शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुनुपर्छ : बालकृष्ण खाँण

‘देउवाको विकल्प छैन, उहाँ गिरिजाप्रसादको उत्तराधिकारी हो’
बिहीबार, २३ मङ्सिर २०७८, १२ : १८
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले १४ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवाको निरन्तरताले मात्रै काँग्रेस र मुलुक स्थायित्व स्थापित हुने बताएका छन् । संस्थापन पक्षले देउवालाई सभापतिका रुपमा अगाडि सार्ने निर्णय गरेको बताउँदै खाँणले महाधिवेशन प्रतिनिधिबाट देउवा अनुमोदित हुने दाबी गरे ।

गृहमन्त्रीसमेत रहेका रातोपाटीसँगको कुराकानीमा भने, ‘काँग्रेसको एकताका लागि पार्टी सभापतिको निरन्तरता आवश्यक छ । सरकार चुनावसम्म निर्वाध रुपमा अगाडि बढ्न र चुनावसम्म पुग्न पनि उहाँलाई काँग्रेसको सभापति बनाउनुपर्छ ।’

खाँणले आफू महामन्त्रीको दाबेदार रहेको भन्दै उम्मेदवार छनोट गर्ने जिम्मा सभापति शेरबहादुर देउवाको हातमा रहेको बताए । लामो राजनीति पृष्ठभूमि रहेकाले महामन्त्रीमा स्वभाविक दाबी रहने उनले बताए ।

नेपाल विद्यार्थी संघ रुपन्देशीको सहसचिव भएर २०३३ सालबाट खाँणको राजनीति यात्रा सुरु भएको थियो । ०३६ सालपछि उनी नेविसंघ रुपन्देहीको जिल्ला अध्यक्ष भए । नेविसंघको केन्द्रीय सदस्य भएपछि उनी  त्रिभुवन विश्वविद्यालयमा स्वयुविको सदस्यमा चुनाव लडेर पराजित भए । पछि त्रिविमा स्ववियु उपसभापति भएका उनी ०४३ सालमा सभापति हुन पनि सफल भए । त्रिवि स्ववियुको सभापति रहेकै बेला ०४४ मा उनी नेविसंघको पनि केन्द्रीय अध्यक्ष बने । सानो उमेरमै ०४८ मा टिकट पाएका उनले चुनाव पनि जितेका थिए ।

त्यसपछि ०५४ मा उनी नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष भए । तरुण दलको अध्यक्षमै रहेका बेला ०५६ मा तत्कालीन काँग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले खाँणलाई पार्टीको केन्द्रीय सदस्य बनाए । ०५७ सालमा भएको पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । शेरबहादुर देउवाले पार्टी विभाजन गरी काँग्रेस प्रजातान्त्रिक बनाउँदा पनि केन्द्रीय सदस्य भएका उनी ११ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बने ।

पार्टीको १२ औं र १३ औं महाधिवेशनमा पनि खाँण केन्द्रीय सदस्य बने । ०४८, ०६४ र ०७० मा निर्वाचित सांसद बनेका उनी ०७४ भने समानुपातिक सांसद बनेका थिए । २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षा राज्य मन्त्री बनेका उनी ०६५ मा माधव नेपाल नेतृत्वका सरकारमा सिंचाइ मन्त्री भए । ०७३ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका खाँण अहिले गृहमन्त्रीको जिम्मेवारीमा छन् ।

काँग्रेसमा सांगठनिक रुपमा बलियो पकड भएका नेता खाँण यतिबेला महामन्त्री बन्न चाहेका छन् । उनले सभापति देउवाको निरन्तरतालाई बढी जोड दिने गरेका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रित रहेर खाँणसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ –

काँग्रेसको संस्थापन पक्ष १४ औं महाधिवेशनका उम्मेदवार छनोटको गृहकार्यमा जुटेको छ । सभापतिमा शेरबहादुर देउवा नै हो कि विकल्पका बारेमा पनि छलफल भइरहेको छ ?

काँग्रेसको १४ औं महाधिवेशनमा वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई नै सभापतिका रुपमा प्रस्तुत गर्ने साझा निर्णय भएको छ । स्वयम् सभापति देउवाले १४ औं महाधिवेशनका लागि सभापतिका रुपमा म प्रस्तुत हुन्छु भन्नु भएको छ ।

 संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवा नै किन ?

किन भन्दा नेपाली काँग्रेसको विधानमा दुई कार्यकाल सभापति बन्न पाउने व्यवस्था छ । १३ औं महाधिवेशनमा विजयी भएपछि एक कार्यकाल सम्पन्न भएको छ । १४ औं महाधिवेशनपछि दोस्रो कार्यकालको सुरुवात हुन्छ ।

संस्थापन पक्षकै नेताहरु विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले सभापतिमा दाबी राख्नुभएको थियो । पार्टीको जिम्मा आफूलाई दिएर देउवालाई देश चलाउन आग्रह गरेका थिए । तर, देउवालाई नै सभापति बनाउने निधो किन गर्नुपर्यो ?

काँग्रेसमा एउटा व्यक्ति प्रधानमन्त्री र एउटा व्यक्ति सभापति भएको बेला पार्टीभित्र राजनीतिक खिचातानी हुँदा पार्टीमा अस्थिरता भएको छ । सरकारको अस्तित्वमाथि पनि गम्भीर संकट आएको इतिहास छ ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला सबै जना देउवा निवासमा प्रधानमन्त्री बन्न तयार हुनुस् भनेको होइन ? सबैको आग्रह र जोडबल गरेपछि उहाँ प्रधानमन्त्री बन्नुभएको हो ।  यो कुरा बिर्सिने ?

बीपी कोइराला पार्टी सभापति र मातृका कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । तर उहाँहरुबीच कुरा नमिल्दा काँग्रेसको पहिलो सरकार बदल्नुपर्ने अवस्था आयो । यस्तै २०४६ पछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नुभयो । उहाँले छोटो समयमा संविधान निर्माण र छोटै समयमा आम निर्वाचन पनि सम्पन्न गर्नुभयो । त्यो आम निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्यो । तर स्वयम किसुनजी भने काठमाडौं १ बाट पराजित हुनुभयो । गणेशमान, किसुनजी र गिरिजाबाबुका बीचमा छलफल भएर गिरिजाप्रसाद कोइराला  प्रधानमन्त्री बन्ने तय भयो ।

संसदीय दलले गणेशमानजी र कृष्णप्रसाद भट्टराईको प्रस्तावमा गिरिजाप्रसाद कोइरालालाई संसदीय दलको नेतामा चयन गरेपनि उहाँ प्रधानमन्त्री नियुक्त हुनुभयो । सुरुमा सहजतापूर्वक नै सरकार चलेको थियो । अढाइ वर्ष भएपछि पार्टी सभापति र प्रधानमन्त्रीका बीच खटपट हुन थाल्यो । त्यो खटपटका कारणले सरकार गम्भीर संकटमा पर्यो । किसुनजीको ज्यादै नै प्रयत्नबाट पार्टी विभाजन त रोकियो । तर, सरकारको निरन्तरता रहन सकेन ।

संसद भंग भयो । मध्यावधि निर्वाचनमा भयो । त्यसमा काँग्रेसले आफ्नो बहुमत गुमायो । त्यसपछि ०५३ सालमा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । पार्टी सभापति गिरिजाबाबु हुनुहुन्थ्यो । देउवा सरकारले पनि पूर्णरुपमा काम गर्न सकेन । स्थानीय चुनावको सम्मुखमा देउवा सरकार ढल्यो । चुनाव गर्ने बेलामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र वामदेव गृहमन्त्री हुनुभयो । उहाँहरुले गरेको चुनावबाट काँग्रेसका नेता कार्यकर्ताले सास्ती खेप्नुपर्यो ।

त्यसपछि भावी प्रधानमन्त्रीका रुपमा २०५६ मा किसुनजीलाई अगाडि सारियो । काँग्रेसले बहुमत ल्याएपछि किसुनजी प्रधानमन्त्री हुनुभयो । पार्टी सभापति गिरिजाबाबु हुनुहुन्थ्यो ।  किसुनजीले एक वर्ष पनि काम गर्न पाउनुभएन । सभापति र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुँदा सन्त नेता किसुनजी र गतिशील नेता गिरिजाबाबुले पनि पाँच वर्ष सरकार सञ्चालन गर्न सक्नुभएन । त्यसैले काँग्रेसमा दुईवटा शक्ति केन्द्र हुँदा हुने द्वन्द्वले सरकार र काँग्रेसको राजनीतिलाई प्रभाव पारेको अवस्था छ । अहिले पनि मुलुकको अवस्था गम्भीर छ ।

शेरबहादुर देउवा एकपटक पार्टी सभापति भइसक्नुभयो । ५ पटक प्रधानमन्त्री पनि भइसक्नुभयो । फेरि पनि उहाँलाई नै पार्टी सभापति र प्रधानमन्त्री बनाइराख्नुपर्ने ? काँग्रेसमा सभापति र प्रधानमन्त्री हुन अरु कोही योग्य छैन ?

अहिले प्रधानमन्त्रीको विकल्प छ ? अहिलेको प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवाको चाहनाले बन्नुभएको हो ? नेपाली काँग्रेसका सबैले उहाँलाई ओली सरकारलाई विस्थापित गर्न तयार हुनुपर्यो भनेको होइन ? बरु सभापतिले जनादेशका हिसाबले पनि हामी विपक्षीमा छौं । हाम्रो मात्रै प्रयत्नले सरकार बदल्न सकिँदैन ।

नलागौँ भन्नुभएको हो । काँग्रेसबाट निर्विकल्प रुपमा सबै साथीहरुले उहाँलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुभएको हो । तर अन्य राजनीतिक दलहरु नेकपा आन्तरिक द्धन्द्धले विभाजित भयो । अनि काँग्रेसले वैकल्पिक सरकार बनाउने अग्रसरता लियो । त्यस कारण यो सरकारलाई स्थानीय र आम चुनावसम्म पुर्याउनैपर्छ । चुनावसम्म पुर्याउन अढाइ वर्ष छ । यदि प्रधानमन्त्री र सरकारको गठबन्धन बचाएर चुनावमा जाने हो भने पार्टी सभापति शेरबहादुर देउवालाई निरन्तरता दिनुपर्छ भन्ने मेरो भनाइ हो ।

देउवाबाहेक अर्को मान्छे सभापति आएपछि गठबन्धनको सरकार ढलिहाल्छ भन्ने के छ त्यस्तो ?

मैले भनिसकेँ त । बीपी कोइराला पार्टी सभापति र मातृका कोइराला प्रधानमन्त्री हुँदा पनि झगडा भयो । सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हामी सन्त हुन दिएनौं । गिरिजाबाबुलाई पनि पाँच वर्ष चलाउन दिइएन । संसद भंग भयो । त्यस कारण काँग्रेसका पुराना घटना र पछिल्लो ओली सरकारले पनि त्यो देखाउँछ ।

महाधिवेशन प्रतिनिधिको गणित हेर्दा वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले निरन्तरता पाउने कुराको सुनिश्चिता छ । अधिकांश निर्वाचन क्षेत्रबाट शेरबहादुर देउवालाई साथ दिने साथीहरु महाधिवेशन प्रतिनिधिमा बहुमत छ ।

ओलीजीसँग बहुमत थियो । विपक्षीले सरकार बदलेको हो र ? स्वयं कम्युनिस्ट पार्टीभित्र भएकै शक्ति संघर्ष सरकार ढल्यो । कम्युनिस्ट पार्टीका दुई वटा शक्ति केन्द्र प्रचण्ड र ओलीको टकरावका कारण पार्टी फुटेर सरकारको अस्तित्व कमजोर भएको हो । नेपाली काँग्रेस त्यस्तो खालको तिक्तामा नजाओस् । त्यसको उपयुक्त विकल्प भनेकै प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी सभापति बनाउनु हो ।

शेरबहादुर देउवालाई पार्टी सभापति बनाएर आगामी निर्वाचनमा जाँदा उहाँको अनुहार देखाएर काँग्रेसले भोट माग्न सक्दैन भन्ने भाष्य निर्माण भएको छ । देउवालाई सभापतिमा दोहोर्याउँदा त पार्टीलाई घाटा हुने देखियो नि ?

पार्टीभित्रका साथीहरुले शेरबहादुर देउवालाई त्यो आरोप लगाउनुभयो । उहाँलाई हामी सबैले प्रधानमन्त्री बनेको हो । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला सबै जना देउवा निवासमा प्रधानमन्त्री बन्न तयार हुनुस् भनेको होइन ? सबैको आग्रह र जोडबल गरेपछि उहाँ प्रधानमन्त्री बन्नुभएको हो ।  यो कुरा बिर्सिने ? प्रधानमन्त्री बन्न आग्रह गर्नेहरुले अहिले शेरबहादुर देउवालाई चुनावमा लिएर जान सकिँदै भन्न मिल्छ ?

शेरबहादुर देउवा काँग्रेस सभापति नभए मुलुक चल्दैन भन्ने जस्तो कुरा गर्नुभयो । उहाँ सभापतिमा जित्ने निश्चत के छ ?

शेरबहादुर देउवालाई महाधिवेशन प्रतिनिधिले जिताउनुपर्छ । उहाँलाई जिताइयो भने काँग्रेसमा एउटा स्थायित्व हुन्छ । यो पाँच वर्षको अवधिमा कम्युनिस्ट पार्टी फुटे । जनता समाजवादी पार्टी फुट्यो । थुप्रै पार्टी फुटे । तर, सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई फुट्न दिनुभएन । नेपाली काँग्रेस अहिले एक डिक्का नै छ ।

काँग्रेसको एकताका लागि शेरबहादुर देउवा सभापतिमा दोहोरिनु अपरिहार्य छ भन्ने तपाईंको दाबी हो ?

काँग्रेसको एकताका लागि पार्टी सभापतिको निरन्तरता आवश्यक छ । सरकार चुनावसम्म निर्वाध रुपमा अगाडि बढ्न र चुनावसम्म पुग्न पनि उहाँलाई काँग्रेसको सभापति बनाउनुपर्छ । चुनावमा गठबन्धन गर्ने नगर्ने पार्टीको कुरा हो । तर चुनावसम्म हामीले गठबन्धन जोगाउन सक्नुर्छ । त्यो शेरबहादुर देउवा सभापति भए मात्र सम्भव छ ।

तपाई गृहमन्त्री हुनुहुन्छ । देशभरको सूचना पनि राख्नुभएको हो । देउवाको पक्षमा महाधिवेशन प्रतिनिधि के कति आउनुभएको छ ?

महाधिवेशन प्रतिनिधिको गणित हेर्दा वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले निरन्तरता पाउने कुराको सुनिश्चिता छ । अधिकांश निर्वाचन क्षेत्रबाट शेरबहादुर देउवालाई साथ दिने साथीहरु महाधिवेशन प्रतिनिधिमा बहुमत छ ।

देउवा पनि त परिपक्व मध्येमा पर्नुहुन्छ नि त । अरु नेता पनि पर्नु होला । नेपाली काँग्रेसका सबै नेताको विशेष क्षमता र खुबी छ । उहाँहरुको योगदानले नै काँग्रेस, काँग्रेस बनेको हो । काँग्रेसमा देउवा परिपक्व नेता हो ।

तपाईंले बुहमत महाधिवेशन प्रतिनिधि देउवाको पक्षमा छन् भन्नुभयो । काँग्रेसमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको कुरा जोडतोडले उठेको छ  नि ?

यो कुरा उठिरहेको छ । यसलाई सकारात्मक रुपमा  लिनुपर्दछ । यो कुरा अमेरिकामा आजभन्दा १२ वर्षअघि उठेको थियो । ओबामा राष्ट्रपति बन्नुभयो । दुई कार्यकाल अमेरिकाको गति बढाउनका लागि, अमेरिकी जनताको चाहना र सपनालाई मूर्त गर्नका लागि ‘टु योङ लिडर’ भनेर नारा लगाउनुभयो । दुई कार्यकाल चलाउनुभयो । त्यसपछि डोनाल ट्रम्प आउनुभयो । १२ वर्ष गुर्जियो । १२ वर्षपछि त्यही ओबामाले ८४ वर्षका जो बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुभयो ।

त्यतिबेला ‘टु योङ’ को नारा चलाउने ओबामाले नै अमेरिकालाई परिपक्व नेताको आवश्यकता छ भनेर भन्नुभयो । त्यसकारण कहिले युवा नेता चाहिन्छ, कहिले इकोनमिक्स चाहिन्छ, कहिले प्राज्ञिक चाहिन्छ भने कहिले काँही टु योङ चाइन्छ के ।

काँग्रेसमा परिपक्व नेतृत्व चाहिएको छ, त्यो देउवा नै हो भन्नेमा हो तपाईं ?

हो । यतिबेला काँग्रेसलाई मात्र होइन देशलाई परिपक्व नेता चाहिएको छ ।

त्यसो भएक काँग्रेसमा अरु कोही पनि परिपक्व नेता छैनन् ?

देउवा पनि त परिपक्व मध्येमा पर्नुहुन्छ नि त । अरु नेता पनि पर्नु होला । नेपाली काँग्रेसका सबै नेताको विशेष क्षमता र खुबी छ । उहाँहरुको योगदानले नै काँग्रेस, काँग्रेस बनेको हो । काँग्रेसमा देउवा परिपक्व नेता हो । उहाँले पार्टीलाई फुट्न दिनुभएको छैन । सबैलाई मिलाएर लिनुभएको छ । अरु राजनीतिक दलको सहयोग र समर्थन चाहिएको छ । उनीहरुसँग सहयात्रा गर्नु परेको छ ।

देउवाको सभापतित्वमा अन्य राजनीतिक दलसँग पनि सहमति र सहकार्य गरिराखेका छौं । त्यो परिपक्वता अन्य राजनीति दलले पनि देउवामा प्राप्त गरेका छन् । आगामी आम निर्वाचनसम्म मुुलुकमा अत्यन्तै खारिएको परिपक्व नेता चाहिएको छ । हाम्रो आदरणीय नेता गिरिजाप्रसाद कोइरालाले ८० वर्षको उमेरमा माओवादीसँग शान्ति सम्झौता गर्नुभएको होइन ? उहाँको त्योखालको  दह्रो र परिपक्व नेतृत्व नभएको भए शान्तिप्रक्रिया स्थापित हुन्थ्यो कि हुँदैन थियो ?

महामन्त्रीमा को को उम्मेदवार हुने निर्णय सभापति शेरबहादुर देउवाले नै गर्नुहुन्छ । अहिलेको परिस्थितिमा को उपयुक्त हुन्छ, पार्टी सञ्चालन र यो महाधिवेशन सम्पन्न गर्न उहाँलाई के गर्दा सहज हुन्छ ।

गिरिजाप्रसाद र शेरबहादुर देउवामा उस्तै क्षमता छ र ?

गिरिजाप्रसादको उत्तराधिकारी शेरबहादुर देउवा हो । गिरिजाप्रसाद कोइराला ०४८ सालमा प्रधानमन्त्री हुँदा युवा उमेरमै शेरबहादुर देउवालाई गृहमन्त्री बनाउनुभएको थियो । गिरिजाप्रसादको बेस्ट छनोट शेरबहादुर देउवा हो ।

गिरिजाप्रसादले आफ्नो उत्तराधिकारीका रुपमा देउवालाई गृहमन्त्री बनाउनुभयो । देउवाले तपाईंलाई गृहमन्त्री बनाउनु भएको । देउवाको उत्तराधिकारी तपाईं हो ?

त्यसको जवाफ दिने बेला आइसकेको छैन । पार्टी र देशको एउटा सिपाही हुँ । पार्टी र देशले दिएको जिम्मेवारी कुसलता पूर्वक पुरा गर्नुपर्छ ।

देउवा पक्षको बैठकमा आफ्नो मतले मात्र जित्न कठिन हुन्छ । कृष्णप्रसाद सिटौला लगाएका मान्छेलाई समूहमा ल्याउनुपर्छ भन्ने कुरा उठेको छ । सिटौलालाई देउवा समूहमा ल्याउने तयारी भइरहेको हो ?

शेरबहादुरमा सबैसँग मिल्ने सबैभन्दा विलक्षिणता छ । बहुमत हुँदा हुँदै पनि उहाँ अरुसँग मिलेर काम गरिराख्नुभएको छ । शेरबहादुर देउवा एउटा लोकतन्त्रवादी नेता हो । लोकतान्त्रिक दृष्टिकोण र पद्दतिबारे उहाँ राम्रो जानकार हुनुहुन्छ । उहाँले आफूसँग असहमतलाई पनि सँगै लिएर जानुपर्दछ भन्ने मान्यता राखेरै अगाडि बढ्नु भएको छ ।

तपाईलाई महामन्त्रीका रुपमा हेरिएको छ । तपाईं महामन्त्रीको उम्मेदवार हो कि होइन ?

महामन्त्रीमा को को उम्मेदवार हुने निर्णय सभापति शेरबहादुर देउवाले नै गर्नुहुन्छ । अहिलेको परिस्थितिमा को उपयुक्त हुन्छ, पार्टी सञ्चालन र यो महाधिवेशन सम्पन्न गर्न उहाँलाई के गर्दा सहज हुन्छ । त्यही अनुसार महामन्त्रीको उम्मेदवार छनोट गर्नुहुन्छ । उहाँको छनोटलाई हामीले सहजता पूर्वक लिन्छौं ।

देउवाले तपाईंलाई महामन्त्रीको उम्मेदवार नबनाए पनि मान्न तयार हो ?

उहाँले उपयुक्त पात्रको चयन गर्नुहुन्छ भन्ने विश्वास छ ।

महामन्त्रीका लागि तपाईं आफूलाई उपयुक्त पात्र ठान्नुहुन्छ ?

देशभरिका कार्यकर्ताले दाइ लामो समयदेखि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । ऐतिहासिक समयमा नेविसंघको अध्यक्ष भएर काम गर्नुभयो । ५४ सालमा तरुण दलको अध्यक्ष ०५६ सालमा काँग्रेसलाई बहुमत दिलाउने काम गर्नुभयो । देशभरि तपाईंका पालाका हामी सदस्यहरु विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर आइरहेका छौं । तपाईं महामन्त्रीमा प्रस्तुत हुनुस् । त्यसले पार्टीलाई सबल र सुदृढ गराउनका लागि पनि हामीलाई उत्साह र उर्जा थप्छ भनेर भनिराख्नुभएको छ । त्यसैले महामन्त्रीमा मेरो दाबी स्वभाविक छ । मलाई भरोसा गर्नुहुन्छ, बल पुर्याउनु भएको छ , उत्साह थपिराख्नु भएको छ । उहाँहरु सबैलाई धन्यवाद ।

पछिल्लो आम चुनावमा काँग्रेसले विभिन्न राजनीतिक दलसँग तालमेल गर्यो । जुन क्षेत्रमा म चुनाव लड्थेँ । सहमति अनुसार त्यहाँ राप्रपाका नेतालाई चुनाव लड्ने अवसर प्रदान गरियो । अनि मैले चुनाव लड्न मिल्यो । चुनाव लड्न नमिल्ने अवस्था भएपछि पार्टीले नै मलाई तिमी समानुपातिकमा बस भन्यो ।

 यो त कार्यकर्ताले देखाएको माया भयो । आकांक्षी धेरै छन् । सभापति देउवाले महामन्त्रीको उम्मेदवार बनाउनुहुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

यो कुरा मैले पार्टी सभापतिलाई छोडेँ ।

देउवा सभापति भएपछि तपाईं समानुपातिक सांसद, संसदीय दलको प्रमुख सचेतक, गृहमन्त्री बन्नुभयो । सबैभन्दा बढी अवसर पाउनुभएको छ । अब महामन्त्रीको उम्मेदवार पनि तपाईंलाई नै बनाए अरु हेरेर मात्र बस्लान र ?

सुविधा पाइराखेको होइन । ०४६ सालको जनआन्दोलनमा नेविसंघ अध्यक्ष थिए । गोणशान, किसुनजी र गिरिजाबाबु पार्टीका नेता हुनुहुन्थ्यो । गणेशमानजी जनआन्दोलनको सर्वोच्च कमान्डर हुनुहुन्थ्यो । किसुनजी पार्टीको सभापति हुनुहुन्थ्यो । त्यो संकट पूर्ण अवस्थामा मैले कुसलता पूर्वक  विद्यार्थी परिचालन गरेर आन्दोलन सफल गर्ने कुरामा नेताहरुलाई भरपुर सहयोग पर्दान गरेँ । त्यो इतिहासमा छ ।

त्यसपछि ०५४ सालमा तरुण दलको अध्यक्ष हुँदा ०५६ भएको निर्वाचनमा म उम्मेदवार हुँदैन । म देशभरि निर्वाचन परिचालनमा जान्छु भनेर गएँ । २०४८ मा भएको आम निर्वाचनमा बुटवल जस्तो बामपन्थीको गण भएको ठाउँबाट चुनाव जितेर आएको हुँ । ०५१ सालमा म हारेँ ।  २०६४ सालको चुनाव आँधी र हुरी जस्तो छ । २४० मध्ये जम्मा  ३६ जना सांसदमा निर्वाचित भए । त्यसमा पनि हो जित्ने । ०७० सालको संविधान सभाको चुनाव पनि मैले जितेको हुँ ।

पछिल्लो आम चुनावमा काँग्रेसले विभिन्न राजनीतिक दलसँग तालमेल गर्यो । जुन क्षेत्रमा म चुनाव लड्थेँ । सहमति अनुसार त्यहाँ राप्रपाका नेतालाई चुनाव लड्ने अवसर प्रदान गरियो । अनि मैले चुनाव लड्न मिल्यो । चुनाव लड्न नमिल्ने अवस्था भएपछि पार्टीले नै मलाई तिमी समानुपातिकमा बस भन्यो ।

हाम्रो पार्टीमा तीनपटक पनि समानुपातिक सांसद भएका नेताहरु हुनुहुन्छ । उहाँप्रति मेरो सम्मान नै छ । तीन पटक निर्वाचन जितेको हुँ । यसपटक समानुपातिकबाट प्रतिनिधित्व गरेको हुँ । त्यसपछि प्रमुख सचेतक मैले चाहेकै थिइनँ । मेरो स्वभाव र शैलीले प्रमुख सचेतकको भूमिका निर्वाह गर्छु जस्तो लाग्दैन भन्दा पनि जिम्मेवारी दिनुभएको हो । मैले संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गर्ने कुरामा संसदमा सबै साथीहरुलाई बोल्ने अवसर पनि दिएँ । सबैलाई संगठित पनि गरेँ । प्रतिपक्षीको रुपमा हामीले आफ्नो भूमिका पनि निर्वाह गर्यौं । त्यसैबीचमा अन्य राजनीतिक पार्टीका सांसद र नेताहरुसँग संवाद गर्यौं । नयाँ सहमतिका लागि वातावरण बनायौं ।

पछिल्लो राजनीतिक वातावरण बनाउने कुरामा हाम्रो पनि त भूमिका होला नि त । अन्य राजनीति दलसँग संवाद गरेर काँग्रेस नेतृत्वको सरकार बनाउने क्रममा संसदीय दलको प्रमुख सचेतकको पनि त भूमिका होला नि त ? छैन र ? त्यसैले पार्टीले मलाई दिएको भूमिकालाई सम्मानजनक रुपमा निर्वाह गरेको छु । सरकारमा पनि पार्टीले जे जिम्मेवारी दिएको छ । त्यो भूमिका निर्वाह गरेकै छु ।

तपाईंले मेरो आधारका कुरा गर्नुभयो । नेविसंघ र तरुण दलमा लामो समय काम गरेकाले सयौं साथीहरु काँग्रेस महाधिवेशन प्रतिनिधि भएर आउनुभएको छ । सबैले साथ र सहयोग दिराख्नुभएको छ । त्यसको आधारशीलामा हामी जित्छौं भन्ने हो ।

तपाईंले बारम्बार जिम्मेवारी पाउने तर तपाईंका समकालीन नेताहरु हेरेर बस्न भन्ने कुरा पनि त नहोला ?

हेरेर नबस्ने । उहाँहरुले पनि भूमिका लिने नि त । जतिखेर म यो पार्टीको केन्द्रीय सदस्य भएको थिएँ, धेरै अन्य नेताहरु केन्द्रीय सदस्य हुनुभएको थिएन । अहिले पार्टीमा म सबैलाई सम्मान गर्दछु । मेरो समकालीन पुस्ता र हामीले सदस्यता दिएर नेविसंघ र काँग्रेसमा आवद्ध हुनुभएका साथीहरुलाई सम्मान गर्दछु । पुरानो पुस्ताका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइराला को को हुनुहुन्छ, उहाँहरुलाई पनि सम्मान गर्छु । त्यस कारण पार्टीभित्र सबैले सबैलाई सम्मान गर्ने हो । आफूलाई दिएको भूमिकामा खरो उत्रिने हो ।

तपाईं महामन्त्री हुँदा काँग्रेसमा के कुराको नयाँपन दिनुहुन्छ ?

व्यवस्थित काँग्रेस बनाउन जरुरी छ । काँग्रेसमा सबै नागरिकलाई यो हाम्रो काँग्रेस हो, यो काँग्रेस सबैका लागि हो भन्ने बनाउछु । काँग्रेस सबैको साझा हो । काँग्रेसमा, कलाकार, उद्योगी, खेलाडी, किसान, श्रमिक र वुद्धिजीवनसँग जोड्न गतिशीलता ल्याउनुपर्छ ।

नेविसंघ र तरुण दलमा बसेर काम गरेको छु । गणेशमान, किसुनजी र गिरिजाबाब, सुशील कोइराला र शेरबहादुर देउवासँग बसेर काम गरेको अनुभव छ । त्यो अनुभवलाई पार्टी सुदृढ र विस्तारित, वैज्ञानिकीकरण गर्ने काममा हामीले सदुपयोग गर्छौं ।

यी कुरा कार्यान्वयनका लागि महामन्त्रीमा जित्नुपर्छ होला । तपाईं महामन्त्री जित्ने आधार के के हुन् ? तपाईंको आधार क्षेत्र भनिएको लुम्बिनी बसमा छैन भन्ने देखियो । तपाईंले उठाएको उम्मेदवार प्रदेश सभापतिमा पनि गर्नुभयो । नेतृत्वले तपाईंप्रति गरेको विश्वास ग्राउण्डमा त देखिएन नि हैन ?

रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन् । त्यहाँ सर्वसम्मत पार्टी सभापति बनाएँ । लुम्बिनी प्रदेशमा पनि हामीले राम्रै पर्फमेन्स देखाएका हो । हाम्रा केही प्राविधिक कमजोरी भए होला । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा हो । थोरै भोटले सफल हुन सकेनौं ।

तपाईंले मेरो आधारका कुरा गर्नुभयो । नेविसंघ र तरुण दलमा लामो समय काम गरेकाले सयौं साथीहरु काँग्रेस महाधिवेशन प्रतिनिधि भएर आउनुभएको छ । सबैले साथ र सहयोग दिराख्नुभएको छ । त्यसको आधारशीलामा हामी जित्छौं भन्ने हो ।

१४ औं महाधिवेशनमा काँग्रेसको नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुग्नुभएको छ । उहाँहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

१४ औं महाधिवेशनले राष्ट्रिय राजनीतिको दिशा र गतिलाई सुनिश्चित गर्छ । महाधिवेशन हुना साथ स्थानीय चुनाव हुँदैछ । त्यसपछि आम चुनाव छ ।

त्यसमा काँग्रेस संगठित भएर लाग्नुपर्छ । हामीले निर्वाचन सम्पन्न पनि गर्नुपर्ने छ । त्यो पुरा गर्नका लागि महाधिवेशन प्रतिनिधिले आफ्नो विवेक प्रयोग गरेर पार्टी सभापतिलाई निरन्तरता दिने छ भन्ने म अपिल गर्न चाहन्छु । यो ऐतिहासिक भूमिका निर्वाह गरौं । १३ औं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म पार्टी एक ढिक्का भएर अगाडि बढेको छ । १४ औं महाधिवेशनदेखि १५ औं महाधिवेशनसम्म पार्टीलाई विभाजनको छायाबाट बचाऔं । जनतामा भरोसा र कार्यकर्ता उर्जा भर्ने काम गरौं ।

स्थानीय चुनावमा काँग्रेसका साथीहरुलाई विजयी गराउने र आम चुनावमा काँग्रेसको बहुमतको सरकार बनाउने उत्साह र जागरणका लागि यो महाधिवेशनले ताकत दियोस् । यो महाधिवेशनले हामी सबैमा नयाँ शक्ति सञ्चार गरोस् भन्ने हामी सबैको चाहना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप