शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

महिला हिंसालाई पुनर्परिभाषित गर्नुपर्ने स्थिति देखिएको छ : प्राडा सावित्री कक्षपती

बिहीबार, २३ मङ्सिर २०७८, १४ : २८
बिहीबार, २३ मङ्सिर २०७८

अहिले महिला हिंसासम्बन्धी १६ दिने अभियान चलिरहेको छ । औपचारिक रूपमा नेपालले यो अभियान २०५४ सालबाट सुरु गरे पनि २०७५ मा मन्त्रिस्तरीय निर्णय भएपछि स्थानीय तहले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर यस्तो हिंसामा कमी आउन सकेको छैन । निर्मला पन्तको बलात्कारपछि हत्या, परपुरुषसँग लोगको भन्दै हुम्लामा एक महिलालाई कपाल मुन्डन गरेर दिसा खुवाएर गाउँ निकाला गरिएको, मुस्ताङमा २८ महिनाकी बालिका बलात्कृत, भक्तपुरमा १२ वर्षको बालिका बलात्कृत लगायत धेरै समाचार आइरहेका छन् । यसैगरी महिला तथा बालबालिकासम्बन्धी अपराधको अवस्थाबारे प्रहरीको तथ्याङ्कले पनि आव ०७७÷७८ मा १८,९३७ वटा हिंसाका घटना  दर्ता भएको देखाएको छ । यी तथ्याङ्कले महिला हिंसालाई बढ्दो रूपमा देखाएका छन् । नेपाली समाजमा यस्ता हिंसाजन्य अपराध किन बढिरहेका छन्, कानुनी व्यवस्थाको कमी हो कि सामाजिक चेतनाको कमी हो ? यिनै विषयमा केन्द्रित रहेर पद्मकन्या क्याम्पस, बागबजारकी प्राध्यापक डाक्टर सावित्री कक्षपतीसँग रातोपाटीले गरेको कुराकानी :

–तपाईं आफूलाई चिनाउनुपर्दा कुन रूपमा चिनाउनु हुन्छ ?

म प्राध्यापक डाक्टर सावित्री कक्षपती । मैले त्रिभुवन विश्वविद्यालयबाट रङ्गमञ्चमा विद्यावारिधि गरेको हुँ । त्रिविअन्तर्गत पद्मकन्या क्याम्पसमा ३४ वर्ष प्राध्यापन गरेर यही मङ्सिर ९ गते अवकाश लिएकी हुँ । एक लेखक, साहित्य समालोचक पनि हुँ । सामाजिक कार्यमा पनि संलग्न छु । कानुनी सेवा तथा परामर्श केन्द्रमा कार्यरत छु । यो संस्था आजभन्दा ३६ वर्षअगाडि प्राडा शान्ता थपलियाले स्थापना गर्नुभएको हो  । यसले कमजोर महिला, जो निवेदन पनि लेख्न सक्दैनन्, ती महिला तथा बालबालिकालाई निःशुल्क सेवा दिन खुलेको संस्था हो । म त्यसको उपाध्यक्ष हुँ । हामी त्यस्ता असाहायहरूलाई परामर्श दिने काम गर्छौं । 

–पद्मकन्या क्याम्पसमा अध्यापन गराउनुहुन्छ, प्राध्यापकको नजरमा महिला हिंसालाई कसरी हेर्नुहुन्छ ?

महिलामाथि हुने शारीरिक तथा मानसिक दबाब दिनेखालका हिंसा नै महिला हिंसा हो । यसबारे नेपालका नियम, कानुन र अन्तर्राष्ट्रिय अभिसन्धिहरूले परिभाषा गरेका छन् ।

अहिले महिला हिंसाका बारेमा कार्यक्रमहरू गर्दै हिँडिरहेको छु । अस्ति डोटी गएँ । अहिले इलाममा छु । देशका विभिन्न ठाउँमा महिला हिंसाका कार्यक्रमहरू स्थानीयवासीले पनि चलाइरहेका छन् । महिला हिंसाबारे जनचेतना जगाउने एजेन्डाहरू आइ नै रहेका छन् । तर अहिले महिला हिंसालाई पुनरपरिभाषित गर्नुपर्ने स्थिति देखिएको छ । व्यवहारमा त्यो देखिएको पनि छ । हिजोसम्म कोठाभित्र हुने शारीरिक तथा मानसिक हिंसालाई मात्र ती परिभाषाले समेटेको छ । अहिले विभिन्न क्षेत्रका मानिसले गरेका हिंसाहरू पनि आएका छन् । जस्तै पत्रकारहरू यस्तो हिंसामा पर्यौँ भनेर हामीसँग कानुनी परामर्शका लागि आएका छन् । शिक्षकहरू पनि हिंसामा पर्यौँ भनेर आएका छन् । एउटा पेसा अपनाएर कार्यकक्षभित्र एउटा साथीले जुन नजरले हेर्छ, व्यवहार गर्छ, डोमिनेट गर्न खोज्छ त्यो पनि हिंसा हो भनेर आउन थालेको छ । यसर्थ लैङ्गिक हिंसाले सूक्ष्म धार लिँदै गएको छ । यो पहिलेको परिभाषाभन्दा धेरै गहिराइमा पुगेको छ ।

–यो कानुनी व्यवस्थाको कमजोरी हो या सामाजिक चेतनाको ? कस्तो लाग्छ तपाईंलाई ?

यो मूलतः सामाजिक चेतनाको कमी हो । कानुनले त यस्ता खालका हिंसा गर्नु हुँदैन, गरेमा दण्डनीय हुने व्यवस्था गरेको छ । महिला र पुरुष समान हुन् भनेर संविधानमा नै व्यवस्था भएको छ ।

म एक प्राध्यापक, प्राध्यापनकै क्षेत्रमा पनि ममाथि हिंसा भइरहेको हुन्छ । किनभने अवसर नपाउनु पनि हिंसा हो । समान किसिमका प्रतिस्पर्धामा पनि नजानिँदो किसिमले हामीलाई तल पार्ने काम हुन्छ । त्यो प्राध्यापक स्तरमा पनि यस्ता हिंसा हुन्छन् । यो पनि लैङ्गिक हिंसा त हो नि ।

–भनेपछि विद्यालय विश्वविद्यालय तहमा प्राध्यापन गराउनेमाथि पनि हिंसा हुन्छन् ?   

धेरै हुन्छन् । पिट्नु नै पर्दैन, गाली नै गर्नु पर्दैन तर अवसरमा वञ्चित गराएर पुरुषलाई मात्र अवसर दिइन्छ भने त्यो पनि हिंसा हो ।

यो अहिले एक वर्षभित्र मात्र हेर्नुस्, पत्रकारहरूमाथि नै हिंसा छ, मेडिकल डाक्टरहरूमाथि नै हिंसा छ । त्रिविले प्राध्यापकको अवसर निकाल्दा ५ जना पुरुष एकजना महिलाको लिस्ट निकाल्छ । पार्टीमा हेर्दा त्यही अवस्था छ । सारा ठाउँमा हेर्दैजाँदा यस्तो अवस्था छ । यो सबै लैङ्गिक हिंसा हो । त्यसकारण यो १६ दिने लैङ्गिक हिंसालाई लम्ब्याइएको कारण पनि त्यही हो । डिसेम्बर १० तारिख त मानव अधिकार दिवस हो । महिला हिंसालाई १० तारिखमा पुर्याउनुको अर्थ मानव अधिकारको हनन् हो है भन्ने सन्देश दिन पनि हो । 

–यहाँ समालोचक पनि हुनुहुन्छ, महिला हिंसाका बारेमा कस्ता कस्ता साहित्यिक कृतिहरू आएका छन् ?

त्यस्ता धेरै छन् । पहिले पहिलेका साहित्यकारका कृतिलाई हेर्दा पनि धेरै भेटिन्छन् । पहिले पहिले घरभित्र हुने लोग्नेस्वास्नी, सासूबुहारीको झगडालाई सामाजिक यथार्थवाद भनेर व्याख्या गरिन्थ्यो । तर त्यो मात्र होइन, त्यसलाई महिला हिंसा भनेर व्याख्या पनि गर्नुपर्छ । आधुनिक नेपाली कथाका प्रवर्तक गुरुप्रसाद मैनालीको नासो कथा हेर्नुहोस् न । त्यसमा पनि लैङ्गिक हिंसा कस्तो छ भनेर देख्न सकिन्छ । त्यसरी समालोचना गर्छौं । किनभने छोरा नभएकी सन्तान नभएकी जेठी श्रीमतीलाई पो तीर्थ लानुपथ्र्यो त । तर देवीरमणले त छोरा पाएकी श्रीमतीलाई लग्यो । देवीरमणकी जेठी श्रीमतीमाथि त्यहाँ हिंसा भयो । तर पनि जेठी श्रीमतीले अलिकति कुरा निकालेकी छ, पतिका सामुन्ने भन्न सकेकी छैन । ‘मलाई पो लानुपथ्र्यो तीर्थ तर ऊ चाहिँ गई, उसलाई चाहिँ लग्यो ।’ उसलाई चित्त बुझेको थिएन । साहित्यमा त्यसरी नजानिदो तरिकाले महिला हिंसा अगाडि आएको छ ।

तर अहिलेका कथाभित्र पात्र आफै क्रान्तिकारी तरिकाले बोलेको स्थिति छ । यो क्रम पछिल्लो समय बढ्दै गएको छ । स्रष्टाहरूले प्रकाशन गरेका नयाँ नयाँ कृतिमा पात्रहरूलाई  बोल्ड किसिमले उतारेका छन् ।

जस्तै ‘कुमारी आमा’ उपन्यासमा त्यस्तै पात्र छ । कामको सिलसिलामा एउटा केटासाथीसँग फिल्डमा गएकी छ । देहातमा छुट्टा छुट्टै बस्ने कोठा हुँदैन । कार्यक्रम लिएर गाउँगाउँमा जाँदा बाध्यतावश एउटै कोठामा बस्नुपरेको अवस्था छ । त्यहाँ केटा साथीबाट यौनहिंसा हुन्छ । ऊ गर्भवती हुन्छे । विवाह गर्न केटा मान्दैन तर केटीले बच्चालाई जन्मदिने क्रान्तिकारी निर्णय गर्छे । यो बच्चालाई जन्मदिन्छु र कुमारी आमा बन्छु भनेर समाजसँग विद्रोह गरेर निस्केकी छे कुमारी आमा । कुनै दिन काहीँ न काहीँ तिमीलाई बाहिर निकालेरै छोड्छु भन्छे । अहिलेका स्रष्टाहरूले यस्ता खालका दृढ पात्रहरूको सिर्जना गर्न थालेका छन् ।

हामी समालोचकहरू पनि त्यस्ता कृतिलाई प्रोत्साहन गरौँ भन्छौँ । तर यसमा स्रष्टाहरू पनि दुईथरी देखिएका छन् । एकथरी स्रष्टा चाहिँ सहेर बस, हामीले त चित्र उतार्ने मात्र काम गर्नुपर्छ भन्छन् । स्रष्टाले समाजका विकृतिलाई फोटो खिचेजस्तै खिच्ने हो, लेखकहरूले भित्र पसेर ठीक बेठीक छुट्याउनु हुँदैन भन्नेछन् । अर्कोथरी चाहिँ होइन, पात्रलाई अलिकति बलियो बनाएर देखाइदियो भने एउटा सन्देस दिन्छ, हिंसामा परेको पात्र छ भने परामर्श गर्ने कुराहरू पनि राखेर त्यसलाई आख्यानमा कलात्मक किसिमले प्रस्तुत गर्नुपर्छ भन्छन् । हामी पनि यही भन्छौँ ।

–तपाईं आफै पनि हिंसाविरुद्धको जनचेतना फैलाउँदै हिँड्नुभएको मान्छे । सानो छँदा भोग्नुभएको तर अहिले आएर त्यो त हिंसा पो रहेछ भन्ने तपाईंका केही घटना होलान् ?

म पनि यही समाजको मान्छे, स्वाभाविक रूपमै छन् नि । मैले एसएलसी उत्तीर्ण गरेँ । कलेज अध्ययनका लागि जान मेरो बुवाले एड्मिसन फर्ममा सही नै गरिदिनुभएन । उहाँलाई बुझाउन एकदम धेरै गर्नुपरेको थियो । घरका सबै काम गर्छु भनेर बल्ल बल्ल बुझाएँ । अहिले आएर हेर्दा त्यो हिंसा थियो मेरा लागि । हिंसा हुन बलात्कार नै हुनुपर्छ भन्ने छैन । हुनसक्छ त्यतिबेलाको समाजमा बुबाले मेरो सुरक्षाको लागि भन्ने ‘जस्टिफिकेसन’ थियो होला ।

–अहिले त्यस्ता घटना आफ्नै परिवारबाट भएका छन् कि छैनन् ?

मेरो परिवारभित्रबाट त छैन । तर कहिलेकाहीँ सामाजिक कार्यक्रमहरूमा जाँदा, आफ्नै पेसाभित्र, कार्यकक्षभित्र पनि पटक पटक हुने गरेका छन् । त्यसको तत्काल प्रतिकार गर्ने गरेकी छु । यहाँनेरि मलाई विभेद भयो भनिहाल्छु ।

सामाजिक कार्यक्रममा जाँदा एउटै डायसमा बसेका पुरुषहरूलाई चाहिँ प्राध्यापक डाक्टर फलानो भनेर बोलाउँछन् । म पनि प्राध्यापक डाक्टर हो । पुरुषलाई चाहिँ फलानो प्राध्याकपक डाक्टर भन्ने, मलाई चाहिँ डाक्टर मात्र भनेर सम्बोधन गर्ने ? यस्तो विभेद शिक्षितहरूले पनि गर्ने गरेको देखिन्छ ।

मलाई अन्याय भएको कुराको प्रतिकार गरिनँ भने अर्काको बारेमा बोल्ने अधिकार ममा रहँदैन । यस्तो प्रतिकार मैले कतिपटक त कार्यक्रममै पनि भन्ने गरेकी छु । कतिपय चाहिँ समापन भएपछि भन्ने गरेकी छु । मैले शालीनतापूर्वक आफ्ना कुरा राख्नुपर्छ, यस्तो कुरा फलाम तातेपछि हान्नुपर्छ । त्यस्तो भयो भने विभेद गर्नेलाई पनि महसुस हुन्छ नि ।

एक पटक विश्वकेशर मास्के र म एउटै डायसमा बसेका थियौँ । उहाँलाई प्राध्यापक डाक्टर विश्वकेशर मास्के भनेर सम्बोधन गरे अनि मलाई डाक्टर सावित्री कक्षपति मात्र भने । अनि मेरो मनमा चिसो पस्यो । उहाँ पुरुष भएर प्राध्यापक डाक्टर भने, म महिला भएकै कारण प्राध्यापक भनेनन् भन्ने लाग्यो । मेरो बोल्ने पालो आएपछि त्यसको प्रतिकार गरेँ ।

आजभोलि पनि विभिन्न कार्यक्रमा मलाई  सम्बोधन गर्दा प्राध्यापक डाक्टर भनेर सम्बोधन गर है भन्ने गरेकी छु । किनभने विद्यावारिधि गर्ने महिला धेरै छन् तर प्राध्यापक डाक्टर अति नै कम छन् । प्राध्यापक हुन मैले त्रिभुवन विश्वविद्यालयमा यतिका वर्ष मिहिनेत गरेकी छु भन्ने गरेकी छु । किनभने अरू महिलाहरूका लागि यो एउटा प्रोत्साहन पनि हुनसक्छ । भन्नु नपर्ने कुरा भए पनि बाध्यतावश भन्नैपर्ने स्थिति आउँछ ।

–विद्यार्थीले आफ्नो घरमा भएका हिंसाबारे गुरुआमाका नाताले तपाईंलाई सुनाएका कुनै घटना छन् ?

पद्मकन्या क्याम्पसमा भोलि आमा हुनेहरू, आमा भइसकेकाहरू अध्ययनका लागि आउँछन् । उनीहरुले भोलिको समाज निर्माण गर्नुपर्ने हुन्छ । समाज जुन धारमा चलेको छ, विद्यार्थीहरू पनि त्यही धारबाट आउने हुन् । उनीहरूबाट विद्रोहको भाव पनि आउँछन् ।

एकजना विद्यार्थीले थेसिस बुझाउन आउँदा आफ्नो कुरा सुनाइन्– म्याडम श्रीमान्ले मलाई नागरिकतामा थर परिवर्तन गर भने । कति सम्झाउने प्रयत्न गर्दा पनि मानेन् । अनि केही उपाय नचलेर परिवर्तन गरेँ भनिन् । तपाईंले गर्नै नहुने काम गर्नुभएछ भनेँ । उनलाई निकै दबाब दिइएको रहेछ । यस्तै छोरी छोरी हुँदा छोरा पाउन दबाब दिनेजस्ता घरव्यवहारका कुरा पनि उनीहरूले सेयर गर्छन् । तर धेरै विद्रोह गरेर हामीले परिवार भत्काउनु पनि भएन । हामी सङ्क्रमणकालीन अवस्थामा छौँ । 

–पछिल्लो समय छोरी जन्माउनेहरू घटे भन्ने कुरा आइरहेको छ, यसबारे केही जानकारी छ ?

यसमा दुवै कुरा छन् । छोरै जन्माउने भन्ने परम्परावादी सोच भएकाहरू पनि छन् । कतिपयले छोरा जन्माउन छोरीको भ्रूण हत्या गर्नेगरेका कुराहरू पनि सतहमा आएका छन् । कानुनले त्यसलाई सर्तका रूपमा व्यवस्था गरेको छ । त्यसमा महिलालाई मात्र दोष दिने कुरा हुँदैन, उसको परिस्थिलाई पनि हेर्नुपर्ने हुन्छ । तर छोरा जन्माउने नाममा भ्रूण हत्या गर्नेहरूले चाहिँ कानुनको दुरुपयोग गरेका छन् । 

पछिल्लो समय दुईवटै वा एउटै छोरी भए पनि हुन्छ भन्नेहरू बढ्दै गएका छन् । दुईवटा छोरी छन् भनेर दङ्ग पर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । आमाबुबालाई पनि छोराभन्दा छोरीले हेरचाह गरेको अवस्था पनि छ । छोरा सबै विदेश छन्, छोरीले केयर गरेको अवस्था छ । पछिल्लो अध्ययनले पनि छोराछोरा भएका भन्दा छोरीछोरी भएका आमाबुबा सुखी छन् भन्ने देखाएको छ । साथै पछिल्लो समय युवाहरूमा छोरीप्रतिको मोह बढ्दै गएको अवस्था छ ।

–महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ, यो कार्यक्रम वर्षमा एक पटक मात्रै उठाउने हो कि वर्षैभरि ?

यो अभियान कुनै न कुनै रूपमा ३६५ दिन नै चलिरहेको छ । महिलाप्रति हुने हिंसाका घटनाहरू सतहमा ल्याउन १६ दिने कार्यक्रम ल्याइएको हो । हाम्रा हरेक कार्यक्रमहरू महिला हिंसासँग सम्बन्धित हुन्छन्, वर्षैभरि सञ्चालन गरिहेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहनप्रसाद दाहाल
मोहनप्रसाद दाहाल
लेखकबाट थप