खोटाङमा कोभिशिल्ड र एस्ट्राजेनेकाको दोस्रो मात्रा दिन सुरू
बुधबार, २२ मङ्सिर २०७८, १६ : ३९

खोटाङमा गत भदौ र असोजमा कोभिड– १९ विरुद्ध कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा दिन सुरू गरिएको छ । १५ र १६ भदौ तथा ४ र ५ असोजमा कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई मंगलबार र बुधबार दोस्रो मात्रा दिन लागिएको हो ।
एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई पनि कोभिशिल्ड खोप दिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । भदौ र असोजमा सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका १३ हजार नागरिकले कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाएका थिए ।
तिनै नागरिकलाई अहिले कोभिशिल्डको दोस्रो मात्राको खोप दिन थालिएको हो । पहिला एस्ट्राजेनेका खोप लगाएकाले पनि कोभिशिल्ड खोप लगाउन मिल्ने सिग्देलले बताए ।