प्रहरी हवल्दारमाथि रड प्रहार गर्ने पक्राउ
बिहीबार, २३ मङ्सिर २०७८, १३ : ०२

ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग मंगलबजारमा कार्यरत प्रहरी हवल्दारलाई मापसे गरेका युवकले रडले हिर्काएका छन् । गएराति शंखमुलस्थित ग्रिल कारखानामा मापसे गरेर हल्ला गरिरहेको समूहलाई हवल्दार क्षेत्रबहादुर कार्कीले ‘हल्ला नगर्नु’ भनेर सम्झाएका थिए ।
सम्झाएर फर्कन लाग्दा हवल्दार कार्कीलाई ग्रिल कारखानामा कार्यरत बिक्रम माझीले पछाडिबाट रडले हिर्काएका हुन् । सिन्धुली घर भएका माझीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।
हवल्दार कार्कीको निधार र टाउकोमा चोट लागेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दरबन्दी भएका उनी मंगलबजार प्रभागमा कार्यरत थिए ।