शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन प्रतिनिधिमा कलाकर्मी : सम्झना रौनियारदेखि रोज राणासम्म

निर्देशक तीर्थ थापाको केन्द्रीय सदस्यमा उम्मेदवारी
बिहीबार, २३ मङ्सिर २०७८, १० : ३५
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा २४ मङ्सिरदेखि २७ गतेसम्म आयोजना हुँदैछ । क्षेत्रीय अधिवेशनबाट चुनिएका केन्द्रीय महाधिवेशन प्रतिनिधि अधिकांश अहिले काठमाडौँ आइपुगेका छन् । यो पटक काँग्रेसको महाधिवेशन प्रतिनिधिमा नेपाली कलाक्षेत्रका पनि धेरै व्यक्ति चुनिएका छन् । कस्ता छन्– काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका कलाकर्मी ? 

तीर्थ थापा : 

लमजुङबाट खसआर्य कोटाअन्तर्गत काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका हुन् तीर्थ थापा । पछिल्लो समय फिल्म निर्देशकको रूपमा परिचित उनी नाटक अभिनय हुँदै फिल्ममा भित्रिएका हुन् । उनी काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति हुन् ।

रोज राणा : 

फिल्म अभिनेता, निर्माता र निर्देशकसमेत रहेका रोज राणा  प्युठानबाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । राणाले दादागिरी, डन, दोस्ती, म छु नि तिम्रो लगायत थुप्रै चलचित्र निर्माण तथा अभिनय गरेका छन् । राणा प्युठानको प्रदेश क्षेत्रीय सभापतिसमेत चयन भएका छन् ।

शिवशंकर रिजाल : 

सर्लाही क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका शिवशंकर रिजाल कलाक्षेत्रमा ‘जोगिन्दर’को उपनामले परिचित छन् । फिल्म, टिभी सिरियल अभिनयको अलावा उनी टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् । उनी अघिल्लो महाधिवेशनमा पनि प्रतिनिधि बनेका थिए । उनी नेपाल संस्कृति संघका महामन्त्री हुन् ।

सम्झना रौनियार : 

फिल्म निर्देशकसमेत रहेकी सम्झना रौनियर काठमाडौँ क्षेत्र नम्बर १ बाट मधेसी कोटाअन्तर्गत महाधिवेशन प्रतिनिधिमा छानिएकी हुन् । उप्रेती फिल्म तथा म्यूजिक भिडियो निर्देशनमा सक्रिय रहँदै आएकी छन् ।

मधुकुमार श्रेष्ठ : 

फिल्म निर्माता तथा अभिनेता हुन् मधुकुमार श्रेष्ठ । कलाकार संघ र नेपाल फिल्म सोसाइटीका सदस्यसमेत रहेका श्रेष्ठ धादिङबाट महाधिवेशन प्रतिनिधिमा चुनिएका हुन् ।

विमलराज क्षेत्री : 

वरिष्ठ लोकगायक हुन् विमलराज क्षेत्री । उनको थुप्रै लोकगीत हिट भएका छन् । क्षेत्री पर्वतबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । उनी नेपाल सांस्कृतिक संघका पूर्व केन्द्रीय सदस्य हुन् ।

शिवहरि बैरागी : 

वरिष्ठ कलाकार शिवहरि बैरागी सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । बैरागी नेपाल सांस्कृतिक संघका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

टंक विश्वकर्मा : 

गायक तथा गीतकारको रूपमा परिचित टंक विश्वकर्मा झापाबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । विश्वकर्मा सांस्कृतिक संघका पूर्व उपसभापति हुन् । 

सरिता राई : 

गायिका तथा डान्सरको रूपमा परिचित छिन् सरिता राई । उनी उदयपुरबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । उनी सांस्कृतिक संघको पूर्व केन्द्रीय सदस्य हुन् ।

राजेन्द्र खत्री : 

गायक राजेन्द्र खत्रीका थुपै्र गीत बाहिर आएका छन् । उनी काठमाडौँ–१० बाट महाधिवेशन प्रतिनिधि बनेका छन् ।

राममाया खत्री : 

नेपाली कलाक्षेत्रमा डान्सरको परिचय छ राममाया खत्रीको । नेपाल सांस्कृतिक संघ मकवानपुरको वर्तमान सभापतिसमेत रहेकी खत्री मकवानपुरबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । 

विद्या तिमिल्सिना : 

गायिका विद्या तिमिल्सिना बाजुराबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । उनी सांस्कृतिक संघकी पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

भावना शाही : 

सांस्कृतिक संघ कालिकोटकी पूर्व सभापतिसमेत रहेकी भावना शाही कालोकोटबाटै महाधिवेशन प्रतिनिधि बनेकी हुन् । उनी देउडाकी चर्चित गायिका हुन् ।

गोपाल गुरुङ : 

गायक गोपाल गुरुङ कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । उनी सांस्कृतिक संघ कन्चनपुरका पूर्व उपसभापतिसमेत हुन् ।

वेदराज सिंह : 

सांस्कृतिक संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका वेदराज सिंह जाजरकोटबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । सिंह कलाकार हुन् ।

चीनु पोखरेल : 

गायिकाको रूपमा परिचित चीनु पाखेरेल तनहुँबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । उनी सांस्कृतिक संघका पूर्व केन्द्रीय सदस्य पनि हुन् । 

सविता महर्जन : 

डान्सरको रूपमा चर्चित सविता महर्जन काठमाडौंबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । उनी सांस्कृतिक संघको काठमाडौँ सभापति हुन् ।

राजु श्रेष्ठ : 

महाधिवेशन प्रतिनिधि बनेका गायक तथा लेखक राजु श्रेष्ठ बागमती प्रदेशमा कांग्रेसको महामन्त्रीसमेत निर्वाचित भएका छन् । उनी सांँस्कृतिक संघको पूर्व कार्यवाहक सभापति पनि हुन् ।

भाइकाजी श्रेष्ठ : 

गायक तथा डान्सर भाइकाजी श्रेष्ठ बाराबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । उनी सांँस्कृतिक संघको बाराका सभापति हुन् ।

टीका बस्याल : 

गायिकाको रूपमा चर्चित टीका बस्याल लमजुङबाट महाधिवेशन प्रतिनिधि बनेकी छन् । उनी नेपाल सांस्कृतिक संघ कैलालीकी पूर्व सदस्य हुन् ।

टीका पुन मगर : 

गायिका टीका पुन मगर बर्दियाबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । मगर नेपाल सांस्कृतिक संघकी बर्दिया सभापति हुन् ।

मुक्ता यादव : 

गायिका मुक्ता यादव धनुषाबाट महाधिवेशन प्रतिनिधि बनेकी छन् । नेपाल सांस्कृतिक संघको उनी केन्द्रीय सदस्य समेत हुन् ।

४ प्रतिनिधिका लागि ३५ को लडाइ

माथि चर्चा गरिएका कलाकर्मी आफ्नै बलबुताले महाधिवेशन प्रतिनिधि चुनिए । यो बाहेक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुभेच्छुक संस्थाको नाताले नेपाल सांस्कृतिक संघले ५ महाधिवेशन प्रतिनिधि पठाउने अवसर पाएको छ । ५ मध्ये एउटा कोटा संघका कार्यबाहक सभापति जनार्दन आचार्यको भागमा परेको छ । बाँकी रहेको ४ महाधिवेशन प्रतिनिधिका लागि संघमा  आवद्ध ३५ भन्दा बढी कलाकर्मीहरु इच्छुक देखिएका छन् ।

नेपाल सांस्कृतिक संघले पाएको ४ कोटामा जान इच्छुक कलाकर्मीमा संघका वर्तमान महामन्त्री रोशनी केसी, दुर्गा रायमाझीका अलावा नीर शाह, प्रविन ओझा, हरि कर्माचार्य, प्रदीप श्रेष्ठ, गौरी रिजाल, कृष्णकुमार गुरुङ, गंगाबहादुर पाण्डे, छिली नारायण पाण्डे, राधिका हमाल, वीरेन्द्र यादव छन् । त्यस्तै,  गोविन्द कोइराला, जहरुल हक, शंकरदत्त जोशी, लक्ष्य शाही, उमाशंकर जोशी, चन्द्र साउद, प्रकाश जैरु, विक्रान्त वस्नेत, उदीराम खड्का, सुमित खड्का, गीता रिमाल, रमेश कुमार धमला, बाबुराज केसी, अनिला पोखरेल, प्रज्ञा जोशी, कविता शर्मा गेलाल, मदन विक, वेदमणि अधिकारी, सकुन्तला प्रधान लगायत पनि इच्छुक रहेका छन् ।

महाधिवेशन प्रतिनिधिका आकांक्षी धेरै देखिएकोले नेपाल संस्कृति संघले अहिलेसम्म को को प्रतिनिधि भनेर पठाउने टुङ्गो लगाउन नसकेको संघका कार्यवाहक अध्यक्ष आचार्यले बताए ।

केन्द्रीय सदस्यमा उम्मेदवारी

फिल्म निर्देशक तथा नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । केही दिन अघि काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरी कलाकर्मीका हकहितका लागि अब राजनीतिमा आउनुपर्ने देखिएकोले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको थापाले बताएका थिए ।

थापाले भने, ‘हामी कलाकर्मीले राजनीति गर्नु हुँदैन, हाम्रा हक–अधिकारका लागि बोल्नु हुँदैन, हामी राष्ट्रका गहना हौं भन्दा भन्दै आज जुग वितेको छ ।’ राज्य र राजनीतिक दलले कलाकारलाई प्रयोग मात्र गरेकाले आफ्नो हक अधिकारको लागि राजनीतिमा सक्रिय हुनु परेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप