त्रसँग सम्बन्धित विषयबारे विभागीय मन्त्री र अधिकारीहरूलाई बोलाएर छलफल गरिएपनि निर्देशन नदिइएको बताएका छन् । मन्त्रालय र निकायहरूबाट पुँजीगत खर्चको विवरण संकलन गरी सरकारलाई केही दिनभित्र आवश्यक निर्देशन दिइने उनले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप