मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायनेट र चाइना कम्युनिकेसनबीच साझेदारी

बुधबार, २२ मङ्सिर २०७८, १३ : ४४
बुधबार, २२ मङ्सिर २०७८

भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ । चाइना कम्युनिकेसन सर्भिसेज (सीसीएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो, जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउनेगर्छ ।

सीसीएससँग अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव रहेको भायानेटले दाबी गरेको छ । यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम (५,६,७) प्रदेशहरूमा द्रुत गतिमा आफ्नो उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्नेछ । यसका साथै भायनेट उत्कृष्ट डिजिटल अनुभवमार्फत आम नेपालीको जीवनलाई समृद्ध बनाउने सपना पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउने दौरमा निरन्तर लागिपरेको छ । 

भायनेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठक बोहराले सीसीएससँग साझेदारी गरेर पश्चिम नेपालमा अत्याधुनिक उच्च गतिको फाइबर नेटवर्क निर्माण गर्न अनुभवी अन्तर्राष्ट्रिय टोलीसँग काम गरिरहेको बताएकी छिन् । पश्चिम नेपालमा आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय इन्टरनेट र डिजिटल सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता पूरा गर्न समझदारीले सघाउ पुर्याउने उनको दाबी छ । 

भायनेटले ग्रामीण दूरसञ्चार विकास अनुदान परियोजनाअन्तर्गत डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका दुर्गम जिल्लाहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने काम पनि सम्पन्न गरिसकेको जनाएको छ । यो कम्पनी नेपालको अग्रणी इन्टरनेट र आईटीबीपी सेवा प्रदायकमध्ये एक हो । सन् १९९९ मा स्थापित भायनेटले सन् २०११ देखि नेपालमा ग्राहकहरूलाई उच्च गतिको विश्व स्तरीय इन्टरनेट प्रदान गर्ने फाइबर अप्टिक्स इन्टरनेट (एफटीटीएच) सेवा सुरुवात गरेको थियो । 

सन् २०१० देखि नेपालमा व्यवसाय विस्तार गरेको सीसीएसले हाल एनसेल, एनटिसी, र स्मार्ट टेलिकम लगायतका ग्राहकहरूलाई सेवा दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप