‘देउवाले ममाथि दोस्रोपटक राजनीतिक हिंसा गरे’

नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको आरोप लगाएका छन् । मंगलबार चाक्सीबारीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता घिमिरेले नेपाली काँग्रेस प्रदेश नं. १ को निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सत्ताको चरम दुरुपयोग गरी आफूलाई हराएर दोस्रो पटक राजनीतिक हिंसा गरेको बताएका हुन् ।
गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भए पनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको उनको भनाइ छ । उनले भने – ‘मूल्य स्खलनको एउटा चरम दृष्टान्त हो, जीवन्त दृष्टान्त हो प्रदेश नम्बर १ को निर्वाचन । पार्टीको सिद्धान्त, आदर्श, मूल्यमान्यतालाई कुल्चेर, त्यसलाई अपहेलित गरेर प्रदेश नम्बर १ को निर्वाचन सम्पन्न भयो । सत्ताको चरम दुरुपयोग गरियो । राजनीतिक हिंसाको शृङ्खला उहाँले नै सुरु गर्नुभएको हो । गत संसदीय निर्वाचनमा उहाँ सभापति हुनुहुन्थ्यो, उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो । र उहाँले एकपटक ममाथि हिंसा गरिसक्नु भएको थियो । टिकट वितरणको क्रममा जनमतबाट पनि नम्बर एक सिफारिस भएको व्यक्ति, योगदानले पनि र पहिचानले पनि नम्बर एक सिफारिसमा परेको व्यक्तिलाई उहाँले टिकटबाट वञ्चित गर्नुभयो । उम्मेदवार बन्नबाट वञ्चित गर्नुभयो । उहाँकै अध्यक्षतामा बसेको संसदीय बोर्डले टिकटबाट वञ्चित गरायो । त्यो राजनीतिक हिंसा थियो । र त्यो हिंसाको शृङ्खला अहिले फेरी दोहोरियो । पार्टीको आन्तरिक प्रतिस्पर्धामा एक नम्बर प्रदेशमा गठबन्धन बनाएर उहाँले अर्को हिंसा म माथि गर्नुभयो ।’
नेता घिमिरेले प्रदेश १ को निर्वाचनमा धनवाद र डनवादको प्रयोग भएको बताए । सभापति देउवाले आफ्नो गुटलाई पक्षपोषण र मलजल गर्न प्रधानमन्त्रीको कुर्सी प्रयोग गरिएको भन्दै उनले पार्टीको महाधिवेशनमा सत्ताको चरम दुरुपयोग गर्नेले मूल्य चुकाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला