बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : महोत्तरीमा अझै मिलेन कुरा, सर्लाहीमा चुनाव हुँदै

बुधबार, २२ मङ्सिर २०७८, १७ : ०३
बुधबार, २२ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ तर प्रदेश २ का विभिन्न जिल्लामा अझै क्षेत्रीय अधिवेशन हुन सकेको छैन । काँग्रेसको विधानअनुसार क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुन्छ ।

महोत्तरीको क्षेत्र नम्बर ३ मा रामचन्द्र पौडेल पक्षले धाँधली गरी अधिवेशन गराएको भन्दै केन्द्रले त्यसलाई रद्द गरेको थियो । त्यहाँ पुनः अधिवेशन हुने भएको छ । बुधबार महोत्तरीमा उत्पन्न विवाद मिलाउन नेताहरु छलफल गरिरहेका छन् ।

‘अझै कुरा मिलेको छैन,’ जिल्ला सभापति महेन्द्र यादवले भने, ‘नेताहरुको बीचमा छलफल भइरहेको छ, सहमति भएपछि अधिवेशन हुन्छ ।’ महोत्तरी क्षेत्र नम्बर ३ मा अधिवेशन आयोजना स्थलका बारेमा विवाद देखिएको छ । रामचन्द्र पौडेल पक्षले पिप्राको रामनारायण उच्च माविमा अधिवेशन गर्नुपर्ने अडान लिएको छ भने शेरबहादुर देउवा पक्ष जलेश्वरमा अधिवेशन हुनुपर्ने अडानमा छ ।

यसअघि पिप्राको रामनारायण उच्च माविमा अधिवेशन हुँदा धाँधली भएको थियो । पुनः त्यही ठाउँमा अधिवेशन गर्नुपर्ने अडान पौडेल पक्षको छ, जसमा देउवा पक्षले सहमति जनाइरहेको छैन । यही क्षेत्रको विवादका कारण प्रदेश २ को अधिवेशन स्थगित भएको थियो । प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने घोषणा गरिएको छ ।

यस्तै, सर्लाहीको क्षेत्र नम्बर ४ मा अधिवेशन सम्पन्न भइसकेको छ । बुधबार सर्लाही क्षेत्र नम्बर १, २ र ३ मा अधिवेशन भइरहेको छ । त्यसको परिणाम साँझसम्म आइपुग्ने जिल्लाका काँग्रेस सभापति नागेन्द्र राय यादवले बताए ।

प्रदेश २ बाट हालसम्म ७५७ जना केन्द्रीय प्रतिनिधि चुनिएका छन् । महोत्तरीको क्षेत्र नम्बर ३, सर्लाहीको क्षेत्र नम्बर १, २ र ३ को महाधिवेशन प्रतिनिधि चयन गर्न बाँकी छ । सप्तरीबाट १०४ जना केन्द्रीय प्रतिनिधि चुनिएका छन् भने सिरहाबाट १०५, धनुषाबाट १०४, महोत्तरीबाट ७८ जना केन्द्रीय प्रतिनिधि आएका छन् भने महोत्तरीको क्षेत्र नम्बर ३ मा अधिवेशन हुन बाँकी छ ।

रौतहटबाट १०७ जना केन्द्रीय प्रतिनिधि चुनिएका छन् भने बाराबाट १०४ र पर्साबाट १०३ जना चुनिएका छन् । सर्लाहीमा मंगलबार सम्पन्न क्षेत्र नम्बर ४ को अधिवेशनबाट २६ जना प्रतिनिधि चुनिएका छन् जसको तथ्यांक केन्द्रीय कार्यालयलाई प्राप्त भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप