शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फतुवा विजयपुर नगरपालिकामा करोडौँ अनियमितताको दाबी

बुधबार, २२ मङ्सिर २०७८, १२ : ११
बुधबार, २२ मङ्सिर २०७८

रौतहटको पश्चिम भेगमा रहेको फतुवा विजयपुर नगरपालिकाका करोडौं रुपैयाँको बजेट अनियमितता भएको आरोप लागेको छ । सो नगरपालिकाका मेयर, एकजना पूर्व सांसद र कर्मचारीको मिलोमतोमा नगरपालिकाको करोडौं बजेट अनियमितता भएको नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका नेताहरूको दाबी छ ।

जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य विन्देश्वर यादव नेतृत्वको टोलीले गत वर्ष जेठ महिनामा सूचनाको हक प्रयोग गरेर नगरपालिकासँग झन्डै ७५ वटा शीर्षकको जानकारीको माग गरेको थियो । तर नगरपालिकाले सूचनाको हक सम्बन्धी ऐनको बेवास्ता गरेको छ ।

गत जेठमा नगरपालिकाका सूचना अधिकारीलाई सम्बोधन गरि मागिएको ७५ बुँदे सूचना ७ महिना बितिसक्दा पनि नगरपालिकाले नदिएको जसपाका नेता शिवपुजन यादवले रातोपाटीलाई बताए ।

नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र दफा ७ (१) ले नागरिकको सूचनाको हकलाई प्रवृष्ट गरेको छ । सार्वजनिक सरोकारको कार्यमा नागरिकले सूचना सजिलै पाउनु पर्छ भनी नेपालको कानुनले नै प्रष्ट पारेको छ । तर फतुवा विजयपुर नगरपालिकाले नागरिकलाई सूचनाको हक पाउनबाट बञ्चित गराएर कानूनको धज्जी उडाएको यादवको भनाइ छ ।

आर्थिक वर्ष २०७४÷७५ देखि ०७७÷८८ सम्म आय ब्यय विवरण, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लेखाजोखा, बहु राष्ट्रिय बालपोषण कार्यक्रमको विवरण, सामाजिक सुरक्षा भत्ता, सेवाग्राहीको बैंक खातामा पठाउनु अघिको भर्पाइसहित लेखाजोखा, सामाजिक संस्थालाई दिएको कार्यक्रमको विवरण, गत वर्ष मकै पीडित किसान, धानको बीउ वितरणको विवरण लगायत ७५ वटा शीर्षकमा सूचना माग गरिएको नेता शिवपुजन यादवले जानकारी दिए ।

गत वर्ष जेठ महिनामा लिखित निवेदन दिएको र ३ महिनापछि गत भदौदेखि पटक पटक ताकेता गर्दा पनि  लेखापाल नवीन यादवले नगरपालिकाको हिसाबबारे जानकारी दिन आलटाल गर्दै आएको बताइएको छ ।

सूचनाको हकअनुसार आवश्यक सूचना उपलब्ध नगराएकै कारण मेयर गोपाल यादवको कार्यकालमा अनियमितता भएको अनुमान गर्न सकिने उनको भनाइ छ । फतुवा विजयपुर नगरपालिकामा सशर्त, निशर्त, निजीस्रोत, शिक्षा, स्वास्थ्य, लगायत विभिन्न शीर्षकमा आउने करोडौंको बजेट एकजना पूर्व सांसद, मेयर, कर्मचारी र शिक्षा संयोजकको मिलिमतोमा भागबन्डा भइरहेको जसपा र माओवादीका नेताहरूको दाबी छ । सोही कारण उक्त सूचना लुकाइएको उनीहरु बताउँछन् ।

यसअघि फतुवा विजयपुरमा माओवादी पार्टीबाट मेयरका प्रत्यासी रहेका सुरेन्द्र यादवको अगुवाइमा गएका कार्यकर्ताहरुले शिक्षामा करोडौं भ्रष्टाचार भएको भन्दै प्रदर्शन गरेका थिए । शिक्षा संयोजक हरेन्द्र यादवको मिलोमतोमा मेयर गोपाल यादव र एकजना पूर्व सांसदले शिक्षामा विभिन्न शीर्षकमा आएको लाखौं रकम भ्रष्टाचार गरेको भन्दै उनीहरुले छानबिनको मागसहित प्रदर्शन गरेका थिए ।

यसबारेमा मेयर गोपाल यादवसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप