ad
x
अन्तर्वार्ता

काँग्रेस ‘ह्याङ’ भएको छ, शेरबहादुरबाट चल्दैन : पुरञ्जन आचार्य

‘शेरबहादुरजीले उठ्दिनँ भन्नुभयो भने धनाढ्यहरुले घोक्रेठ्याक लगाएर उठाउँछन्’

person explore access_timeमंसिर २२, २०७८ chat_bubble_outline0

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई अहिले सामाजिक सञ्जालमा आलोचकहरूले उडाउन थालेका छन् । किनभने, आचार्य मोरङको क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भए । शेखर कोइरालालाई सभापति जिताउने अभियानमा सक्रिय रहेका आचार्य महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि यसले उनको ‘राजनीतिक विश्लेषक’को छविमाथि नै प्रहार गरेको छ ।


तर, यसको अर्थ के होइन भने आचार्य सफल राजनीतिक विश्लेषक नै होइनन् । आचार्यको विश्लेषणात्मक क्षमता र चुनावी पराजयबीच खासै साइनो छैन । तथापि हामीले यो हारबारे आचार्यलाई सोध्यौं, ‘तपाईं गुटबन्दीको शिकार हुनुभयो वा काँग्रेसका प्रतिनिधिहरूले त्यागी एवं वौद्धिक व्यक्तित्वलाई चिन्न छाडे ?’ जवाफमा उनले भने, ‘यो मेरो खासै रुचीको विषय थिएन । कहिलेकाहिँ के हुन्छ भने आफूलाई रुची लागेको विषय मात्रै गर्न पाइँदैन नि । कहिलेकाहिँ साथीहरूको संगतबाट पनि केही कुराहरू गर्नुपर्ने हुन्छ ।’



महाधिवेशन प्रतिनिधिमा किन हारियो जस्तो लागेको छ ? भन्ने रातोपाटीको पुन: प्रश्नमा आचार्य थप्छन् ‘म कुनै गुट बनाएर, पैसा खर्च गरेर लागिनँ । त्यो जित हारले मलाई केही पनि असर गर्दैन । मसँग व्यक्तिगत विकल्पहरू थुप्रो छन् । म महाधिवेशन प्रतिनिधि हुने, केन्द्रीय सदस्य हुने, मन्त्री हुने यी मेरा लागि नभई नहुने विकल्पहरू होइनन् । मैले भाषणमै भनेँ, मभन्दा योग्य र सक्षम कोही छ भने तपाईंहरू त्यसैलाई भोट दिनोस् ।’



आचार्य अगाडि भन्छन्, ‘म हारेँ । म गुटमा परिनँ । मलाई दुबै गुटले रुचाएनन् । गुटमा नलागिकन त शेरबहादुरले पनि जित्दैनन्, शेखर कोइरालाले पनि जित्दैनन्, रामचन्द्रले पनि जित्दैनन् । गुटभन्दा बाहिर काँग्रेस जो हुन्छ, कोही पनि जित्दैन । मैले किन हारेँ भनेर एनालाइसिस पनि गरेको छैन ।’



महाधिवेशन प्रतिनिधिमा हारेको व्यक्तिगत विषयलाई यतिमै रोकेर अब राजनीतिक विश्लेषक आचार्यसँग नेपाली काँग्रेसको महाधिवेशन भावी नेतृत्वका विषयमा रौंचिरा केलाऔं–  





तपाईं अहिले डा. शेखर कोइरालालाई सभापतिमा जिताउने अभियानमा सक्रिय देखिनुुभएको छ । किन शेखर कोइरालाको लबिङमा लाग्नुभएको ? मोरङ जिल्लाबासी भएर कि ?

म किनाराको एउटा काँग्रेस हो । काँग्रेसमा मेरो आवद्धता ४५–४६ वर्ष भइसक्यो । म प्रतिबन्धित कालमा लागेको हुँ । खुला राजनीतिमा आएपछि म आफ्नो तरिकाले काम गर्दै खाँदै अगाडि बढेको छु । तर, पनि मैले काँग्रेसलाई सहयोग गरिरहेको छु । खासगरी काँग्रेसको लोकतान्त्रिक आन्दोलनलाई लिएर म सहयोगी चाहिँ भइरहेकै छु । मैले कहिल्यै पनि काँग्रेसभित्र महाधिवेशन वा महासमितिको ईच्छा गरिनँ । यद्यपि म गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव र पछि राजनीतिक सल्लाहकार भएर बसेँ । त्यतिखेर म त्यो बाटोबाट अगाडि बढ्थेँ होला तर, मलाई त्यसमा रुची थिएन । नेपालमा लोकतन्त्र आइहाल्यो, अब जसले पनि देश चलाए भइहाल्यो, राजनीतिलाई हामीले पेसा बनाउनुहुँदैन, म सँग क्षमता छ भने अरु विधामा पनि म अगाडि बढिहाल्छु भन्ने मलाई लागेको थियो ।

शेरबहादुर एण्ड कम्पनीलाई यो रुची नै छैन । आजसम्म शेरबहादुरजीले संघीयताका बारेमा, धर्मनिरपेक्षताका बारेमा, गणतन्त्रका बारेमा एक लाइन पनि बोल्नुभएको छैन । उहाँले विरोध पनि गर्नुभएको छैन, तर उहाँले संविधानमा जे चिज लेखिएको छ, त्यसको पक्षमा रोष्टममा उभिएर सार्वजनिक फोरममा, पार्टीको फोरममा आजसम्म एक शब्द पनि बोल्नुभएको छैन ।

मैले काँग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दिनँ भनेर एउटा आर्टिकल लेखेको थिएँ । त्यो आर्टिकलपछि केही साथीहरू, खास गरेर रामचन्द्र पौडेल, शेखर कोइरालाले  महाँ त्यसरी हुन्छ, काँग्रेसमा त्यत्रो त्याग गरेको, लगानी गरेको मान्छे, हामीले नयाँ काँग्रेसको कल्पना गरेका छौं, त्यसमा सहयोग चाहिन्छ भनेको हुनाले मैले धेरै सोचेँ ।

पार्टी र देशमा जस्तोखालको राजनीतिक वातावरण छ, त्यहाँ म त्यति फिट हुने मान्छे होइन । मलाई थाहा छ, त्यहाँ म बिक्दिनँ  । अटाउदिनँ । अहिले पनि मलाई त्यस्तै लाग्छ । किनभने, धेरै मानिसहरूले राजनीतिलाई पेसा बनाएका छन् । म तपाईंलाई एउटा उदाहरण दिऔं, मसँग स्कुल आइए, बीए पढ्दाखेरि सबैभन्दा बढी घुसघोर र क्लासमा कहिल्यै पास नहुने थिए, ती सबै अहिले राजनीतिमा सफल छन् । यो नेपालको राजनीतिको बिडम्बना हो ।

शेखर कोइराला यसकारणले अगाडि आएका छन् कि उनी फ्रेस छन् । मलाई थाहा छ, काँग्रेसका पुराना अनुभवीहरूको ऊर्जा निथ्रिएको छ । सिद्धिएको छ र तिनीहरूबाट काँग्रेस अगाडि बढ्दैन । शेखर कोइराला बिराटनगरको मात्रै भएर म जोडिएको होइन । शेखर कोइरालाले आफ्नो टिम अगाडि बढाइरहँदाखेरि युवाहरूलाई लिएका छन् ।

युवा टीम भनेको एक्काइशौं शताब्दीलाई बुझन सक्ने, धेरै गुटबन्दीमा नलागेका, भागवण्डा नगर्ने, मुलुकका एजेण्डाहरूलाई जोड्ने, पार्टी प्लेटफर्म हैन पब्लिक प्लेटफर्ममा पनि जोडिएका छन् । जसको अडियन्स छ । नेपालमा मात्रै होइन, बाहिर पनि छ । यो टीम मैले शेखर कोइरालाको आसपासमा देखेँ । र, मलाई के लाग्यो भने शेखर कोइराला सिम्बोलिक हुन सक्छन् । उनी कोइराला परिवारका पनि हुन् । नेपालमा कोइराला परिवारलाई लोकतान्त्रिक निष्ठाको परिवार पनि भनिन्छ । त्यसैले सहयोग गरौं जस्तो लाग्यो । जित हारसँग मलाई मतलब छैन ।

शेरबहादुर देउवा वा उनको टीमबाट काँग्रेसमा परिवर्तन सम्भव छैन भन्ने यो मेरो आग्रह पनि हो, अन्तिम निष्कर्ष पनि हो । मुलुकको रुपान्तरणका लागि काँग्रेसभित्र नयाँ एजेण्डा, नयाँ नेतृत्व, नयाँ विचार र नयाँ कार्यक्रम  चाहिन्छ भन्ने अटल विश्वास छ । त्यसैले म शेखर कोइरालासँग जोडिन पुगेँ ।

नेपाली काँग्रेसको  १४ औं महाधिवशेनमा नीतिबारे छलफलै नभई नेतृत्वको मात्रै निर्वाचन हुन गइरहेको छ । यस्तो किन भएको ? नीतिचाहिँ काँग्रेसले कहिले बनाउँछ ?

यो अहिले नै गर्नुपथ्र्यो । अहिले संसारमा धेरै पार्टीहरू जनताको कठघरामा उभिएका छन् । पोलिटिकल पार्टीहरू यस कारणले अपराधीझै कठघरामा उभिएका छन् कि उनीहरूले लिएको आर्थिक नीति धेरै किसिमले असफल भएको छ । अझ कोरोनापछि त के देखियो भन्दाखेरि असमानताका कारणले ती असफलताहरू सडकमा देखिए । संसारभरि लाखौं मानिसहरू सडकमा पैदल हिँडे । सामाजिक असमानता बढेको छ । राजनीतिक विसमता बढेको छ । राजनीतिक संस्कृतिमा स्खलन आएको छ । परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने मानिसहरूको संख्या धेरै छ ।

नेपाली काँग्रेसको कुरा गर्दा यहाँ दुईवटा धार छ । हिन्दुराष्ट्र हुनुपर्छ कि पर्दैन ? संघीयता हुनुपर्छ कि पर्दैन ? वीपीको लाइन छोडेको हो कि होइन ? कम्युनिस्टहरूसँग कतिसम्म मिल्ने कि नमिल्ने ? सहकार्य केमा गर्ने, केमा नगर्ने ? यी यावत कुराहरूमा काँग्रेसमा अहिले छलफल गर्नुपर्ने छ । त्यस्तै, सुशासनमा पनि अहिले शिक्षा क्षेत्रमा हामी जुन ढंगले अगाडि बढेका छौं, शिक्षालाई निजीकरणतिर लिएर गएका छौं । उच्च शिक्षालाई प्राथमिकता दिइएको छ । तलको शिक्षामा कसैको वास्ता छैन । खाली मेडिकल कलेज खोल्ने प्रतिस्पर्धा छ । विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा छ । फाइभ स्टार हस्पिटल खोल्ने प्रतिस्पर्धा छ । यी सबै कुराहरूले नीतिगत छलफल माग गर्छ ।

शेरबहादुरजीको अनुहार मन नपरेर, उहाँसँग झगडा गरेर वा उहाँको टीम असक्षम भएर विकल्प खोजिएको होइन । उहाँले यो पार्टीलाई मुलुकको रुपान्तरणमा जोड्नै सक्नुभएन ।

त्यस्तै नेपालको सार्वजनिक यातायातको सिस्टम खत्तम छ । बाटोमा हिँड्न सकिँदैन, मोटरले किच्ला भन्ने छ । अपाङ्गमैत्री सडक छैन । यी सबै कुराहरूमा हामीले नीति निर्माण गर्नुपर्नेछ । हामीले सोच्नुपर्नेछ । यो अहिले १४ औं महाधिवेशन अवसर पनि थियो । एकातिर युवाहरू प्रवेश छ । पाँचलाख नयाँ सदस्यहरूको प्रवेश छ, तिनीहरूले काँग्रेसको नीतिगत छलफल केही पनि सुन्न पाएनन् । मूल्य पद्धतिको त कुरै छोडौं । यसकारणले गर्दा यो धेरै आकर्षक महाधिवेशन भएको छैन ।

काँग्रेसले चौधौँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन नै तयार नपार्नु अनि नीतिगत छलफल नै नगर्नुको कारणचाहिँ के हो ?

वास्तवमा शेरबहादुर एण्ड कम्पनीलाई यो रुची नै छैन । आजसम्म शेरबहादुरजीले संघीयताका बारेमा, धर्मनिरपेक्षताका बारेमा, गणतन्त्रका बारेमा एक लाइन पनि बोल्नुभएको छैन । उहाँले विरोध पनि गर्नुभएको छैन, तर उहाँले संविधानमा जे चिज लेखिएको छ, त्यसको पक्षमा रोष्टममा उभिएर सार्वजनिक फोरममा, पार्टीको फोरममा आजसम्म एक शब्द पनि बोल्नुभएको छैन । उहाँ अदभुत किसिमले यो देशको प्रधानमन्त्री र नेपाली काँग्रेसको सभापति भइरहनुभएको छ । अहिलेसम्म उहाँले यस विषयमा बोलेको मैले सुनेको छैन ।

उसोभए नेपाली काँग्रेसमा नीतिगत छलफल कहिले हुन्छ ? १४ औं महाधिवेशनपछि ?

अब कहिल्यै पनि हुँदैन नेपाली काँग्रेसमा ।  अहिले शेरबहादुरजीले जित्ने वा इत्तर समूहले जित्ने भन्नेमै यो पार्टी ह्याङ भएको छ । मलाई लाग्छ, शेरबहादुरले जित्नुभयो भने नेपाली काँग्रेसको त्यो बनोटले नीतिगत छलफललाई बन्द गर्छ । पक्का हो । ६ वर्षसम्म छलफल भएन, अहिले के हुन्छ ? उहाँले कसरी पार्टी चलाउनुहुन्छ भनेर अनुमान गर्न सकिन्छ । उहाँबाहेक अरु सभापतिका दाबेदार, अर्थात शेखर कोइरालाको टीमले जित्ने हो र त्यसबाट नीतिगत छलफल अगाडि बढाउन सकियो भने त्यसले काँग्रेसमा नयाँ अक्सिजन प्रवाह गर्छ । शेरबहादुरजीको विकल्प खोजेको कारण नै यही हो ।

शेरबहादुरजीको अनुहार मन नपरेर, उहाँसँग झगडा गरेर वा उहाँको टीम असक्षम भएर विकल्प खोजिएको होइन । उहाँले यो पार्टीलाई मुलुकको रुपान्तरणमा जोड्नै सक्नुभएन । आवाजविहीन जनतासँग पनि जोड्न सक्नुभएन । ५० लाख नेपालीहरू जो मलेसिया र मध्यपूर्वमा छन्, तिनीहरूको बेरोजगारीको चरम अवस्थालाई पनि जोड्न सक्नुभएन । शेरबहादुरजीसँग व्यक्तिगतरुपमा मेरो कुनै आग्रह–पूर्वाग्रह छैन । तर, उहाँबाट काँग्रेस चल्दैन । उहाँबाट मुलुक पनि चल्दैन । उहाँबाट पार्टी पनि चल्दैन । यो मेरो मान्यता हो । मेरो यो अब्जर्भेसन गलत पनि हुन सक्ला । तर, ६ वर्ष उहाँले पार्टी चलाउनुभो । विपक्षी दलको नेता हुनुभो । अहिले पाँचौंपटक प्रधानमन्त्री हुनुभएको छ । अब यति हुँदा पनि एउटा व्यक्तिको मूल्यांकन गर्न नसक्दाखेरि त के विश्लेषण गर्नु ?

यसबीचमा विभिन्न किसमले सत्तामा भएको कारणले गर्दा शक्ति, पैसा, प्रशासन सबै कुराको प्रयोग भयो । निर्वाचनको मिति तोकिसकेपछि पनि कैयन जिल्लाहरूमा क्रियाशील सदस्यहरूको लिष्ट जाँदै थियो । हिजोअस्तिसम्म पनि जाँदै थियो । संसारमा यस्तो निर्वाचन त कहीँ लडिँदैन नि त ।

काँग्रेसको केन्द्रीय सभापति कुन पक्षले जित्ला भन्ने सन्दर्भमा  जिल्ला सभापतिहरूको टाउको गनिँदैछ । अहिलेसम्म देउवा पक्षले ३३, पौडेल पक्षले २७ र सिटौला पक्षले २ वटा जिल्ला सभापति जितेका छन् भन्ने सुनिन्छ । १६ जिल्लाको नतिजा आएको छैन । के जिल्ला सभापतिको टाउको गनेरै महाधिवेशनको जित–हारबारे अनुमान लगाउन सकिन्छ ?

यो एउटा हल्का आधार हो, सम्पूर्ण आधार यो होइन । किनभने, १३ औं महाधिवेशनमा ४९ जिल्ला सभापतिहरू रामचन्द्र पौडेलको पक्षमा थिए, तर उहाँ हार्नुभयो । जिल्ला सभापतिहरूले भनेर महाधिवेशन प्रतिनिधिहरूले भोट हाल्दैनन् । तर, त्यो पनि एउटा आधारचाहिँ हो । महाधिवेशन प्रतिनिधिहरू आउने प्रक्रिया छुट्टै छ । त्यहाँ जिल्ला सभापतिहरूको केही व्यवस्थापकीय भूमिका हुन सक्छ । केही मित्रता हुन्छ । तर, नेपाली काँग्रेसमा यो लोकतान्त्रिक प्रक्रिया के छ भने महाधिवेशन प्रतिनिधिहरू केही हदसम्म क्वालिटीकै आउँछन् । म हारेँ, तर मलाई जितेर आउनेहरू पनि कम योग्य छैनन् । एउटा चुनाव क्षेत्रबाट २५ जना आउँछन् । पार्टी सभापतिहरूको भूमिका उनीहरूसँग केही न केही त हुन्छ, तर त्यो सम्पूर्ण हुँदैन । १० देखि २० प्रतिशत मात्रै हो ।

गणितको कुरा गर्दा अहिले जिल्ला र प्रदेशहरूबाट आएको नतिजा कस्तो छ ?

महाधिवेशन प्रतिनिधिहरूमा अहिले मैले देखेको के हो भने जिल्ला सभापतिहरू र प्रदेश सभापतिको चुनावलाई जसरी विश्लेषणको आधार बनाइँदैछ, यो सही हुँदैन भन्ने १३ औं महाधिवशेनले देखाएको छ । तेह्रौं महाधिवेशनमा किन ? अहिले नै हामीले गण्डकी प्रदेशमा देख्यौं । त्यहाँ ११ वटा जिल्ला छन् । ८–९ वटा जिल्लाहरूमा त शेरबहादुरजीको प्यानलबाट जितेका थिए नि । तर, त्यहीँ ठाउँमा प्रदेशको सभापतिमा संस्थापन इत्तर समूहले राम्रो भोटले जित्यो । त्यसैले त्यहाँका ११ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूमा मलाई लाग्छ ६०–७० प्रतिशत त शेरबहादुर इत्तर समूहको छ ।

अहिले म तपाईंसँग कुरा गर्दा म ‘बायस्ड’ छैन । स्पष्टरुपमा भन्दा १ नम्बरमा शेखर कोइरालाको बर्चश्व छ । दुई नम्बरमा थाहा छैन । तीन नम्बरमा शेखर कोइरालाभन्दा अरुको बर्चश्व छ । प्रकाशमान, गगन अनि त्यसपछि शेखर कोइराला आउँछन् । शेरबहादुरको भन्दा यो इत्तर समूहकै बढी छ ।

म अहिले एउटा समूहको सचिवालयमा बसिरहेको छु । हाम्रो आफ्नो एनालाइसिस के छ भने अहिलेसम्म दुई नम्बर प्रदेशलाई हेरेर हामी निश्कर्षमा पुगेका छैनौं । त्यो बाहेक हामी (पौडेल समूह) चार सय, साढे चार सय मतले अगाडि छौं । शेरबहादुर इत्तर समूह चाहिँ झण्डै चार सय मतले अगाडि छ ।

जस्तै– १ नम्बर प्रदेशमा धेरैले अगाडि छ ।  जबकि त्यहाँ अहिले प्रदेश सभापतिमा २ भोटले गुरुराज घिमिरे हारे । वागमती प्रदेशमा महाधिवेशन प्रतिनिधिहरू शेरबहादुर इत्तर समूह (प्रकाशमान, रामचन्द्र, गगन, शेखर) हरूको अगाडि छ । गण्डकीमा संस्थापन इत्तर पक्ष धेरै नै अगाडि छ । लुम्बिनीमा पनि धेरैले अगाडि छ । कर्णालीमा अलिअलि शेरबहादुरजी अगाडि हुनुहुन्छ । सुदुरपश्चिम प्रदेशमा शेरबहादुरजी धेरैले अगाडि हुनुहुन्छ । आजका मितिसम्मको अवस्था यो हो । हाम्रो अहिलेसम्मको अब्जर्भेसनमा कर्णालीमा उहाँ (देउवा) नै अगाडि हुनुहुन्छ, तर थोरैले । लुम्बिनीमा गृहमन्त्रीको जिल्ला हुँदाहुँदै पनि हामी धेरैले अगाडि छौं । गण्डकीमा हामी धेरैले अगाडि छौं । बागमतीमा अगाडि छौं । दुई नम्बरमा थाहा छैन अहिलेसम्म । एक नम्बरमा अगाडि छौं ।

संख्याको रुपमा जाने हो भने यसलाई लामो व्याख्या गर्नुपर्छ । म अहिले ठ्याक्कै भन्न सक्दिनँ, केही रणनीतिक कुराहरू पनि छन् । केही एलाइन्सका कुराहरू पनि भोलि उठ्छन् । उम्मेदवारहरू पनि निश्चित भइसकेको छैन । तर, अहिले म तपाईंसँग कुरा गर्दा म ‘बायस्ड’ छैन । स्पष्टरुपमा भन्दा १ नम्बरमा शेखर कोइरालाको बर्चश्व छ । दुई नम्बरमा थाहा छैन । तीन नम्बरमा शेखर कोइरालाभन्दा अरुको बर्चश्व छ । प्रकाशमान, गगन अनि त्यसपछि शेखर कोइराला आउँछन् । शेरबहादुरको भन्दा यो इत्तर समूहकै बढी छ । गण्डकीमा शेरबहादुरजी एउटा समूह हुनुहुन्छ, तर त्यहाँ रामचन्द्र पौडेल र शेखर कोइरालाको बर्चश्व छ ।  पाँच नम्बरमा स्थानीय नेताहरू एकदम बलिया छन् । डा. गोविन्द पोखरेल छन् । चन्द्र भण्डारी छन् । अमरसिंह पुन बलिया छन् । दीपक गिरी छन् । रेवती भुसाल छन् । र, यी सबैका नेता शेखर कोइराला छन् । कर्णालीमा अहिले यसो हेर्दाखेरि पूर्णबहादुर खड्काको प्रभाव छ । उनले जुन ढंगले त्यहाँ चुनाव लडे,लडाए, त्यहाँ अखण्ड सुदुरपश्चिमको नारा पनि चल्यो ।

यसबीचमा विभिन्न किसमले सत्तामा भएको कारणले गर्दा शक्ति, पैसा, प्रशासन सबै कुराको प्रयोग भयो । निर्वाचनको मिति तोकिसकेपछि पनि कैयन जिल्लाहरूमा क्रियाशील सदस्यहरूको लिष्ट जाँदै थियो । हिजोअस्तिसम्म पनि जाँदै थियो । संसारमा यस्तो निर्वाचन त कहीँ लडिँदैन नि त । यसपालिचाहिँ यो निर्वाचन पार्टीभित्रै पनि शेरबहादुरजीले इत्तर समूहसँग होइन कि पार्टी विरोधी समूहसँग लडेजस्तो खालको चुनाव गरिदिनुभयो । यसको उदाहरण लुम्बिनीमा देखियो । एक नम्बरमा पनि देखियो । दुई नम्बरमा त चरमै छ । यसले गर्दा मलाई के लागेको छ भने उहाँहरूले पदको, शक्तिको, प्रशासनको दुरुपयोग किन गर्नुभयो ? किनभने उहाँ हार्दै हुनुहुन्छ । शेरबहादुरजी हार्दै हुनुहुन्छ र त उहाँले एलाइन्स पनि लिबरल भएर गर्नुभएको छ । एक नम्बरमा कृष्ण सिटौलासँग एलाइन्स गर्नुभएको छ । कृष्णजीको धेरै मत त होइन, त्यहाँ एक नम्बरमा । तर, किन लिनुपर्यो भने उहाँसँग रहेको थोरै मतले पनि पार्टी सभापतिको जीत–हारलाई असर गर्छ भनेर नै उहाँले एलाइन्स गर्नुभयो ।

पहिलो चरणमा कतिजना सभापति उठ्छन् होला ?

चार जना ।

शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह ?

शेरबहादुरजी र विमलेन्द्रजी उठ्नुहुन्छ, पक्का छ । यत्ता पट्टि इत्तर समूहबाट पनि दुईटा हुन्छन्, तर मैले नामभन्न सक्दिनँ । यसले त के हुन्छ भने बनिरहेको काम पनि बिग्रन सक्छ । तर, आजभोलिमै यो क्लियर भइहाल्छ ।

विमलेन्द्रजीले पहिलोमा पनि सघाउनुहुन्न, दोस्रोमा पनि सघाउनुहुन्न ।

पहिलो चरणको चुनावकै सभापतिको नतिजा आउँछ कि दोस्रो चरणको चुनावमा जान्छ ?

इत्तर समूहले आफ्नो भोटलाई एक ठाउँमा राख्न सक्यो भने एकै चरणमा नतिजा आउने सम्भावना छ । तर, त्यसका लागि ठूलो छाती, ठूलो व्यवस्थापकीय क्षमता र अलिकति चुनावी क्याम्पेन गर्न सक्नुपर्छ, युवाहरूले खास गरी । किनभने अधिकांश चिनिएका युवाहरू त इत्तर समूहमा छन् ।

तपाईंको विचारमा इत्तर पक्षमा चारमध्ये २३ गतेसम्म कसलाई रोज्नु उचित होला ?

ग्राउण्डको रियालिटी हेर्दाखेरि शेरबहादुरजीलाई च्यालेञ्ज दिन सक्ने र जित्न सक्ने सम्भावना भएको मान्छे मेरो विचारमा डा. शेखर कोइराला नै हो ।  

पहिलो चरणमै शेरबहादुर देउवाले जित्ने सम्भावना छ कि छैन ?

त्यो छैन ।

विमलेन्द्र निधिले पहिलो चरणमै देउवालाई सघाएको अवस्थामा नि ?

विमलेन्द्रजीले पहिलोमा पनि सघाउनुहुन्न, दोस्रोमा पनि सघाउनुहुन्न ।

दोस्रो चरणमा पनि विमलेन्द्रले शेरबहादुरलाई सघाउनुहुन्न भनेर तपाईं ग्यारेन्टी गर्न सक्नुहुन्छ ?

ग्यारेन्टी । शेरबहादुरजीलाई सघाउनुहुन्न ।

भनेपछि, शेरबहादुरजीले पहिलो चरणमा जित्नुहुन्न, त्यसपछि दोस्रो चरणको चुनाव हुँदा पनि जित्नुहुन्न ?

पहिलो चरणमा उहाँले जित्नुहुन्न । पहिलो चरणमा निस्कए इत्तर समूह निस्कन्छ । अहिले जसरी महाधिवेशन प्रतिनिधिहरू आएका छन् नि, यो संख्यालाई ठीक ढंगले राख्न सकियो भने इत्तर समूहले जित्न सक्छ, एकजना मात्र उम्मेदवार हुँदा । तर, दुईजना, तीनजना भए भने भन्न सकिँदैन ।

पटक–पटक अवसर पाएर पनि उहाँले कुनै क्षेत्रमा पनि आफूलाई सफल प्रमाणित गर्न सक्नुभएको छैन । पार्टी, चलाउन, सरकार चलाउन, प्रतिपक्षको भूमिका, कहीँ पनि उहाँ सफल हुनुभएन । यो उहाँको ‘विकनेस’ हो ।

प्रकाशमान सिंहले पनि सभापतिको दाबी नछाड्ने भन्नुभएको छ । पहिलो चरणको चुनावमा उहाँ दोस्रो हुने सम्भावना छ कि छैन ?

सम्भावनै नभएको होइन, तर उहाँको अनुकुल हुने वातावरण मैले देखिरहेको छैन । ग्राउण्ड रियालिटीले यो कुरालाई देखाइरहेको छैन ।

तपाईंको विचारमा शेरबहादुर देउवाको ‘स्ट्रेन्थ’ के हो ?

शेरबहादुरजीले लामो गुट चलाइरहनुभएको छ । अलिकति फुटे पनि त्यो गुट इन्ट्याक्ट छ । अहिले पावरमा जानुभएको छ । ४–५ पटक प्रधानमन्त्री भइसकेको मान्छे ।

एक्लै लड्दा शेरबहादुरजीको भोट कति आउला ? विमलेन्द्रजीले नसघाउँदा....

जित्ने मत छैन उहाँसँग । त्यसैले सिटौलाजीसँग १–२ सय भोट पनि तान्नुभएको छ । भोलि थप एलाइन्स पनि गर्नुहोला । तर, जित्ने मत छैन ।

तपाईंहरूले भन्दै आएको इत्तर समूहकै नेताहरूले अन्तिममा गएर स्वाट्टै शेरबहादुर देउवालाई सघाउने अवस्था पनि त आउला नि ? जस्तै– शशांक कोइराला, प्रकाशमान सिंह आदिले....

अब त्यो सम्भावना छैन । त्यो सम्भावना नै नभएको पनि होइन, तर मलाई अब त्यस्तो होला भन्ने लाग्दैन ।

शेरबहादुर देउवाको कमजोरी चाहिँ के हो ?

पटक–पटक अवसर पाएर पनि उहाँले कुनै क्षेत्रमा पनि आफूलाई सफल प्रमाणित गर्न सक्नुभएको छैन । पार्टी, चलाउन, सरकार चलाउन, प्रतिपक्षको भूमिका, कहीँ पनि उहाँ सफल हुनुभएन । यो उहाँको ‘विकनेस’ हो । उहाँको ‘स्ट्रेन्थ’ चाहिँ के हो भने काँग्रेसमा नेतृत्वको संकट छ, उहाँलाई संगठित रुपमा च्यालेञ्ज दिने वातावरणचाहिँ उहाँले बनाउन दिइरहनुभएको छैन । यो उहाँको ‘स्ट्रेन्थ’ हो । उहाँले पार्टीभित्र पनि खेलेर तोडफोड गरिरहनुभएको छ । यो पनि एउटा राजनीति हो नि ।

शेरबहादुरजीले विमलेन्द्रजीलाई वचन दिनुभएको थियो, तेह्रौं महाधिवेशनमा मलाई सहयोग गर, चौधौँ महाधिवेशनमा म तिमीलाई सहयोग गर्छु । शेरबहादुरजीले जब चौधौँमा पनि आफैं उठ्ने कुरा गर्नुभो, त्यसपछि निधिजीले पनि एक–डेढ वर्ष अगाडिदेखि नै मै उठ्छु भन्न थाल्नुभयो ।

अर्को के छ शेरबहादुरजी खाली लिबरल भएर एलाइन्स गर्न सक्नुहुन्छ, इत्तर समूहमा चाहिँ हठयोगीहरू छन् । यी हठयोगीहरू के स्पष्ट गर्न सकेनन् भने यिनीहरूले शेरबहादुरको विकल्प खोजेका हुन् कि आफ्नो सभापतिको पसल खोल्न लागेका ? एजेण्डा नै क्लियर भएन क्या, लामो समयसम्म । शेरबहादुरको विकल्प खोजेको हो भने  पहिला एक हुनेमा फोकस हुनुपर्यो नि । यो त देखिएन । बरु कबे देखियो भने सभापतिको सपल खोलेर बस्न खोजेका हुन् कि जस्तो लाग्यो । यो गराउन सक्नुचाहिँ शेरबहादुरजीको सबैभन्दा ठूलो सफलता हो ।

शेरबहादुरजीले कैयन अवसरहरू पाउनुभयो । तर, जनताले हेरिरहेका छन्, उहाँ पब्लिक प्लेटफर्ममा कहीँ हुनुहुन्न । पब्लिक प्लेटफर्ममा आकर्षक पनि हुनुहुन्न । तर, पनि लक्की मान्छे । प्रधानमन्त्री ४–५ पटक हुनुभएको छ । पार्टी सभापति हुनुभएको छ । फेरि दाबा गर्न सक्ने र त्यो दाबालाई पूरा गर्न आफ्नो गुटलाई इन्ट्याक्ट राख्न सक्ने उहाँको खुबी छ ।  कसैले उहाँलाई च्यालेञ्ज गर्न सकेको छैन ।

तर, विमलेन्द्रले त च्यालेञ्ज गर्नुभयो नि ? 

धेरै अगाडि गर्नुभएको हो उहाँले ।

तपाईं त काँग्रेसका नेताहरूलाई भित्रैदेखि चिन्नहुन्छ । विमलेन्द्र र शेरबहादुरबीचको दुरी ‘आर्टिफिसियल’ मात्रै हो कि साँच्चै बढेको हो ? अहिले सरप्राइज दिएर अन्तिममा मिल्नुहुन्छ कि ? यसभित्रको रहस्य के हो ?

शेरबहादुरजीले विमलेन्द्रजीलाई वचन दिनुभएको थियो, तेह्रौं महाधिवेशनमा मलाई सहयोग गर, चौधौँ महाधिवेशनमा म तिमीलाई सहयोग गर्छु । शेरबहादुरजीले जब चौधौँमा पनि आफैं उठ्ने कुरा गर्नुभो, त्यसपछि निधिजीले पनि एक–डेढ वर्ष अगाडिदेखि नै मै उठ्छु भन्न थाल्नुभयो । विमलेन्द्रजीलाई के थाहा छ भने अब १५ महाधिवेशन प्रकाशममान वा विमलेन्द्र निधिहरूको होइन । १५ मा नेतृत्व नयाँ पुस्तामा निश्चितरुपमा जान्छ । त्यो शेखर कोइरालाका लागि पनि होइन । त्यसैकारण शेखर कोइरालाले एकपटकका लागि मागेका हुन् । काँग्रेसभित्र यो नक भइसक्यो क्या । यो नक चाहिँ सिरियस छ ।

विमलेन्द्रजी काँग्रेसमा रहेका उपप्रधानमन्त्री हुनुभो । उपसभापति हुनुभो । अब १४ औं महाधिवशेनमा पनि सभापति नपाउँदाखेरि अब अगाडिको त बाटै छैन नि । अगाडि युवाहरूको प्रेसर छ । त्यसले गर्दा अहिले शेरबहादुरजीले  वचन दिएर पनि समर्थन नगर्दा अब कुनै पनि हिसाबले शेरबहादुरजीलाई समर्थन गर्न सक्दिनँ भन्ने उहाँको दुरी हो ।

तर, दोस्रो चरणमा पनि निधिले देउवालाई नसघाउनुहोला त ? उहाँ देउवा समूहकै मान्छे हो....

म विमलेन्द्रजीलाई राम्रोसँग चिन्छु । म पनि नेबिसंघकै पृष्ठभूमिको मान्छे हुँ । उहाँ आफैं सभापति हुनुहुन्छ, हुनुहुन्न त्यसमा शंका छ । तर विमलेन्द्र निधिजीले अबको राजनीतिक यात्रामा शेरबहादुरजीलाई सघाउनुहुन्न ।

एक्लो हुनुहुन्छ । व्यापारिक घरानाहरू छन् । यहाँका भारदारका घरानाहरू छन् । तिनीहरूको लागि निमित्त नायक हुँदैहुनुहुन्छ उहाँ ।

सभापतिको मनोनयन गर्ने वा फिर्ता लिने  बेलामा शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई सघाउने सम्भावना पनि छ कि ?

त्यो सम्भव छैन । शेरबहादुरजीलाई अब म उठ्दिनँ भन्ने छुट छैन । शेरबहादुरजीलाई अगाडि सारेर नेपाली काँग्रेसलाई कब्जा गर्ने षड्यन्त्र नेपालका धनाढ्यहरूले गरिरहेका छन् । म नाम भन्न चाहन्नँ । एकछिनलाई मान्नोस् विनोद चौधरी । काठमाडौं आसपासका ठेकेदारहरू । मेडिकल कलेजका माफियाहरू । मेडिकल माफियाहरू । यी सबै उहाँको आसपासमा देखिन्छन् । अहिले शेरबहादुरजीले म उठ्दिनँ भन्नुभयो भने पनि तिनीहरूले घोक्रेठ्याक लगाएर उठाउँछन् । शेरबहादुरजीलाई जित्ने स्थितिमा मात्रै अगाडि बढाउने कि नबढाउने भन्ने कुरामा अब शेरबहादुरजीको टीमसँग अब भूमिका छैन । शेरबहादुरजी आज उठ्दै हुनुहुन्छ भने पनि अरुका लागि । उठ्न बाध्य हुनुहुन्छ भने पनि त्यो अरुका लागि । उहाँको टिम पनि अरुले नै बनाइदिन्छन् । उहाँसँग अब म उठ्दिनँ भन्ने छुट पनि छैन । उहाँ फेरि पनि सफल सभापति हुनेवाला हुनहुन्न तर फेरि पनि उहाँ उठ्न बाध्य हुनुहुन्छ ।

देउवाले सभापतिमा उठ्छु भनेको धेरै भइसक्यो, तैपनि उहाँले टीम घोषणा गर्न सक्नुभएको छैन । कारण यही नै हो त ?

उहाँले टीम घोषणै गर्न सक्नुहुन्न । टीम अरुले बनाइदिन्छ उहाँको ।  उहाँले अब राजनीतिक रुपमा आफ्नो टीम अगाडि सार्न सक्नुहुन्न । यसबारे म लामो व्याख्या गर्न सक्छु ।

कम्युनिस्टहरूले भनेजस्तो दलाल पुँजीपतिले उहाँलाई कब्जा गरिसकेका हुन् ?

पहिला–पहिला उनीहरू राजनीतिज्ञलाई विभिन्न सुविधा दिएर आफ्नो धन्दा, व्यापार चलाउँथे । अब तिनीहरूले त राजनीतिलाई नै क्याप्चर गरिसके नि काँग्रेसको । अब उनीहरूको सहज बाटो शेरबहादुरजी हुनुभएको छ । शेरबहादुरजीलाई पनि म लामो समयदेखि चिन्छु ।  शेरबहादुरजीले अहिले जसरी महाधिवेशन गराउँदै हुनुहुन्छ र उहाँको टिमले अहिले जसरी सत्ताको, शक्तिको नाङ्गो नाच गरिरहेको छ, शेरबहादुरजी पहिले यस्तो हैन नि । शेरबहादुरजीको टीम पनि यस्तो होइन । अहिले उहाँको टीममा जो छन्, उनीहरूले आफ्नो भूमिका खुम्चिएको पाइरहेका छन् । यिनीहरूको हातमा निर्णायक भूमिका छ भन्ने कुरा म पत्याउँदिनँ ।

उसोभए देउवाजी आफ्नो गुटमा पनि एक्लो हुनुहुन्छ त ?

एक्लो हुनुहुन्छ । व्यापारिक घरानाहरू छन् । यहाँका भारदारका घरानाहरू छन् । तिनीहरूको लागि निमित्त नायक हुँदैहुनुहुन्छ उहाँ ।

सभापतिका दाबेदारहरूले बनाउने टिम कत्तिको समावेशी होला ?

विधानअनुसार नै समावेशी बनाउनुपर्ने हुन्छ । तर, युवाहरूको टिम इत्तर पक्षसँगै छ । शेरबहादुरजीसँग भएको टिम एकदम परम्परागत छ । सबै युवाहरू यतापट्टि छन् । किनभने विकल्प यहाँ छ ।

धेरै मानिसहरूको पर्सेप्सन के छ भने जसले जेसुकै भनोस् शेरबहादुरजीले सभापति जित्नुहुन्छ । एकजना राजनीतिक विश्लेषकको हिसाबले यसलाई तपाईं कसरी खण्डन गर्नुहुन्छ ?

सत्तामा छन् । प्रधानमन्त्री पनि छन् । काँग्रेस कार्यकर्तालाई हेर्ने पब्लिकको दृष्टिकोण पनि अहिले के भइसक्यो भने यिनीहरू सत्ताकै पछि लाग्छन् भन्ने छ । सबैमा यस्तो होइन म भन्दिनँ, सत्ताको केही न केही प्रभाव पर्छ । तर,मैले देखेको छु क्या, काँग्रेसभित्र धेरै मानिसहरू सत्ताकै पछि मात्रै लाग्ने छैनन् ।

शेरबहादुरजीले राम्रोसँग सत्ता चलाएको भए, विगतदेखि नै पार्टी चलाएको भए त्यो स्वाभाविकै थियो । तर, काँग्रेस पार्टीभित्र अहिले जसरी बीपीको मूल्य पद्दति स्खलन भइरहेको छ, यहाँ फेरि पनि यहीँ किसिमको संस्कार र संस्कृतिको निरन्तरता अघि बढ्ने खतरा पनि छ । यही ढंगले केही साथीहरूले एलाइन्स पनि गर्दै हुनुहुन्छ । कुरा चाहिँ निष्ठाको राजनीतिको गर्ने तर स्खलित संस्कृतिलाई संरक्षण गर्ने र निरन्तरता दिने जुन चाहना राख्नुभएको छ, यो पनि एउटा समस्या हो । त्यसैले उहाँले जित्दै जित्नुहुन्न म भन्दिनँ, उहाँ एउटा खेलाडी हो । रुल अफ गेमले उहाँले जितिरहनुभएको छैन । रुल अफ गेमलाई उहाँले धेरै तोडेर अस्वस्थ बनाएर रेफ्री पनि आफैं, खेलाडी पनि आफैं ।

काँग्रेस जोगिनुपर्छ । शेरबहादुरजीको अनुहार देखाएर अब काँग्रेसले तीन तहको निर्वाचनमा भोट माग्न सक्छ भन्ने मलाई विश्वास लाग्दैन ।

नेपाली काँग्रेसमा संस्थापनइत्तर पक्ष आफैं गुटबन्दीको मारमा छ । यो समस्या देउवातिर चाहिँ कत्ति छ ? जस्तो उहाँले पनि आफ्नो पदाधिकारीको टिम अहिलेसम्म बनाउन सकिरहनुभएको देखिँदैन नि ?

यहाँ त सत्ता छैन, शक्ति छैन । धेरै असहज छ । त्यहाँ त सत्ता छ, शक्ति छ । मन्त्री, महामन्त्री, उपसभापति म लिन्छु भन्नेहरू छन् । जोसँग सत्ता छैन, उसलाई धेरै गाह्रो त भइहाल्छ नि । यता त के छ र ? आगे नाथ, पिछे जोगी । त्यसकारण टिम बनाउन त्यति गाह्रो शेरबहादुर देउवाजीलाई नहोला ।

तपाईंले शेरबहादुर देउवाबारे  खतरनाक संकेत गर्नुभयो । उसोभए फेरि देउवाले नै जित्नुभयो भने काँग्रेसको भविश्य के होला ?

काँग्रेस जोगिनुपर्छ । शेरबहादुरजीको अनुहार देखाएर अब काँग्रेसले तीन तहको निर्वाचनमा भोट माग्न सक्छ भन्ने मलाई विश्वास लाग्दैन । शेरबहादुरजीलाई पब्लिकले पनि मन पराएका छन् भन्ने मलाई लाग्दैन । पार्टी भनेको जनतामा पुग्ने मेसिनरी हो । पार्टीभित्र परिवर्तनको म्यासेज हुनुपर्छ । त्यो म्यासेज भनेको शेखर कोइराला हुन् । 

काँग्रेस महाधिवेशनमा चुनाव निष्पक्ष हुने सम्भावनाचाहिँ कति त छ ?

निष्पक्ष नहुने संकेतहरू पूरा देखिइसकियो । डडेलधुराको केसमा त चुनाव बहिस्कारै गर्नुपर्ने थियो । त्यही केसमा त हो निर्वाचन प्रमुख महादेव यादवले राजीनामा दिनुभएको । डडेलधुरा भनेको पार्टी सभापति र प्रधानमन्त्रीको जिल्ला हो । धाँधलीका पराकाष्टाहरू सुरु भइसकेका छन् । तर, समस्या के छ भने यो महाधिवेशन नगरिकन काँग्रेस जीवन्त हुँदैन । वैधानिकता हुँदैन । अगाडि माघमा राष्ट्रियसभाको चुनाव आउँदैछ । त्यसकारण धेरै साथीहरू खुम्चिएर कति धाँधली गर्छ गरोस् तर पार्टीलाई बचाउनुपर्छ भनेर पनि लागेका छन् । यो काँग्रेसलाई माया गर्नेहरूको कमजोरी पनि हो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।