शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल समूहको निष्कर्ष : साझा उम्मेदवारको बल रामचन्द्र र शंशाकको कोर्टमा

शेखर र प्रकाशमानमध्ये एकलाई उम्मेदवार बनाउन सुझाव
बुधबार, २२ मङ्सिर २०७८, १३ : ३०
बुधबार, २२ मङ्सिर २०७८

रामचन्द्र पौडेल समूहका नेताहरूको बैठकले सभापति साझा उम्मेदवारको छिनोफानो अब रामचन्द्र पौडेल र शंशाक कोइरालाले लिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकले १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने जिम्मेवारी शीर्ष नेतालाई दिएको हो ।

वरिष्ठ नेताले संयोजन गरेको आजको बैठकमा समूह निकट रहेका केन्द्रीय सदस्य, नवनिर्वाचित प्रदेश सभापति, जिल्ला सभापति र पूर्व सभापतिहरू सहभागी थिए । ‘साझा उम्मेदवार तय गर्दा रामचन्द्र पौडेल र शशांक कोइरालाले ब्याक हुन्छु भन्नु भएको हो भने अब शेखर कोइराला र प्रकाशमान श्रेष्ठमध्ये कसलाई साझा उम्मेदवार तय गर्ने हो भन्ने वहाँहरूले नै बताउनुपर्छ,’ बैठकमा सहभागी अधिकांश नेताहरूको धारणा थियो । बैठकमा सहभागी नेताहरूले व्यक्तिको नाममा समूहलाई विभाजन गर्न नहुने बताएका थिए । केन्द्रीय सदस्यहरूको पनि समान धारणा रहेको बैठकमा सहभागी एक नेताले भने ।

शेखर र प्रकाशमानका गृह जिल्लाका सभापतिहरूले भने दुई नेता नै अध्यक्षको दाबेदार हुनुपर्ने अडान राखेका थिए । शेखरको गृह जिल्ला मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बु र प्रकाशमानको गृह जिल्ला काठमाडौँका जिल्ला सभापति सबुज बानियाँले आ–आफ्ना नेताहरूको पक्षमा धारणा राखेका थिए । 

दाबेदार नै आएनन्

महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न बुधबार बैठक बोलाइएकोमा सभापतिका दाबेदार भनिएका नेताहरू नै अनुपस्थित बने । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजेदेखि शुरु भए पनि सो समूहबाट सभापतिका उम्मेदवारहरू भनिएका नेताहरू कोही पनि आएनन् । बैठकमा पौडेल पुगे पनि अन्य आकाङ्क्षीहरू भने अनुपस्थित रहे । अरू नेताहरू नआएपछि पौडेल पनि बैठकस्थलबाट बाहिरिएका थिए ।

सिटौला फकाउन निवासमै पुगे रामचन्द्र

बैठक लगत्तै पौडेल अर्का नेता कृष्णप्रसाद सिटौलालाई भेट्न चन्डोलस्थित उनकै निवास पुगेका छन् । आफ्नो समूहबाट १४ औँ महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सकस परिरहेका बेला पौडेल सिटौलालाई भेट्न पुगेका हुन् ।

स्रोतका अनुसार आजको भेटमा पौडेलले सिटौलालाई आगामी महाधिवेशनबाट नेतृत्वका लागि सबैजना एक ठाउँमा उभिनुपर्ने प्रस्ताव अघि सारेका थिए । जवाफमा सिटौलाले यस विषयमा निर्णय लिन आफ्नो समूहमा छलफल गर्नुपर्ने बताएका थिए । दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप