बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कलाक्षेत्रमा लैङ्गिक हिंसा पारिश्रमिक शोषणदेखि सेक्सुअल अब्युजसम्म

‘सिनियर अर्टिस्टले बोलेको शब्दले सिरियल नै छाडेँ’ –रश्मी भट्ट
बुधबार, २२ मङ्सिर २०७८, १४ : ११
बुधबार, २२ मङ्सिर २०७८

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अहिले विश्वभर जारी छ । यो अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि भन्दै सन् १९९१ मा सेन्टरफोर वुमन्स ग्लोवल लिडरसीप (सीडब्ल्यूजीएल) को सहयोगमा विभिन्न २३ देशका महिला अधिकारकर्मी समूहले गरेका थिए । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय रुपमा विश्वव्यापी रुपमा यो अभियान मनाइन्छ । विविध कार्यक्रम गरी १६ दिने अभियान विश्वभर मनाउन थालेको तीन दशक नाघेको छ ।

नेपालमा पनि लैङ्गिक हिंसा व्याप्त छ । देशको विभिन्न क्षेत्रमध्ये नेपाली कलाक्षेत्रमा समेत लैङ्गिक हिंसा ब्यापक देख्न सकिन्छ । कलाक्षेत्रमा पारिश्रमिक शोषणदेखि सेक्स अब्युजसम्मका लैंगिक हिंसा बेलाबेलामा बाहिरने गरेको छ । कलाक्षेत्रमा के कस्ता लैङ्गिक हिंसा छन् ? यो प्रश्न रातोपाटीले कलाक्षेत्रका केही व्यक्तिलाई राखेको छ । जवाफ उनीहरुकै शब्दमा :

कलाक्षेत्रमा महिला हिंसा धेरै

करिश्मा मानन्धर (अभिनेत्री)

लैङ्गिक हिंसा सबैतिर छ । यसमा बढी महिला पीडित छन् । तर कलाक्षेत्रका हिंसा बाहिर आउने भएकाले अन्यभन्दा धेरै देखिएको हो । कोरोनापछि त अनगिन्ती हिंसाको घटना भएको सामाजिक सञ्जालबाटै थाहा पाइएको छ ।

एक दुई जनाले नराम्रो नियतले छुने, हेर्ने गरेको मैले पनि भोगे । त्यसलाई ‘इग्नोर’ गरेको र आफू कडा रुपमा प्रस्तुत भएका कारण त्यसपछि हिंसा भोग्नु परेन । दुइ दशक पहिले मेरो करियर उत्कर्षमा पुगेको समय एक अर्काेप्रतिको विश्वास, श्रद्धा र महिलाप्रतिको सम्मान अहिलेभन्दा बढी थियो । सायद त्यसैले पनि होला आफू हिंसामा परेको महसुस भएन ।

अहिले पनि पुरुषको तुलनामा कलाक्षेत्रमा महिलालाई पारिश्रमिक थोरै छ । त्यसलाई ‘डोमिनेट’ भन्छु म । यो पनि एक हिंसा नै होला । पहिले फिल्मकर्मी महिलाका लागि विभिन्न हिंसा हुन्छ कि भनेर सचेत थिए, इज्जतमा दाग लाग्छ भनेर डराउँथे । अहिले त्यस्तो डर कसैमा छैन ।

केलाई हिंसा भन्ने ?

सञ्चिता लुइटेल (अभिनेत्री)

केलाई हिंसा भन्ने ? पारिश्रमिक असमानताको कुरा गर्ने हो भने हरेक क्षेत्रमा यस्तै छ । फिल्म क्षेत्रमा पनि महिलाको काम पुरुष भन्दा बढी भएपनि पारिश्रमिक थोरै छ । यो पनि मनोवैज्ञानिक तरिकाले गरिएको एक किसिमको लैङ्गिक हिंसा नै हो ।

बलिउड, हलिउड हेर्दा पनि हाम्रो पितृसत्तात्मक समाजको दृष्टिले कलिउडमा पनि यो नर्मल हो । महिला भएको हिसावले मैले यो गर्नु हुँदैन, यस्तो बोल्नु हुँदैन, यसरी हिँड्नुपर्छ भन्ने अनेक खालका डर छ । त्यो पनि हिंसा नै हो । यस्तो डरत्रास फिल्म क्षेत्रमा पनि छ । सहकर्मीदेखि युनिट सदस्यसम्मले हामी महिलालाई गिद्दे नजरले हेर्ने, शरीरका विभिन्न भाग छुन खोज्छन् ।

कतिपय युनिटका सदस्यले गर्ने क्रियाकलापले त हामीलाई सिधै हिंसा भएको बोध हुन्छ । तर विभिन्न कारणले चुपचाप बस्नुपर्ने अवस्था छ । मेरो विचारमा कलाक्षेत्रमा आफू सोझो रुपमा प्रस्तुत भयो भने धेरै हिंसाको सिकार हुनुपर्दाे रहेछ ।

आफैमा त्यो नपरेपनि युनिटका महिला सदस्यले भोगेका अनेक हिंसाको जानकारी छ मसँग । म हिंसा विरुद्धको आवाज बुलन्द गर्दै आएकी छु । महिला भएका कारणले फिल्म क्षेत्रमा मात्र होइन, बाटो, गाडी, घरलगायत हरेक क्षेत्रमा हिंसा हुन्छ ।

नव–प्रवेशीका लागि झन् हिंसा

दीपाश्री निरौला (अभिनेत्री/निर्देशक)

कसैलाई आँखा ठूलो गरेर हेर्नु पनि हिंसा नै हो । तर कलाक्षेत्रमा महिलाका लागि सबैभन्दा ठूलो हिंसा असमान पारिश्रमिक हो । पुरुष कलाकारको तुलनामा पारिश्रमिक महिलालाई थोरै दिने चलन छ । मेकअप म्यान, स्पोट ब्वाइदेखि निर्देशकसम्म हेर्ने नियत खराब हुन्छ भनेर बाहिर आएकै बिषय हो ।

नव–प्रवेशीका लागि झन् धेरै हिंसा हुन्छ । त्यसमा पनि पुरुषको तुलनामा महिला बढी पीडित छन् । मेरो विचारमा महिला आफै सचेत नभएसम्म र हिंसा गर्नेको विरुद्ध उजुरीदेखि ब्यक्तिका नियत सार्वजनिक गर्ने क्रियाकलाप नगरेसम्म हिंसा रोकिन्न । केही हदसम्म महिलाको छाडा बोलचाली, सामाजिक सञ्जालमा गरिने अश्लील प्रकृतिको क्रियाकलापले उनीहरुप्रति हिंसा गर्न पुरुषलाई प्रेरित गरेको हुन्छ । यी सबै कुरामा हामी पनि सचेत हुनुपर्छ । यदि कसैले महिला भएकै कारणले हिंसा गर्छ भने हामी ‘दुर्गा, काली’ भएर प्रस्तुतसमेत हुन सक्नुपर्छ ।

पीडकलाई सजाय

केकी अधिकारी (अभिनेत्री)

फिल्म क्षेत्रमा लैङ्गिक हिंसाको कुरा गर्ने हो भने महिला र पुरुषका बेमेलहरु धेरै छन् । आफैले भोगेको, देखेको भन्नुपर्दा कहिलेकाँही असज परिस्थिति बन्ने, महिनावारीको बेलामा क्यामरा छुन नदिनेदेखि अन्य भेदभाव गर्नेलगायत थुप्रै छ ।

ब्यक्ति विशेषले गर्ने हिंसा त कति कति । धेरै कुरा बाहिर आएकै छ । त्यसविरुद्ध कानुन पालना गराउने निकायमा उजुरीसमेत परेका छन् । महिला भएकै कारणले विभेदसमेत धेरै भोग्नुपर्छ फिल्म क्षेत्रमा । भर्खर स्ट्रगलको पिरियडमा मानिसले दुईअर्थी शब्दको प्रयोग र घुमाउरो कुराले सेक्स अप्रोच, विभिन्न बहानामा शरीर छुनेसमेत गर्ने रहेछन् । सुरुका समय त्यो नबुझेपनि बिस्तारै बुझिदो रहेछ ।

मेरो विचारमा महिला कलाकारमा कुनै न कुनै रुपमा सधै हिंसा परेकै हुन्छ । सेक्सुअल अब्युजको कुरो भने मैले अहिलेसम्म त्यति देखेको छैन । लैङ्गिक रुपमा हुने हिंसाबाट बच्न सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा र सचेतना हो । अर्काे कुरो पीडकलाई सजाय र सजायको सार्वजनिकी हो ।

कुनैपनि हिंसा निडर भएर बाहिर ल्याउने हो भने आफ्नो मात्र हैन समाजकै आधा महिला हिंसा कम हुन्छ भन्ने मेरो धारणा हो । महिलामा मात्र होइन, पुरुषले पनि फिल्म क्षेत्रमा महिलाबाट हिंसा भोगेका छन् । महिलाले कथा बनाएर भन्यो भने सबैले पत्याउँछ । पुरुषको कस्ले पत्याउने ।

पुरुष पनि हिंसा पीडित

पनाह अधिकारी (अभिनेत्री)

फिल्म क्षेत्रमा महिला हिंसा बढी हुन्छ, यो मैले पनि सुनेकी छु । अभिनेत्रीका साथै लेखक, निर्देशक पनि भएकोले होला, मैले खासै भोग्नु परेको छैन । तर केही हिंसाबाट म पनि पीडित छु । पारिश्रमिक कम दिने, नदिने, खराव नियत, कथा र बिषयबस्तुले नमागे पनि विभिन्न बहानामा महिलालाई नङ्ग्याउनेलगायत अनेक हिंसा छन् ।

अभिनय सिकाउने र मेकअप राम्रो गर्ने बहानामा पनि हामी जानी नजानी हिंसाको सिकार भइरहेको हुन्छौं । हामी पुरुष सरह फ्याङ फ्याङ हुन खोज्दा चरित्रमा समेत औंला उठ्छ । अनेक कुरा काटेर पीडित बनाइन्छ । कतिपय अवस्थामा महिला आफ्नै कारणले पनि हिंसाका सिकार भएका हुन्छन् ।

हिंसा गर्नेमा निर्माता, निर्देशकदेखि युनिटका तल्लो तहका सदस्यसम्म पर्दछन् । हिंसाका प्रकृति भने फरक फरक हुन्छ । हिंसाको कुरा गरेर सकिन्न । महिला मात्र होइन, फिल्म क्षेत्रमा पुरुष पनि धेरै हिंसा पीडित हुन्छन् । महिलाले कथा बनाएर भन्यो भने सबैले पत्याउँछन्, केटाले भनेको कसले पत्याउने ?

हिंसाका कारण सिरियल छाडेँ

रश्मी भट्ट (चरित्र अभिनेत्री)

समाजले महिलामा हुने हिंसा भनेर बलात्कार मात्र देख्छ । त्यो मात्र होइन, एक महिलाले आफूलाई असहज महसुस गरेको सवै क्रियाकलाप हिंसाअन्तर्गत पर्दछ । कलाक्षेत्र हाम्रो कर्म क्षेत्र भएको र समाजको डरका कारणले यहाँका कतिपय कुरा ढाक्ने र लुकाउने प्रयास गर्छौं ।

कलाक्षेत्रमा महिला सेक्सुअलदेखि विभिन्न हिंसाको सिकार भएका छन् । परिश्रमिकमा ठग्ने, हेप्ने, रोलका लागि ब्ल्याकमेल गर्नेहरु छन् । अभिनयमा अवसर दिएको  भनेर गलफ्रेण्डजस्तो व्यवहार गर्ने, पार्टीलगायत विभिन्न पर्सनल कुरामा साथ माग्ने जस्ता अनेकौ हिंसा छ । सामाजिक सञ्जाल, टिकटकलगायतमा भाइरल भएका ब्यक्तिलाई महान भन्ने तर कलाक्षेत्रमा लामो समयदेखि रहेकालाई हेप्ने प्रवृति पनि एक किसिमले हिंसा नै हो । सुटिङमा खाना खाँदालगायत अन्य क्षणमा पुरुषभन्दा भिन्न ब्यवहारलगायत धेरै हिंसा मैले पनि महसुस गरेकी छु ।

पछिल्लो समय हिंसा भए होस्, नाम र दाम आओस् भन्ने कलाकार भित्रिएका कारणले हिंसा झन् धेरै बढेको छ । एक सिरियलको सुटिङमा बानेश्वरबाट लुभुसम्म जाँदा सिनियर आर्टिस्टले बोलेको शब्दले मलाई रुन बाध्य गरायो । त्यो कारणले मैले बीचैमा सिरियल नै छाडेकी थिएँ । 

कलाक्षेत्रमा करिब ५० प्रतिशत मानिस खराब

विन्दु परियार (गायिका)

महिलालाई नराम्रो नजरले हेर्ने प्रवृत्ति जुनै क्षेत्रमा पनि छ । कलाक्षेत्रमा यो बढी छ । कामको सिलसिलामा रात विहान हिँड्नुपर्ने, कहिलेकाहीं कतै रात बस्नुपर्दा महिला भएका कारणले धेरै पीडित हुनुपर्छ । मानिसले नराम्रो सोच्छन् । आफ्नै क्षेत्रका मानिसले कुरा काटेर पीडित बनाउँछन् । पुरुषले नराम्रो नियतले हेर्नेदेखि छुनेसम्म गर्दछन् । हिंसाविरुद्ध सुरुमा त म कडा रुपमा प्रस्तुत हुन्थे, गाली गर्थे । कहिलेकाहीं ‘ह्यूमन नेचर’ त्यस्तै हो भनेर चुप बस्थे ।

गीतमा सहकार्य गर्ने गायक, रेकर्डिस्टदेखि भिडियो निर्देशकसम्मले हामीलाई बद्नियतले हेर्ने, छुने गर्छन् । आफ्नै क्षेत्रमा मानिसले हिंसा गरेको कारण मैले गाली गरेको, पुलिस कम्प्लेनसम्म गर्छु भनेर धम्क्याएको केही घटना पनि छन् । कलाक्षेत्रमा करिब ५० प्रतिशत मानिस खराब छन् । हामीले स्टेज शोदेखि मेला महोत्ससवमासर्वसाधारणबाट समेत विभिन्न हिंसा भोग्नुपर्छ । पारिश्रामिकमा ठगी गर्ने, नदिने र बीचमा कमिशन खाने पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप