शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि उत्पादन बजारीकरण गर्न किसानलाई ढुवानी साधन हस्तान्तरण

बुधबार, २२ मङ्सिर २०७८, १७ : १५
बुधबार, २२ मङ्सिर २०७८

हेफर इन्टरनेशनल नेपालले कृषि सहकारीलाई कृषि ढुवानीको साधन प्रदान गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार एक समारोहका बीच रुपन्देहीमा उक्त सवारी साधनको चाबी सहकारीका ४७ सदस्यलाई हस्तान्तरण गरे । सवारी साधन हस्तान्तरण गर्दै प्रमुख प्रमुख शेरचनले  हरेक तहका सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक योजना तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए । यस्तै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले दिगो विकास लक्ष्य प्राप्ति हुने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाहरु निर्माण गरिएको दाबी गरे । प्रदेशले कृषिलाई नै केन्द्रबिन्दु मानेर काम गरेको उनको भनाइ छ ।

हेफरका कार्यक्रम संयोजक अनन्तराम सिलवालले कृषिजन्य उत्पादन बजारीकरणका क्रममा नियमित ढुवानी सेवा उपलब्धता प्रमुख समस्या रहेको भन्दै त्यसको समाधानका लागि सहकारी तथा हेफर इन्टरनेशनलको आर्थिक साझेदारीमा ढुवानीका साधनहरू सहकारीको स्वामित्वमा व्यवस्थापन गर्ने गरी प्रदान गरिएको बताए ।

उनले पहिलो चरणमा २८ वटा र हाल ४७ वटा गरी जम्मा ७५ वटा सवारी साधन कृषि सहकारीलाई प्रदान गरिएको बताए । ढुवानीका साधनमा सहकारी र हेफरको ५०/५० प्रतिशत लगानी छ ।

हेफरका कार्यकारी निर्देशक डा. तिर्थ रेग्मीले मूल्य शृङ्खलामा आधारित बजार प्रणाली विकास तथा प्रवर्द्धन गरी देशभर १६० संकलन केन्द्र तथा ५२३ शाखा संकलन केन्द्र स्थापना गरी दूध, तरकारी तथा खसीबोकाको बजारीकरण गर्दै आएको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचेतक तुलाराम घर्ती, काँग्रेस सचेतक निर्मला क्षेत्री, एमाले सचेतक सरस्वती गौतम, तानसेन नगरपालिकाका मेयर अशोक शाही लगायतले आफ्नो धारणा राखेका थिए । हेफरले प्रदेश १ का झापा र मोरङमा ३ वटा, प्रदेश २ को सर्लाहीमा १, महोत्तरीमा १, बाग्मती प्रदेशको चितवनका ३, धादिङका ३, सिन्धुलीका १ तथा नुवाकोटका २ वटा सहकारीलाई सवारी साधन प्रदान गरेको हो ।

यसैगरी गण्डकी प्रदेशबाट बाग्लुङका २, नवलपरासीका २, कास्कीका २, लमजुङका १, तनहुँ र पर्वतका १/१ वटा कृषि सहकारीलाई सवारी साधन प्रदान गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका दाङका १, पाल्पाका ७, प्युठानका १, बाँकेका ५, गुल्मीका २, कपिलबस्तुका १, कर्णाली प्रदेशबाट बर्दियाका ३ र सुर्खेतका २ गरी ४७ वटा सहकारीलाई सवारी साधन प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप