महाधिवेशनको पूर्वसन्ध्यामा रोमाञ्चक मोडमा काँग्रेस राजनीति
नेपाली काँग्रेसको राजनीति रोमाञ्चक मोडमा पुगेको छ । काँग्रेसका परम्परागत गुटहरू आवरणमा सग्लै छन् तर भित्रैभित्रै नराम्रोसँग भत्किसकेका छन् । यतिबेला नेताहरू गुटको होइन, आफ्नो राजनीतिक भविष्य जोगाउन केन्द्रित बनेका छन् ।
१४औँ महाधिवेशनका लागि प्रतिनिधिहरूको छनोटसँगै काँग्रेस राजनीतिले गुटको राजनीतिलाई छिन्नभिन्न बनाइदिएको छ । यद्यपी नेताहरू आफ्नो गुट यथावत रहेको सन्देश दिने कोशिसमा छन् । र, यसले सबैभन्दा ठूलो धोका गुट सम्हाल्दै आएका दोस्रो दर्जाका नेताहरुले बेहोर्ने पक्कापक्की छ ।
मंगलबार महामन्त्री डा. शशांक कोइरालाले सभापति पदको आफ्नो दौड वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि अन्त्य गरिदिएको घोषणा गरेका छन् । यसले पौडेल समूह एक हदसम्म बलियो भएको विश्लेषण गरिएको छ । तर, वास्तविकता भने धेरै नै फरक छ । महाधिवेशन प्रतिनिधि छनौटको अन्तिम नतिजासँगै कोईराला परिवारको लिगेसी धान्ने दौडमा रहेका डा. शशांक र डा. शेखरमाथि आफ्नो राजनीतिक भविष्य सुरक्षित राख्न रणनीति बदल्नुपर्ने चुनौती आइपरेको छ । निकै सामान्य र तडकभडकको राजनीति नगर्ने वीपी पुत्रले कसैलाई थाहा नहुने गरी आफ्नो राजनीतिक यात्रामा ‘यू टर्न’ लिएका छन् ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको निर्वाचनका सन्दर्भमापार्टीभित्रका विभिन्न समूहले गरेका आन्तरिक सर्वेक्षणहरूको नतिजाको भार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवातर्फ ढल्किएको निश्कर्षका बारेमा कसैले विमति जनाएका छैनन् । सर्सरी विश्लेषण गर्दा सात प्रदेशमध्ये निर्वाचन सम्पन्न भएका ६ प्रदेशमा देउवा पक्षले ४ प्रदेशमा विजयी हासिल गरेको छ भने २ प्रदेशमा इतर समूहले जितेको छ ।
निर्वाचन भएका ६१ जिल्लामध्ये ३४ जिल्लामा देउवा पक्षले जित हात पारेको छ भने इतर पक्षले २७ जिल्लामा जितेको छ । प्रदेश र जिल्लाको निर्वाचनमा देउवाले कृष्ण सिटौला पक्षको साथ पाएका छन् । विगतमा देउवासँग निकट रहेका तर १४औँ महाधिवेशनमा सभापतिको पदमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिको तुलनात्मक रुपमा होल्ड रहेको मानिएको २ नम्बर प्रदेशमा निर्वाचन भएको छैन । निर्वाचन हुन बाँकी रहेका १६ जिल्लामध्ये पनि बहुमत जिल्ला प्रनिनिधि देउवाको पक्षमा रहेको मानिएको छ ।
प्रदेश र जिल्ला निर्वाचनको तथ्यले मात्रै भूगोलबाट चुनिएर आउने ४३ सय प्रतिनिधिको समर्थनको प्रनिधितित्व पक्कै पनि गर्दैन । देउवा पक्षले जितेको जिल्लामा पनि इतर पक्षका बहुमत महाधिवेशन प्रतिनिधि हुन सक्छन् र यही नियम इतर पक्षका लागि पनि लागू हुन्छ । तर, बृहत्तर रुपमा कसको पक्षमा समर्थन ढल्किएको छ भन्ने तथ्यलाई भने यसले देखाएको मान्न सकिन्छ ।
यस पृष्ठभूमिमासभापति देउवा इतरको सम्पूर्ण शक्ति एकजुट नभएसम्म देउवालाई हराउन सम्भव नरहेको तथ्यलाई भने इतर समूहका सबै सभापतिका आकांक्षीले सहर्ष स्वीकार गरेका छन् । यसका वावजुद पनि परिस्थिति सहज नरहेको आन्तरिक विश्लेषणमा रहेका कोईराला बन्धुहरूका लागि राजनीतिको पारिवारिक लिगेसीलाई बचाईराख्न अहिले नै १५औँ महाधिवेशनका बारेमा पनि उत्तिकै घोत्लिनु जरूरी भइसकेको छ । सम्भवतः डा. शशांक रामचन्द्र पौडेललाई समर्थन गरेको नाममा यो रणनीतिमा एकहदसम्म अगाडि बढिसकेका छन् ।
डा. शेखर र डा. शशांकले आफ्नो जीवनमा एकपटक काँग्रेस सभापति बन्ने महत्वकांक्षा राखेका छन् । यदि १४औँ महाधिवेशन अनुकूल नभए उनीहरूका लागि अर्को महाधिवेशन कुर्नुको विकल्प छैन । त्यसका लागि मंसिर तेस्रो साताका चिसिदै गएका यी दिनहरूमा उनीहरुले आगामी पाँच बर्षको रणनीतिक पाइला चाल्नैपर्ने अवस्था छ । त्यसैले डा. शशांकले यसपटक शेखर दा वा रामचन्द्र पौडेलका लागि आफूले त्याग गरेको सन्देश दिइसकेका छन् ता कि अर्को महाधिवेशनमा पनि आफूले त्याग गर्नु नपरोस् । सामान्य रुपमा अहिलेका लागि उनी सभापतिको दौडबाट बाहिरिएका छन् ।
र, डा. शेखर १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर जोखिम मोल्ने मुडमा छन् ता कि काँग्रेसमा देउवापछिको शीर्ष नेता उनै हुन् भनेर स्थापित गर्न सकियोस् । १४औँ महाधिवेशन आफ्ना लागि ‘आए आँप गए झटारो’का रुपमा उनले प्रयोग गर्न खोजिरहेको देखिन्छ ।अर्थात्, कोईराला परिवारका एक सदस्य त्याग गरेर नेता हुने सन्देश दिइरहेका छन् भने अर्का सदस्य देउवासँग भिड्न सक्ने हिम्मतिला नेता बनेर । दुवैको बाटो अहिले फेरिएको छ तर पुग्ने गन्तब्य भने काँग्रेस सभापतिको कुर्सीमै हो ।
अब चुनाव आउन केही दिन मात्रै बाँकी रहेको अवस्थामा काँग्रेस राजनीतिको खेलले नयाँ मोड लिने लगभग पक्का छ जुन खेलमा हार्ने खेलाडीहरूको अनुहार भने बर्षौदेखि देउवाको सेवामा हाजिर रहेका दोस्रो दर्जाका नेताहरूको हो ।
डा. शशांकसभापतिको दौडबाट बाहिरिएपछि उनको स्वाभाविक उम्मेदवारी उपसभापतिमा हुनेछ । उनले राजनीतिबाट सन्यास लिएका होइनन् । वीपी कोईरालाको पुत्र, सभापतिको शसक्त दावेदार र वहालवाला महामन्त्री उपसभापतिको उम्मेदवार बनेपछि काँग्रेसी मतदाताहरूले कम्तिमा उनलाई भोट हाल्न आफू कुन गुटबाट आएको हो भनेर मात्रै बाँधिने छैनन् । शेरबहादुर देउवाका लागि आफ्नो सभापति पदको सुनिश्चितताका लागि बलियो राजनीतिक लिगेसी बोकेको ‘राजकुमार’ को खाँचो छ । त्यसका लागि उनको पहिलो आँखा डा. शशांकमै छ ।
केही दिनअघि डा.शशांकले डा. शेखरका लागि सभापति पदमा समर्थन गरेको घोषणा गर्न पत्रकार सम्मेलनको आयोजना गर्दै गर्दा डा. शशांक बालुवाटारबाट संखुवासभाको होलिकप्टर यात्रामा निस्किनुपछाडिका रहस्यहरु यससँगै जोडिएर आउँछन् ।
यहाँनेर काँग्रेसको १३औँ महाधिवेशनको परिदृष्यलाई पनि एकपटक स्मरण गर्नुसान्र्दभिक हुनेछ । त्यतिबेला डा. शशांक रामचन्द्र पौडेल समूहकोतर्फबाट महामन्त्रीका उम्मेदवार थिए । देउवा समूहबाट सोही पदमा उम्मेदवार थिए, अर्जुननरसिँह केसी । सभापति पदमा देउवाले निर्वाचन जित्दा उनका महामन्त्रीका उम्मेदवार केसीले हारेका थिए । त्यतिबेला देउवा र शशांकबीच एकअर्कालाई सहयोग गरेर दुवै जनाले चुनाव जित्ने अन्तिम रणनीतिमा दुवै जना इमान्दार बनेका थिए । १४औँ महाधिवेशनमा पनि देउवा सोही रणनीतिलाई दोहोर्याउन धेरै नै प्रयास गरिरहेका छन् । चुनावी दिनहरु नजिकिदै जाँदा देउवा र शशांकबीचको तालमेल मिल्दै गएको छ ।
गोप्य बैठकहरुमा देउवाले मैले वीपी कोइरालाको छोरालाई मात्रै सभापति पद हस्तान्तरण गर्न चाहन्छु भनेर बारम्बार दोहोर्याइरहेका छन् । उमेरले ८० बर्षको नजिकमा रहेका देउवाले यस महाधिवेशनपछिको कार्यकालमा कार्यवाहक सभापतिको जिम्मेवारी शशांकलाई सुम्पिनेछु भनेर उनलाई आश्वस्त पनि तुल्याइरहेका छन् । र, १५औँ महाधिवेशनमा वीपी पुत्रलाई सभापति पद हस्तान्तरण गरेर सम्मानित रुपमा राजनीतिबाट बाहिरिने देउवाको रणनीति उनलाई काँग्रेसीजनमा दिगो सम्मान आर्जन गर्ने माध्यम हो भन्नेमा उनी प्रष्ट छन् ।
हो, यही रणनीतिक विकल्पका आधारमा डा. शशांकले सहज रुपमा सभापति पदको दौड त्यागी दिएका हुन् । अहिले सभापति पदमा चुनाव लड्दा जित्ने सम्भावना एकदमै न्यून रहेको अवस्थामा आगामी दिनमा काँग्रेसको सत्तामा रहने उनको सबैभन्दा सहज बाटो यही हो । आफ्नो पिताले जन्माएको पार्टीमा सभापतिको पदमा पुग्ने बाटो पनि यही हो भन्ने उनले बुझेका छन् ।
डा. शेखरका लागि भने चुनावी मैदानमा उत्रिएर र देउवापछिको नेता आफू हुँ भन्ने स्थापित नगरेसम्म सभापतिको पदमा पुग्ने बाटो असहज रहिरहनेछ । राजनीति अनेक सम्भावनाहरुको खेल हो । हुनसक्छ, त्यही सम्भावनाकाबीच यस पटक नै सभापतिको पद हात लाग्यो भने उनको ठूलो विजय भैहाल्यो । चुनाव हारे पनि अर्को पटकका लागि सभापति पद प्राप्तीको बाटो जोगाइराख्ने हतियार पनि यसपटक चुनाव लड्नु नै हो । त्यसैले, शेखर चुनाव लडेर सभापतिको कुर्सीमा पुग्ने सम्भावना बाँकी राख्न चाहन्छन् । काँग्रेसभित्रको परिस्थिति कस्तो छ भने रामचन्द्र पौडेल वा शेखरलाई समर्थन गरेर अर्का ‘राजकुमार’ प्रकाशमान सिंह उपसभापतिका प्रत्याशी भए भने गणेशमान सिंहको राजनीतिक लिगेसी उनैले प्राप्त गर्नेछन् । र, उपसभापति पदमा उनको जित लगभग सुनिश्चित मानिनेछ । यस परिस्थितिमा देउवा आफू सभापति बनिरहदा उनको समूहबाट उपसभापतिको टिकट पाउने सम्भावित उम्मेदवारहरु पूर्णबहादुर खड्का, विजयकुमार गच्छदारहरू भने सूचीमा नपर्न सक्छन् ।
देउवाका लागि अर्को रणनीतिक पात्र हुन्, कृष्ण सिटौला । राजनीतिका चतुर खेलाडी मानिएपनि गिरिजाप्रसाद कोइरालाको निधनपछि उनको राजनीति कमजोर बनिरहेको छ । गत महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर निकै थोरै मात्र मत पाएका सिटौला यसपटक देउवाको प्रिय पात्रका रुपमा उपसभापति बन्ने दौडमा छन् । देउवाले सिटौलालाई साथमा लिएर जिल्ला, प्रदेश र महाधिवेशन प्रनितिधि निर्वाचनमा उनको पक्षमा रहेका मतहरु आफ्नो पक्षमा पारिरहेका छन् । प्रदेश नम्बर १ को सभापति पदमा २ भोट बढीले जित्न पाउनुमा सिटौलाको योगदान छ । के विश्वास गरिएको छ भने गगन थापाले साथ छाडे पनि यसपटक सिटौलाको पक्षमा देशभरबाट करिब ३ सय मत सुरक्षित छन् । यी भोट देउवाका लागि अति नै महत्वपूर्ण छन् । पहिलो चरणमै सभापतिमा विजयी हुने उनको दृढविश्वासमा सिटौलाकै भर छ ।
आफ्नो पक्षका विमलेन्द्र निधि सभापतिको उम्मेदवार हुँदा गुम्ने भोटको आपूर्ति गर्ने विकल्प पनि अहिले सिटौला नै बनिरहेका छन् । निधिसँग प्रदेश नम्बर २ मा रहेको करिब ८ सय मतमध्ये २ सय मत छ भन्ने आँकलन गरिएको छ । निधिले २ नम्बर प्रदेश र अन्य प्रदेशमा खासै क्षति पुर्याउन सक्दैनन् भन्नेमा देउवा प्रष्ट छन् । कर्णाली प्रदेशमा निधिले सभापतिको उम्मेदवार बनाएका मोतीराज बमले ७ मत मात्रै प्राप्त गरेको नजिरले पनि उनको प्रभाव खास छैन भन्ने देखाउँछ । निधिले क्षति पुर्याउने भोट सिटौलाबाट सहजै परिपूर्ति हुने विश्वासमा देउवा छन् ।
देउवाले सिटौलालाई पनि उही आश्वासन दिएका छन्– कार्यवाहक सभापति दिने । अर्कोपटक सभापति बनाउन सहयोग गर्ने ।देउवा सबैलाई सबै कुरा बाँड्न उदार छन् । सिटौलाका लागि उधारो कार्यवाहक सभापति पद स्वीकार गर्नु अहिले विवशता छ । १३औँ महाधिवेशनमा आफ्नो साथ पाएर सभापति बनेका देउवाले आफैमाथि गरेको घातलाई समेत विर्सिएर अहिले सिटौला देउवाकै लागि काम गरिरहनुमा यही विवशता झल्किन्छ । किनभने गगनले साथ छाडेपछि उनको गुट झनै खुम्चिएको छ ।
तर, डा. शशांक र प्रकाशमान उपसभापतिको उम्मेदवार बने भने सिटौलाको कार्यबाहक सभापति बन्ने सपना मात्रै होइन, उपसभापति पद पनि सपनामै सीमित रहनेछ ।
देउवाका उदार आश्वासन प्रायः उधारो नै सावित रहने गरेका नजिर छन् । १३औँ महाधिवेशनमा खुमबहादुर खड्काको समर्थन पाउन उपसभापति पद दिने सहमतिलाई उनले कहिल्यै पुरा गरेनन् । देउवाले खड्काको निधनपछि मात्रै विमलेन्द्र निधिलाई उपसभापति बनाएका थिए ।
दुईवटा महामन्त्रीमध्ये एउटा महामन्त्री पद देउवाले गुमाउने करिब निश्चित नै छ । किनभने यसपटक देउवा इतर समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले सजिलै चुनाव जित्नेछन् भनेर विश्वास गरिएको छ । दोस्रो महामन्त्री पदमा देउवा खेमाबाट बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, डा. प्रकाशशरण महत, रमेश लेखकहरुको चर्चा छ । निधि समूहबाट विश्वप्रकाश शर्मा र सिटौला समूहको प्रतिनिधित्व गर्दै प्रदीप पौडेल महामन्त्री पदमा उम्मेदवार बन्ने बताएका छन् ।
यस पृष्ठभूमिमा यदि सिटौलाले देउवासँग बार्गेनिङ गर्न सके भने आफ्नो समूहका प्रदीप पौडेललाई गगनपछिको बलियो उम्मेदवार बनाउन सम्भव छ । त्यसो नभएको अवस्थामा पनि विश्वप्रकाश शर्माको उम्मेदवारी देउवालाई भारी पर्न सक्छ । किनभने शर्माले पार्टी प्रवक्ताका रुपमा देउवालाई साथ दिदै आए । त्यसैले देउवा समर्थकहरुको एउटा पंक्तिले विश्वप्रकाशलाई भोट हाल्न सक्ने सम्भावना रहिरहन्छ । नेतृत्व परिवर्तनको नारा चलिरहँदा काँग्रेसमा एउटा जोडीको नाम सँगै जोडिएर आउने गर्छ– गगन, विश्वप्रकाश । हुनसक्छ, गगनलाई पहिलो भोट हाल्नेले दोस्रो भोट विश्वप्रकाशलाई हाल्नेछन् । देउवा खेमाबाट उम्मेदवार बन्ने अन्य उम्मेदवारहरु सत्ता र शक्तिमा रहेका भए पनि उनीहरुको अनुहार कार्यकर्ता पंक्तिमा त्यति लोकप्रिय देखिँदैन ।
१४औँ महाधिवेशनमा केही ध्यान दिनैपर्ने पक्ष छन् । यसपटक करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ आएका छन् । कुल प्रतिनिधिमध्ये २७ प्रतिशत युवा छन् । हो, यिनै भोटरहरुका कारण काँग्रेसको महाधिवेशनले नयाँ गन्तव्य लिन सक्नेछ भन्ने आधार प्राप्त भएको हो । सायद आफ्नो गुटका प्रतिनिधिहरुको सँख्या कमजोर छ भन्ने थाहा पाउँदा पाउँदै पनि काँग्रेसमा परिवर्तन चाहने प्रतिनिधिहरुको बाहुल्य छ भन्ने निश्कर्षकासाथ डा. शेखर कोईराला सभापतिको मैदानमा उत्रिन चाहेका हुन् । यी भोटरले गुट मात्रै होइन, काँग्रेसको लिगेसी र काँग्रेसलाई नेतृत्व दिन सक्ने अनुहारहरुलाई छानी–छानी भोट हाल्नेछ भनेर पनि विश्वास गरिएको छ । यो अवस्थामा हुनसक्छ, जुनसुकै गुटबाट उम्मेदवार बनेका होऊन्, गगन–विश्वप्रकाशले महामन्त्रीमा बाजी मार्न बेर छैन ।
योभन्दा तलका पदहरुमा पनि यही ट्रेण्ड कायम हुन सक्छ । यी प्रतिनिधिहरुले सभापतिमा देउवालाई हराउन सकेनन् भने पनि त्योभन्दा तलका पदहरुमा देउवाले टिकट दिएकाहरुलाई वास्ता नगर्न सक्छन् ।देउवा आफ्ना विश्वासपात्र फौजविनाको सेनापति बन्ने सम्भावना उत्तिकै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती