शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकट प्रचलनमा

बुधबार, २२ मङ्सिर २०७८, १७ : २८
बुधबार, २२ मङ्सिर २०७८

राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिरअंकित हुलाक टिकटमा सरकारले टाँचा प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३० प्रतिमा टाँचा लगाएसँगै घिमिरेको तस्बिरअंकित टिकट प्रचलनमा आएको हो । १०१ वर्षको उमेरमा घिमिरेको निधन २०७७ भदौ २ गते भएको थियो ।

२०७७ माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकट प्रकाशन स्वीकृति दिने निर्णय गरेको थियो । घिमिरेको तस्वीरअंकित हुलाक टिकट डिजाइन हुलाक सेवा विभागकी कला अधिकृत पूर्णकला लिम्बूले गरेकी हुन् ।

१० रुपैयाँ मूल्य राखिएको टिकटको आकार चौडाइ ३५ एमएम र लम्बाइ ४५ एमएम (ठाडो) छ । टिकटमा पाँचवटा रङ प्रयोग गरिएको छ । १० लाख प्रति छापिएको टिकट अफसेट लिसोग्राफी प्रकृयाबाट तयार गरिएको लिम्बूले जानकारी दिइन् ।

घिमिरेको तस्बिरअंकित टिकट मुद्रण इन्डोनेशियाको पेरुम पेरुरी कम्पनीले गरेको हो । नेपाल कोरोना महामारी चपेटामा परेका बेला टिकट बनाइएको र घिमिरेका परिवार सदस्यले सघाएका कारण सम्भव भएको लिम्बूले बताइन् ।

विभागीय मन्त्री कार्कीले ३० वटा टिकटमा हस्ताक्षर गरी टाँचा लगाएका हुन् । त्यसरी टाँचा लगाइएको एकप्रति टिकट सम्झनास्वरूप घिमिरेका परिवारलाई पनि उपलब्ध गराइएको छ । घिमिरेकी छोरी डा. किरण रेग्मीले राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकटलाई टाँचा प्रदान गरेकोमा सरकारलाई धन्यवाद दिइन् ।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका व्यवस्थापक नोकबहादुर बस्यालले टाँचा लगाएसँगै घिमिरेको तस्बिरअंकित हुलाक टिकट आजदेखि बिक्रीवितरण र प्रचलनमा ल्याइएको बताए । नयाँ टिकट तयार गरेपछि टाँचा लगाएरमात्र बिक्रीवितरण गर्न पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप